१४ आश्विन २०८१ सोमबार
image/svg+xml
प्रवास

एनआरएनएद्वारा बाढी पीडितलाई १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय

लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतवार भएको भर्चुअल बैठकमा संघका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढी पीडितहरूको लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको हो।

बैठकले गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग संकलन समिति गठन गरेको छ। समितिमा संघका विभिन्न पदाधिकारीहरू, क्षेत्रीय संयोजकहरू, तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन्।

पदाधिकारीहरूको बैठक समापन भएको २४ घण्टापछि आज राष्ट्रिय समन्वय परिषद र अन्तर्राष्ट्रिय समन्वय परिषदको आपत्कालीन संयुक्त बैठक आयोजना गरी सहयोग संकलनमा थप छलफल गरिने छ।

अध्यक्ष डा. केसीले जानकारी गराएअनुसार, एनआरएनएले राष्ट्रिय समितिहरूको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको छ।

बैठकले वर्षाका कारण उत्पन्न विपद्का घटनामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली व्यक्त गर्दै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। यसैक्रममा, संघले प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न काठमाण्डौमा रहेका सोम सापकोटा र कृष्ण तिमल्सिनासहितको समिति गठन गरेको छ। समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय परिषद (केन्द्रीय समिति) बैठकमा प्रस्तुत गर्नेछ।

संघका महासचिव गौरीराज जोशीले संघको वार्षिक साधारणसभाको तयारीबारे पनि बैठकमा छलफल भएको जानकारी दिएका छन्। उक्त साधारणसभा आगामी अक्टुबर २७ र २८ तारिख काठमाडौँमा आयोजना हुँदैछ।

बाढी, पहिरो प्रभावित जिल्लाहरूमा काठमाडौँ, भक्तपुर, मकवानपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, पाँचथर, धनकुटा, उदयपुर, सोलुखुम्बु, इलाम, महोत्तरी र सप्तरी रहेका छन्।

प्रकाशित: १४ आश्विन २०८१ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App