१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

फ्रेन्चाइज भलिबल लिग आजदेखि: अमेरिका, युरोप र एसियाका उत्कृष्ट खेलाडीको सहभागीता

कुल १८ विदेशी खेलाडी अनुबन्धित एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करण आजदेखि सुरु हुँदै छ।

नेपालमा क्रिकेट र फुटबलपछि भलिबलको फ्रेन्चाइज लिग सुरु भएको हो। इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पहिलोपल्ट सुरु भएको भलिबलको फ्रेन्चाइज लिगमा कुल ६ टोलीले प्रतिस्पर्धा गर्दै छन्। यस फ्रेन्चाइज लिगमा भारतबाट चार जना, टर्किए, रसिया र थाइल्यान्डबाट समान तीन तथा काजकिस्तान, ट्युनिसिया, बुल्गेरिया, अमेरिका र ग्रिसबाट समान एक गरी कुल १८ विदेशी खेलाडीले पहिलोपल्ट हुन लागेको फ्रेन्चाइज लिगमा प्रतिस्पर्धा गर्दैछन्।

आज पहिलो दिन तीन खेल हुनेछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा राष्ट्रिय टोलीकी सदस्य उषा भण्डारीको काठमाडौं स्पाइकर्सले आज ललितपुर क्विन्सविरुद्ध खेलेसँगै पहिलो संस्करणको सुरुआत हुनेछ। ललितपुर क्विन्सको कप्तानी राष्ट्रिय टोलीकी लिबेरो सलिना श्रेष्ठले गरेकी छन्। दोस्रो खेलमा मधेस युनाइटेड र कर्णाली एसभिसले प्रतिस्पर्धा गर्नेछन्।

मधेसको नेतृत्वमा राष्ट्रिय टोलीकी कप्तान निरुता ठगुन्ना हुन्। मिडल ब्लकर सुमित्रा रेग्मीले खेल करियर सुरु गरेको छोटो समयमा नै कप्तानी भूमिका निभाउने भएकी छन्। न्यु डायमन्ड स्पोर्ट्स एकेडेमीबाट खेल्दै आएकी सुमित्राले कर्णालीको नेतृत्व गर्ने भएकी हुन्। आज नै नेपाली राष्ट्रिय टोलीकी कप्तान अरूणा शाहीको चितवन शक्तिले गण्डकी थन्डर्सविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। गण्डकीको नेतृत्व राष्ट्रिय टोलीकै स्पाइकर सरस्वती चौधरी गर्दै छिन्। अरूणाबाहेक सबै खेलाडीले यसअघि घरेलु प्रतिस्पर्धा कप्तानी जिम्मेवारी निर्वाह गरेका छैनन्। सोमबारदेखि असोज १९ गतेसम्म फ्रेन्चाइज लिगका खेल हुँदै छन्।

सिंगल राउन्ड रोबिन आधारमा हुने लिगको शीर्ष दुई टोलीले उपाधि भिडन्त तय गर्नेछन्। प्रतियोगिताअगाडि आइतबार भएको पत्रकार सम्मेलनमा अधिकांश फ्रेन्चाइज टोलीका कप्तान र प्रशिक्षकले यस आयोजनाले नेपाली महिला खेलाडीको स्तर बढ्ने आशा राख्दै यसलाई ठूलो अवसरको रूपमा लिएको प्रतिक्रिया दिए। काठमाडौं स्पाइकरका प्रशिक्षक जगदीश भट्टले यो फ्रेन्चाइज लिगपछि नेपाली खेलाडीको स्तरमा वृद्धि आउने आशा व्यक्त गरे। कर्णाली एसभिसका प्रशिक्षक कुमार राईले समय अभावका कारण राम्रोसँग टिम सेटिङ नभए पनि राम्रो प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गरे।

मधेस युनाइटेडका प्रशिक्षक भरत यादवले यस संस्करणलाई उत्कृष्ट रूपमा आयोजना गर्न सबै खेलाडी, प्रशिक्षक र सरोकारवाला निकायले मिहिनेत गर्ने बताए। प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी राख्न पाउने प्रावधान छ। फ्रेन्चाइज टोलीले अमेरिका, युरोप र एसियाका उत्कृष्ट खेलाडीहरू अनुबन्धन गरेका छन्। त्यसैले पनि यो आयोजनाले नेपाली भलिबलमा ठूलो फड्को मार्ने आशा गरिएको छ। गण्डकी थन्डर्सकी कप्तान सरस्वती चौधरीले पहिलोपल्ट हुन लागेको फ्रेन्चाइज लिगप्रति सबै खेलाडी उत्साहित रहेको बताइन्।

‘हामी सबै उत्साहित छौं। यो लिगबाट नेपाली खेलाडीले धेरै कुरा सिक्न पाउनेछन्। घरेलु खेलाडीका लागि यो राम्रो अवसर पनि हो,’ सरस्वतीले भनिन्। यद्यपि, समयमा नै सबै खेलाडी उपलब्ध हुन नसक्दा सरस्वतीको टोलीले राम्रो तयारी गर्न पाएको छैन। ‘विदेशी खेलाडी समयमा नै आउन सकेनन्। प्रशिक्षण गर्ने मैदानको पनि अभाव रह्यो। त्यसैले सुरुका खेलमा तालमेल मिल्न गाह्रो हुन सक्छ,’ उनले भनिन्। काठमाडौं स्पाइकरकी कप्तान उषा भण्डारीले पनि आफ्नो टोलीले पनि राम्रो तयारी गर्न नपाएको उल्लेख गरिन्।

‘विदेशी र स्वदेशी खेलाडी पनि राम्रो रहेकाले उपाधि जित्ने लक्ष्य छ। हाम्रो टोली पनि राम्रो छ। यद्यपि, मैदान अभाव र समयमा खेलाडी उपलब्ध नहुँदा लामो समय तयारी गर्न पाएका छैनौं,’ उषाले भनिन्। यद्यपि, सबै भलिबल खेलाडी र समर्थक यो आयोजनाका लागि लामो समयदेखि प्रतीक्षामा रहेको उनको भनाइ छ।

प्रत्येक फ्रेन्चाइज टोलीमा एक मार्की खेलाडीसहित कुल १२ स्वदेशी खेलाडी छन्।  नेपाल भलिबल संघ र फ्रेन्चाइज लिगका प्रशिक्षकको छनोटका आधारमा ‘ए’, ‘बी’ र ‘सी’ ड्राफ्टमार्फत् प्रत्येक टोलीले घरेलु खेलाडी अनुबन्ध गरेको हो। विदेशी खेलाडीको अनुबन्धनमा भने खुला राखिएको थियो। सबै टोलीमा गरेर कुल १८ विदेशी खेलाडीले पहिलो संस्करणको लिगमा आफ्नो खेल कौशलता प्र्रस्तुत गर्नेछन्। 

प्रकाशित: १४ आश्विन २०८१ ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App