१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

झ्याप्लेको पहिरोमा अस्ताएका सपनाहरू

काडमाडौंको जोरपार्टी बस्ने २३ वर्षका सामोइल गुरुङ मावली तर्फका बाजेबज्यै भेट्न गत आइतवार बुटवल आएका थिए। बुटवलमा बिहीवारदेखि नै ठूलो पानी परिरहेको थियो। सामोइलले शुक्रवार काठमाडौँ फर्कने भनेपछि बाजेबज्यै र सानीमाले एकदुई दिन पछि जानु मौसम ठिक छैन भनेका थिए। तर, उनले मानेनन्। बिहीबारै बुटवल ट्राफिक चोकको काउन्टरबाट शुक्रवार बिहान ७ः३० बजे छुट्ने हायस गाडीको उनले टिकट काटे। तर, शुक्रवार समयमा गाडी आएन। सामोइलले काउन्टरमा फोन गरे। ७.३० को हायस गाडी बिग्रेर ग्यारेजमा लगेकाले ८ः ३० को विङ्गर गाडीमा एउटा सिट राखिदिएको जवाफ काउन्टरवालाले दियो। साढे ७ बजेको गाडीको टिकट लिएका उनी आखिरमा ८.३० बजे छुट्ने विङ्गरमा करिब पौने ९ बजेतिर रामनगरबाट चढे।

‘घरबाट निस्कने बेला पनि बज्यैले पानी पर्दैछ आज नजाउ भो बाबु’ भन्नुभाथ्यो तर उनले मानेनन्। सामोइलले बज्यैलाई भने, ‘नडराउनुस मलाइ केही हुँदैन’ सामोइलकी सानीमा चन्दा गुरुङले सुनाइन्। तीनै सामोइल शुक्रवार राति धादिङस्थित झ्याप्ले खोलाको पहिरोमा अस्ताए। सामोइल बाबुआमाका एक्ला छोरा थिए।

काठमाडौंमा बीबीए पढ्दै गरेका सामोइलको आइतवार नै एउटा विषयको ब्याक परीक्षा परेकाले आत्तिएर शुक्रवारै बुटवलबाट हिँडेको सानीमा चन्दाले बताइन्।

बुटवलको ट्राफिक चोकबाट शुक्रवार बिहान ८ः ३० मा छुटेको लु १ ज ४५७८ नम्बरको विङ्गर जिप झ्याप्लेको पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भयो।

झ्याप्लेको पहिरोले गुल्मीका विवेक रायमाझीको सिङ्गो संसार नै निल्यो। सोही विङ्गरमा काठमाडौं जाँदै गरेका विवेकका बुवा ६३ वर्षीय जुद्धबहादुर रायमाझी, विवेककी श्रीमती २८ वर्षीया प्रतिमा रायमाझी र २ वर्षका छोरा क्रिस रायमाझी शुक्रवार पहिरोमा पुरिए।

लामो समय बुटवलको योगीकुटी शान्तिचोकमा बाइक अड्डा खोलेर व्यवसाय गर्दै आएका विवेक ६ महिनादेखि थानकोटमा ग्यारेज सञ्चालन गर्दै आएका छन्। उनकी श्रीमती प्रतिमा केहीदिन अघि मात्रै नागरिकताको प्रतिलिपि निकाल्न भनेर गुल्मी गएकी थिइन्।

विवेकका बुवा पनि भारतको जागीर छोडेर केहीदिन अघि मात्रै घर फर्केका थिए। अब नेपालमै परिवारसँग बस्ने भनेर फर्केका उनी शुक्रवार बुहारी प्रतिमा र नातीसँगै काठमाडौं हिँडेका थिए। तर, काठमाडौं पुग्नै नपाइ बाटोमै अस्ताए।

तीन वर्ष अघि आमा गुमाएका विवेकले अहिले बुवा, श्रीमती र नाबालक छोरा एकैसाथ गुमाएका छन्। उनीहरूको स्थायी ठेगाना गुल्मी दरबार गाँउपालिका ५ को लामडाडा हो।

बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत दाजुबहिनी दिपेश र दिपीका भट्टराई अनि उनीहरूकी आमा सिता भट्टराई पनि शुक्रवार झ्याप्लेको पहिरोमा अस्ताए।

बुटवल कालिकानगर बस्ने दिपेश र दिपीका जुम्ल्याहा दाजुबहिनी हुन्। अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल दाजुबहिनी एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिन काठमाडौं जाँदै थिए। उनीहरू अन्तर्राष्ट्रिय सम्मेलनको दोश्रो चरणकालागि बङ्गलादेश जान आमासँगै काठमाडौं जाँदै थिए। बङ्गलादेशमा हुने कन्फ्रेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुने बताइएको छ। छोराछोरीको प्रगतीमा खुसी हुँदै काठमाडौं पुर्याउन हिँडेकी सिता जुम्ल्याहा छोराछोरीलाई काखमै राखेर सदाकालागि अस्ताइन्।

स्याङजाको गल्याङ स्थायी ठेगाना भएपनि उनीहरू बुटवल बस्दै आएका थिए। सिताका श्रीमान होमनाथ रोजगारीका लागि कोरीयामा छन्। शुक्रवार बिहान छोराछोरी र श्रीमतीसँग कुराकानी गरेका होमनाथको सिङ्गो संसार नै झ्याप्लेको पहिरोले निल्यो।  

भारतको बैङ्गलोरबाट बीएससी नर्सिङ पास गरेर बेलायत जाने तयारीमा रहेकी बुटवल उपमहानगरपालिका १६ की सिर्जना कुँवरको सपना पनि झ्याप्लेको पहिरोमै बिलिन भयो। सिर्जनासँगै उनका दाजु ३७ वर्षका प्रकाश कुँवर र भाउजु ३४ वर्षीया अनु मल्लको पनि पहिरोमा परेर मृत्यु भएको छ। उनीहरूको दुइ महिना अघि मात्रै विवाह भएको आफन्तले बताएका छन्।

रोजगारीका लागि कोरिया गएका प्रकाश गत साउनमा आएर विवाह गरेको र दुइसाता पछि फकर्ने टिकट रहेको उनीहरूका आफन्तले बताए। सो गाडीमा सवार कपिलवस्तुको ४ नम्बर जितपुरका बोमबहादुर मगर, भिमाकुमारी र गाडी चालक रमेशप्रसाद लुइँटेलको पनि मृत्यु भएको छ। नवलपरासीको सुनवलबाट चढेका एकजना यात्रुको भने आइतवार साँझसम्म सनाखत भएको छैन।

शुक्रवार बिहान ८ बजे बुटवलबाट छुटेको गाडी अविरल वर्षाले झरेको पहिरो र निर्माणाधिन बुटवल–नारायणघाट सडकको दुराअवस्थाका कारण ठाँउठाँउमा रोकिँदा ढिलो भएको र रातको समयमा पहिरोमा परेको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ।  

प्रकाशित: १४ आश्विन २०८१ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App