२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

संसद्‌‌को प्रमुख प्रतिपक्षी दल रास्वपा: सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सांसद रवि लामिछानेले रास्वपा संसद्‌‌को प्रमुख प्रतिपक्षी दल रहेको बताएका छन्।

शनिबार रौतहटको चन्द्रपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै  सभापति लामिछानेले यस्तो बताएका हुन्।

मुलुकको अर्थतन्त्र केही सीमित हाँगाहरूको बिचमा अल्झिएको उनको तर्क छ। मुलुकको अर्थतन्त्रले व्यापकता पाउन नसकेकोले समस्या भएको उनले बताए।

‘मुलुकको अर्थतन्त्रका विभिन्न हाँगाहरूमाथि देशका सबै वर्ग तथा पक्षका नागरिकको पहुँच हुनुपर्छ’ सभापति लामिछानेले भने ‘केही सीमित मानिसहरुको पहुँचमा अर्थतन्त्र रहेकाले अर्थतन्त्रले व्यापकता पाउन सकेको छैन।’

फरक प्रसङ्गमा उनले विद्युत् महसुल तिर्न नसक्ने जोकोहीको विद्युत् लाइन काट्न राज्यले कसैलाई सोध्न नपर्ने जिकिर गरे।

प्रधानमन्त्री दाहालले सरकारमा सहभागिताका लागि आह्वान गरेमा सरकारमा जाने कि नजाने भन्ने संचारकर्मीको प्रश्नमा उनले राष्ट्रको आवश्यकता अनुसार आफूहरुले काम गर्ने जवाफ दिए।

कोसी प्रदेश घटनापछि आफूहरु नै अहिले मुख्य प्रतिपक्षीको रुपमा काम गरिरहेको बताउँदै लामिछानेले भने ‘यसै अवस्थामा सरकारमा जाने कुनै सोचाइ छैन। तर मुलुकको आवश्यकता भयो र देशको समस्या समाधानको लागि रास्वपाको भूमिका सरकारमा अनिवार्य नै भयाे भन्ने लाग्यो भने सरकारमा जानै नहुने होइन।’

सरकारको सहभागिताको विषय आफ्नो पार्टीको नरहेको र तत्काल कुनै सम्भावनै नरहेको लामिछानेले बताए। अहिलेको भूमिका तथा जिम्मेवारीमा नै आफूहरु सन्तुष्ट रहेको उनको भनाइ छ।

प्रकाशित: ९ मंसिर २०८० ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App