१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संविधानविरोधी प्रदर्शनमा सरकार निरीह

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आडभरोसामा हुर्केका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं अहिले लोकतान्त्रिक व्यवस्थाकै लागि चुनौती बनेर आन्दोलनमा होमिएका छन्।

राजसंस्थाको वकालत गर्दागर्दै वर्तमान संविधानलाई मानेर राप्रपालगायत दलहरू लोकतान्त्रिक व्यवस्थाभित्रको सदन र सरकार दुवैमा सहभागी भइरहँदा प्रसाईंले भने असंगठित समूह लिएर व्यवस्थामाथि नै चुनौती दिन थालेका हुन्। आफ्नो व्यवसाय धराशयी बन्दै गएपछि बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका प्रसाईंले त्यसबाट जोगिन व्यवस्थामाथि नै धावा बोल्न थालेको जानकार बताउँछन्।

कुनै बेला गणतन्त्र ल्याउन आफ्नो योगदान रहेको दाबी गर्दै प्रसाईंले कम्युनिस्ट पार्टीका दुई नेतालाई आफ्नै घरमा बोलाएर खाना खुवाएको तस्बिर सार्वजनिक गरेर आफूलाई चर्चामा ल्याएका थिए । त्यतिबेला उनले झापामा सञ्चालन गरेको मेडिकल कलेजलाई सम्बन्धन दिलाउन भरमग्दुर प्रयास गरे। माओवादी केन्द्रबाट सो काम सफल नभएपछि एमाले प्रवेश गरेका प्रसाईंले केही समय एमालेकै गुनगान गाए। पार्टी सदस्यता नै नलिएकाप्रसाईंलाई एमालेले केन्द्रीय सदस्य बनायो। उनले झापा ३ बाट गत संसदीय निर्वाचनमा उम्मेदवार हुन खोजेका थिए।  

त्यहाँ एमालेले राप्रपाका राजेन्द्र लिङ्देनलाई सहयोग गरेपछि उनी बिस्तारै पार्टीबाट टाढिए। उनले २०७९ फागुन २१ गतेदेखि नेपालमा राजा आवश्यक भएको वकालत गर्दै आएका छन्।  

उनी अहिले राजा, राजसंस्था र नागरिक महाभियानका नाममा अघि बढेका छन्। उनी माओवादी केन्द्र र एमाले नेताविरुद्ध गालीगलौजमा उत्रिएका छन् । गणतन्त्र नै नमान्ने बताउँदै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा एक कार्यक्रम उद्घाटन गर्न लगाएका थिए। त्यसपछि विवादमा तानिएका उनले काल्पनिक र पत्याउनै नसक्ने तर्क गर्न थाले। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी चिन फिङसँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको बताउने गरेका छन्। मंसिर ७ को प्रदर्शनको केहीअघि भारत पुगेका उनले आफ्ना समर्थकलाई भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटघाट गरेर आएको बताएका थिए।  

आफू चर्चामा आउन र आफ्नो अभियानमा मान्छे बटुल्न उनले सयौं झुटको सहारा लिइरहेका छन्। २०७९ फागुन २१ गते उनले पूर्वराजा ज्ञानेन्द्रलाई झापा लगेर कार्यक्रम गरेका थिए । आफू संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’को उद्घाटन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र पुगेपछि प्रसाईं निकै उत्साहित भए। त्यस कार्यक्रममा पूर्वयुवराज पारस र पूर्वअधिराजकुमारी प्रेरणा शाहसमेत सहभागी थिए। तर पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी भने उपस्थित भएनन्। प्रसाईंले पूर्वराजालाई भेटेरै अभियान उद्घाटन कार्यक्रमका लागि निमन्त्रणा दिएका थिए। पूर्वराजा ज्ञानेन्द्रले कार्यक्रम उद्घाटन गरेर हिँडेपछि प्रसाईंले राजसंस्थाको पक्षमा वकालत गर्दै गणतन्त्र विरोधी भाषण गरेका थिए ।

त्यसलगत्तै प्रसाई फागुन ३० मा मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाको ऋणको मारमा परेकाहरूको समस्या समाधानका लागि सरकारले चासो नदिएको भन्दै आक्रोश पोख्न माइतीघर मण्डलमा पुगे। उनले त्यहाँ राजाबाट मात्रै यो समस्याको समाधान हुने भन्दै राजतन्त्रको वकालत गरे। त्यसपछि उनले बैंक तथा लघुवित्त पीडितलाई आफ्नो अभियानमा लागे बैकको ऋण तिर्नुनपर्ने उद्घोष गरिदिए। 

उनले बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई कालो मोसो दल्न एउटा दस्ता नै बनाए। चितवनतिर उनको अभियानलाई साथ दिन एउटा समूह नै बन्यो । सो समूह निर्माण गर्न प्रसाईंले चितवनको नारायणी किनारमा गत वर्ष एक कार्यक्रम नै गरेका थिए । त्यही दिन भरतपुर विमानस्थलमा शम्भु थापाको संयोजकत्वमा दस्ता बनाइएको घोषणा गरेर चर्को ब्याज असुल्ने बैंकहरूलाई नछाड्ने र कालो मोसो दल्ने भन्दै उत्तेजक भाषण उनले गरेका थिए।

त्यसपछि तराई झरेका प्रसाईं हिन्दु सम्राट सेना धनुषाले कात्तिक २८ गते आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बने। सो कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाइएको थियो । त्यसक्रममा उनले मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेका थिए । त्यसपछि काठमाडौँका आएका प्रसाईंले लगातार एमाले अध्यक्ष केपी ओलीमाथि गालीगलौज गर्न थाले।

उनले एमाले अध्यक्षमाथि गाली मात्र गरेनन्, कम्बोडियामा ओलीको लगानी रहेको भन्दै अप्रामाणिक अभिव्यक्ति दिए । त्यसपछि एमालेनिकट युवा संघका केही कार्यकर्ताले उनलाई कालो मोसो दले । त्यसपछि झनै उत्तेजक बनेका प्रसाईंले राजा ल्याउने र राजालाई नारायणहिटीमा नल्याएसम्म आन्दोलन फिर्ता नगर्ने भाषण दिइरहेका छन्।

अहिले महाभियानका नाममा उत्तेजक अभिव्यक्ति दिइरहेका प्रसाईंको अभिव्यक्तिमा सरकारसमेत मौन छ। उनले पटकपटक आफू अर्बौंको मालिक रहेको बताउँदै आएका छन्। उनको आम्दानीको स्रोतबारे सरकारले अहिलेसम्म अनुसन्धान गरेको छैन। उनको कतिपय अभिव्यक्तिमा महिलामाथि अश्लील शब्दहरू प्रयोग भएका छन्। यसतर्फ सरकारी संयन्त्र पुरै बेखबर छ। 

कुनै समय सुरक्षा संयन्त्रलाई चुनौती दिने गरी झापामा लडाकु दस्ता निर्माण गर्दै मार्च पास गराउँदा कुनै कारबाही नगरिएपछि उनलाई यस्ता कार्यक्रम गर्न थप बल पुगेको थियो। प्रसाईंले राजसंस्थाको वकालत गर्दै मंसिर ७ गते आन्दोलन सुरु गरेपछि राप्रपाले पनि नैतिक समर्थन गरेको छ। राप्रपाका नेताहरू डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्रले आन्दोलनमा सहभागी हुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका थिए । साथै राप्रपाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीसमेत प्रदर्शनमा पुगे।

प्रसाईंले धार्मिक महाभियानका नाममा राजसंस्थाको वकालत गर्न थालेपछि त्यसको अवसर खोजेर बसेका तथा हिन्दु धर्मको वकालत गर्दै आएका केही संघसंस्थाले घोषित रूपमै आन्दोलनमा सहभागिता जनाए। आन्दोलनमा राज्य र दलहरूसँग असन्तुष्ट रहेको एउटा ठुलो पंक्ति पनि प्रसार्इंलाई साथ दिन पुगेको थियो।

बिहीबार आफ्नो आह्वानमा मान्छे जम्मा भएर हौसिएका प्रसाईंले आफ्ना अघिल्ला अभिव्यक्तिहरूजस्तै उत्तेजक भाषण गरे। पाइलैपिच्छे विवादमा रहेका व्यक्तिले संविधानविपरीत सार्वजनिक कार्यक्रम गर्दा सरकार मौन रहनुले अराजकतालाई बल पुग्न थालेको छ। यसले जनताकै विश्वासमाथि कुठराघात भएको छ।

प्रकाशित: ८ मंसिर २०८० ००:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App