१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

पूर्व राजाबाट हैन, शीर्ष नेताकै कारण गणतन्त्र ‘खतरामा’, आजको प्रदर्शनी त्यसैको उपज

तस्बिर: नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, राजनीतिक विश्लेषक श्याम श्रेष्ठ, मानवअधिकार बादी अगुवा कृष्ण पहाडी।

मानवअधिकारवादी अभियन्ता तथा नागरिक समाजका अगुवाहरूले केही एकाध नेताको कार्यशैली र प्रवृत्तिले गर्दा ‘लोकतन्त्र’ जोखिममा परेको टिप्पणी गरेका छन्। आजको उपत्यकाको प्रदर्शनीलाई पनि उनीहरूले यसैको उपज मानेका छन्।

मानवअधिकारवादी अभियन्ता कृष्ण पहाडीले  गणतन्त्रलाई  पूर्व राजाबाट  भन्दा पनि दलहरूका शीर्ष नेताहरूबाटै  खतरा रहेको बताएका छन्। गणतन्त्रको विरोधमा निस्कँदै गरेको एक समूहको रेलीतर्फ सङ्केत गर्दे उनले  भ्रष्टाचार र कुशासनका कारण यस्ता शक्ति सलबलाएको बताए।

‘आन्दोलन नेताको कार्यशैली विरुद्ध हुनु पर्थ्यो,’ उनले भने, ‘जिम्मेवार जनता चुप लाग्दा केही शक्तिले यसलाई लोकतन्त्र र गणतन्त्र विरुद्ध प्रयोग गर्न पुगे।’

कुनै एकाध नेताको कार्यशैलीले सिङ्गो लोकतन्त्रलाई जोखिममा पार्न सकिँदैन। जिम्मेवार नागरिकको हैसियतले  सचेत जनता जाग्नु पर्ने अवस्था आएको छ: कृष्ण पहाडी, मानवअधिकारवादी नेता

टाउकोमा जुम्रा परे टाउको काट्ने हैन जुम्रा हटाउनु पर्ने बताउँदै उनले नेताहरू फालेर भए पनि लोकतन्त्र जोगाउनु पर्ने उनले बताए। ‘कुनै एकाध नेताको कार्यशैलीले सिङ्गो लोकतन्त्रलाई जोखिममा पार्न सकिँदैन,’उनले भने, ‘जिम्मेवार नागरिकको हैसियतले अव सचेत जनता जाग्नु पर्ने अवस्था आएको छ।’ जिम्मेवार जनता नजागेकाले  खाली ठाउँमा अन्य शक्ति सलबलाएको उनले सुनाए।

लोकतन्त्र विरोधी आन्दोलनको कुनै भविष्य नहुने बताउँदै उनले यसलाई अराजकताको सङ्केत समेत दिए।  ‘जसरी हिंसाको कुनै भविष्य हुँदैन , त्यसैगरी लोकतन्त्र विरोधी आन्दोलनको पनि कुनै भविष्य हुँदैन,’ पहाडीले भने, ‘अहिले जुलुस कसको ठुलो भन्दा पनि नेता कति ‘अनपपुलर’ बन्ने कुरा देखाउँछ।’

केही समय अगाडीसम्म कल्पना समेत गर्न नसकिएको घटना अहिले सडकमा आउन थालेको छ।  दलहरूलाई तह लगाउनु पर्छ तर गणतन्त्रको विकल्प छैन। श्याम श्रेष्ठ: राजनीतिक विश्लेषक 

त्यसैगरी राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पनि दलहरूले राम्रो काम नगर्दा परिकल्पना समेत गर्न नसकिएका शक्ति सडकमा निस्किन थालेको सुनाउँछन्। नागरिकले समयमै चाहिँदो हस्तक्षेप नगर्दा यस्ता शक्तिले टाउको उठाउन थालेको उनले सुनाए।

दलहरूलाई तह लगाउनु पर्ने तर लाखौँ जनताले सडकमा ओर्लेर ल्याएको गणतन्त्रलाई जोखिममा पार्न नहुने उनी बताउँछन्। ‘केही समय अगाडीसम्म कल्पना समेत गर्न नसकिएको घटनाले अहिले सडकमा आउन थालेको छ,’ गणतन्त्र विरोधी सभातर्फ सङ्केत गर्दै उनले भने, ‘दलहरूलाई तह लगाउनु पर्छ तर गणतन्त्रको विकल्प छैन।’

दलहरूका केही कमजोरीका कारण पुनरुत्थानवादी शक्ति सलबलाएका छन्। यस्तो बेलामा परिवर्तनकारी शक्तिहरू एक हुनु पर्ने थियो। तर ती शक्तिहरू नै एक आपसमा जुरो र सिङ देखाउँदा थप समस्या देखिएको छ। झलनाथ खनाल: सम्मानित नेता, नेकपा एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीका  सम्मानित नेता झलनाथ खनालले  दलहरूको केही कमजोरीका कारण पुनरुत्थानवादी शक्ति सलबलाएको बताए। दलहरूले आफ्ना केही कमजोरीलाई सच्चाएर अगाडी बढ्नु पर्ने आवश्यकता रहेको बताउँदै उनले लोकतन्त्र र गणतन्त्रको विकल्प नरहेको बताए।

‘यस्तो बेलामा परिवर्तनकारी शक्तिहरू एक हुनु पर्ने थियो,’ उनले भने, ‘तर ती शक्तिहरू नै एक आपसमा जुरो र सिङ देखाउँदा समस्या देखिएको छ।’

प्रकाशित: ७ मंसिर २०८० ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App