१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा दक्ष जनशक्ति परिचालन गर्ने

नेपाली कांग्रेसले भूकम्प प्रभावितको अस्थायी घर निर्माणका लागि दक्ष जनशक्ति परिचालन गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बसेको पदाधिकारीको बैठकले मंसिर मसान्ताभित्र भूकम्प प्रभावितहरूको अस्थायी निर्माण कार्य सम्पन्न गर्नुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सहयोग पुग्नेगरी दक्षजनशक्ति परिचालन गर्ने निर्णय गरेको हो। त्यसका लागि उसले पार्टीका सबै भ्रातृ संगठनका प्रमुख तथा सदस्यहरूलाई केन्द्रीय कार्यालय सानेपामा मंगलबार बिहान ११ बजे बोलाएको छ। 

भूकम्पबाट घरबारविहीन भएका परिवारलाई मंसिर मसान्ताभित्र अस्थायी आवास निर्माण गर्न नसके चिसोका कारण थप मानविय क्षत्री हुनसक्ने विश्लेषण कांग्रेसको रहेको छ। सरकारले अस्थायी घर निर्माणका लागि दिने भनिएको रकमले वासस्थान निर्माण गर्न सम्भव रहेको कांग्रेस बुझाइ छ। तर, सुत्केरी, बालबालिका, बुढापाका भएकाहरूले घर निर्माण गर्न नसक्ने भन्दै कांग्रेसले सरकारलाई सहयोग पुग्नेगरी जनशक्ति परिचालन गर्ने उसले तयारी गरेको छ। 

सरकारले प्रभावितलाई उपलब्ध गराउने भनिएको रकमबाट अस्थायी घर बन्न सक्ने देखिएको जनाउँदै कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले भने, ‘जोखिममा रहेको परिवार, बिरामी रहेका, एकल महिला भएको परिवार, वृद्धवृद्धा रहेका परिवारले पैसा पाएपनि अस्थायी आवास बनाउन जनशक्ति पाउने अवस्था रहँदैन त्यसका लागि पार्टीले सिकर्मी, डकर्मीसहितको दक्ष जनशक्ति परिचालन कसरी गर्न सकिन्छ भनेर भ्रातृ संगठनसँग मंगलबार छलफल गर्ने छौं।’ सरकारलाई नै सहयोग गर्नेगरी जनशक्त परिचालन गरिने जानकारी दिँदै उनले भने, ‘सोहीअनुसार पार्टीले आवश्यक निर्णय गर्नेछ।’

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको एक टोली सोमबार नै ३० जना दक्ष जनशक्तिसहित एक सय घर निर्माणका लागि त्यसतर्फ हिँडिसकेका छन् । यसैबीच, पदाधिकारी बैठकले सरकार र पार्टीको कामलाई प्रभावकारी बनाउन छिट्टै संसदीय दल र केन्द्रीय समितिको बैठक राख्ने पनि समझदारी बनेको छ।

प्रकाशित: ५ मंसिर २०८० ०५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App