१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सात बुँदे कार्यसहित काँग्रेस महामन्त्रीद्वय भूकम्प प्रभावित क्षेत्रमा

त्यहीबाट प्रधानमन्त्री र मुख्यमन्त्रीलाई सहजीकरण गर्ने

सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा बुधबार भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जाँदै छन्। 

महामन्त्रीद्घयको स्थलगत अध्ययन पछि आवश्यकता अनुसार संघका प्रधानमन्त्री तथा प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउने नेपाली काँग्रेसले जनाएको छ। 

महामन्त्रीद्वय शर्मा र थापा ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’कानतर्फबाट भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जान लागेको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन्। उनीहरूको भ्रमण ‘७ बुँदे कार्य’मा केन्द्रीत हुने जनाइएको छ। 

यस्ता छन् उनीहरूको भूकम्प प्रभावित क्षेत्रका ‘७ बुँदे कार्य’ मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्ति अनुसार महामन्त्रीद्घयले उद्धार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढङ्गले भएको तर कैैयौं पीडितमा नपुगेको भन्ने सञ्चार माध्यम मार्फत उजागर कमजोरीहरूको वास्तविकता पहिचान गर्नेछन्। उद्धार र राहतलाई अविलम्ब उचित व्यवस्थापन, ध्यानाकर्षण र सहजीकरण गर्न सहयोग गर्ने पनि जनाइएको छ।

यसैगरी सङ्घ, प्रदेश, स्थानीय सरकार, राजनैतिक दलहरू, विभिन्न सङ्घ–संस्था एवं स्वयं सरकारी निकायहरू बिच ’एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन भन्नेबारे पनि अध्ययन गरिने बताइएको छ। छैन भने एक द्वार पालना गर्न/गराउन थप सुझाव र सहजीकरण गर्ने बताइएको छ। 

यसैगरी उद्धार र राहतमा पुगेका बाह्य सङ्घ–संस्था र व्यक्तिहरुबाट कतै प्रतिकुल असर परेको अवस्था त छैन ? भन्ने विषयमा पनि महामन्त्रीद्घयको टोली केन्द्रीत हुनेछ। सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न/गराउन सुझाव र सहजीकरण गर्ने/गराउनेका पनि टोलीले काम गर्ने बताइएको छ। 

यसैगरी उद्धार र राहत क्रममा नेपाली काँग्रेस पार्टीको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेको नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारितामा प्रेरित गर्ने तथा दीर्घकालीन रूपमा पुनर्स्थापनामा सम्पादन गर्नुपर्ने विषयहरूको अध्ययन गर्ने जनाइएको छ।

घाइतेको उपचारमा ध्यान केन्द्रीत गर्ने स्वाभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने काम पनि टोलीले गर्नेछ। 

सुत्केरी, अपाङ्गता भएका नागरिक, बालबालिका एवं वृद्ध वृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय गर्ने बताइएको छ। पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाली काँग्रेसको धारणा प्रधानमन्त्रीलाई लिखित रूपमा बुझाइएको छ। यसको कार्यान्वयनमा के कस्तो समस्याहरू आई पर्न सक्छन्, सरोकारवालाहरूको सुझावहरू के के छन्, आदि विषयमा जरुरी परामर्श र अध्ययन गर्ने बताइएको छ ।

प्रकाशित: २२ कार्तिक २०८० ०५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App