१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गुटेरेसलाई अन्नपूर्णको अप्ठ्यारो सुनाउने तयारीमा स्थानीय

पोखराको पुरानो विमानस्थलमा सोमबार दिउँसो सेनाको जहाजबाट ओर्लिएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस। तस्बिरः उमेश पुन/नागरिक

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधारशिविर जाँदैछन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का संरक्षित क्षेत्रभित्र पर्छ अन्नपूर्ण आधारशिविर। आधारशिविर समुन्द्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाईमा छ। यो बेला त्यहाँ दिनमा स्वदेशी र विदेशी गरि चारसय हाराहारीमा आन्तरिक र बाह्य पाहुना उक्लिरहेका छन्।  

आधारशिविरि जानेगरि सोमबार मध्यान्ह सेनाको हेलिकप्टर चढेर गुटेरेस पोखरा आएका छन्। पोखराबाट मंगलबार बिहान साढे ६ बजे नै आधारशिविरका लागि उड्नेछन्। हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे प्रत्यक्ष अवलोकन गर्ने र स्थानीयसँग प्रत्यक्ष छलफल गर्नका लागि महासचिव गुटेरेस आधारशिविर पुग्ने र त्यही अनुसार महासचिवलाई ब्रिफिङ गर्ने तयारी अन्नपूर्ण गाउँपालिकाको छ।  

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी भन्छन, ‘संयुक्त राष्ट्रसंघका महासचिव जलवायु परिवर्तनले पारेको असरबारे बुझ्न र प्रत्यक्ष अवलोक गर्नका लागि यहाँ (आधारशिविर) आउँदै हुनुहुन्छ। हामीले पनि त्यही अनुसार उहाँ (गुटेरेस)लाई जानकारी दिँदैछौ।’ तीनदशक अघिको आधारशिविर क्षेत्र अहिले निकै नै फेरिएको र त्यसको एकमात्र कारक जलवायु परिवर्तन रहेको केसीले बताए।  

गाउँपालिकाले जलवायु परिवर्तनले अन्नपूर्ण आधारशिविर क्षेत्रमा पारेको असरबारे लिखित रुपमै पनि जानकारी गराउने तयारी गरेको अध्यक्ष केसीले बताए। अध्यक्ष केसीका अनुसार महासचिव गुटेरेसको स्वागतका लागि आधारशिविरमा भव्य तयारी भएको छ। गुटेरेस करिब ३५ मिनेटमात्र आधारशिविर क्षेत्रमा रहने उनले बताए।  

पर्यटन व्यवस्थापन समिति छोमरोङका सचिव दिलिप गुरुङ पनि जलवायु परिवर्तनको वास्तविक अवस्थाबारे यो तहका पदाधिकारीलाई पहिलो पटक जानकारी दिन पाउँदा खुसी लागेको बताउँछन्। ‘जलवायु परिवर्तनको असरबारे हामीले नेपाल सरकारलाई त जानकारी गराएकै छौ। तर, संयुक्त राष्ट्रसंघलाई सिधै देखाउने र बुझाउने अवसर हामीलाई आएको छ। विकसित मुलुकका कारण हामी अहिले मारमा छौ। यो समस्या बुझाउन पाउनु हाम्रा लागि अवसर हो,’ उनले भने। पर्यटकीय क्षेत्रमा यो तहका उच्च पाहुना पहिलो पटक जान थालेकोले महासचिव गुटेरेसको भ्रमणले पर्यटन प्रवद्र्धनमा पनि सघाउने उनले बताए।  

अनुसार सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोग र उनको समूहले अन्नपूर्ण प्रथमको आरोहण गरेका थिए। उनै हर्जोग समूहले अन्नपूर्ण नर्थ वेसक्याम्प क्षेत्रबाट सो हिमालको आरोहण गरेपनि दक्षिणपट्टी रहेको कास्कीको अन्नपूर्ण बेसक्याम्प बढी चर्चामा रहेको थियो। त्यही आधारशिविर अहिले वर्षेनी हजारांै स्वदेशी र विदेशी पाहुना घुम्न जाने महत्वपूर्ण गन्तव्य बनेको छ।

प्रकाशित: १३ कार्तिक २०८० ११:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App