१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गुटेरेसको भ्रमण: स्याङ्बोचेदेखि संसद्सम्म

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा सोलुखुम्बूको स्याङ्बोचेदेखि अन्नपूर्ण सर्किटसम्म जाने कार्यक्रम तय भएको छ । गुटेरेस जलवायु परिवर्तनको असरलाई बुझ्न त्यहाँ जाने कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि आइतबार बिहान काठमाडौं उत्रिने महासचिव गुटेरेसले दिउँसो परराष्ट्रमन्त्री एनपी साउदसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । परराष्ट्रमन्त्री साउद आइतबारै अमेरिका भ्रमणमा जाने भएकाले उनी र गुटेरेसबीचको भेटघाट सुरुमै राखिएको हो । त्यसपछि गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । पूर्वप्रधानमन्त्रीहरूसँग भने सामूहिक भेटवार्ता गर्ने कार्यक्रम छ ।  

सरकारले गुटेरेसको नेपाल भ्रमणलाई उच्च महत्त्व दिएका कारण शनिबार साँझबाट काठमाडौं र ललितपुरका सडकमा प्रहरी परिचालन गरिएको छ । उनी जाने जिल्ला र रुटमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा महासचिव गुटेरेसको चार दिने भ्रमणको तयारीका लागि नेपालमै छन् ।

गुटेरेसको भ्रमण टोलीमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका केही अधिकारी सहभागी छन् । प्रधानमन्त्री दाहालले असोजमा न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८औं साधारण सभा र इटालीको रोममा साउनमा सम्पन्न राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुने क्रममा महासचिव गुटेरेसलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका थिए ।

गुटेरेस आइतबार दिउँसो पाटन दरबार स्क्वायर अवलोकन भ्रमणमा जाने भएकाले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । परराष्ट्र मन्त्रालयले जनाएअनुसार प्रधानमन्त्री दाहालले आइतबार साँझ आयोजना गर्ने रात्रिभोजमा गुटेरेस सहभागी हुनेछन् । त्यहाँ पनि साइडलाइन वार्ता हुने बताइएको छ ।  

गुटेरेस सोमबार बिहान सोलुखुम्बुको स्याङ्बोचे जाने कार्यक्रम तय भएको छ । जलवायु परिवर्तनको असरलाई बुझ्न उनले त्यहाँको अवलोकन भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोलुखुम्बुबाट काठमाडौं फर्केपछि गुटेरेस ललितपुरस्थित युएन हाउसको कार्यक्रममा सहभागी भई साँझ पोखरा जानेछन् । पोखरामा पनि सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न निर्देशन भएको छ ।  

उनी चढ्ने ‘बुलेट प्रुफ’ गाडीको पछुवामा विशेष प्रविधि जडित ‘जामर’ गाडीसहित दायाँबायाँ तथा अगाडि–पछाडिबाट ६ वटा सवारीसाधनले सुरक्षा प्रदान गर्नेको सुरक्षा स्रोतको भनाइ छ । उनको सुरक्षा थ्रेटलाई हेरेर नेपाली सेनाको स्पेसल कमान्डो खटाइएको छ । बाह्य सुरक्षा, सूचना संकलन र समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विशेष प्रहरी परिचालन गरिएको छ ।

गुटेरेस मंगलबार बिहान पोखराबाट अन्नपूर्ण सर्किट अवलोकनमा जानेछन् । अन्नपूर्ण सर्किटबाट फर्केपछि पोखरास्थित पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । उनी पोखराबाट लुम्बिनी जानेछन् । लुम्बिनीबाट काठमाडौं फर्केर उनले संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ । महासचिव गुटेरेस बुधबार संयुक्त राष्ट्रसंघको मुख्यालय फर्किने कार्यक्रम छ ।

सन् २०१७ देखि महासचिवको जिम्मेवारीमा रहेका गुटेरेसको यो दोस्रो कार्यकाल हो । सन् १९४५ मा पोर्चुगलको लिस्बनमा जन्मेका गुटेरेस भौतिक शास्त्र तथा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरी केही वर्ष प्राध्यापन पेसामा संलग्न भए । सन् १९९५ देखि २००२ सम्म पोर्चुगलको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका ७४ वर्षीय गुटेरेस एक अनुभवी राजनीतिज्ञ र कूटनीतिज्ञका रूपमा परिचित छन् । उनी सन् १९९९ देखि २००५ सम्म सोसलिस्ट इन्टरनेसनलको अध्यक्षसमेत भए ।  

यसअघि सन् २००८ संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान की मुनले नेपाल भ्रमण गरेका थिए । सन् १९७० र ८० को दशकमा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिवहरू क्रमशः डा. कर्ट वाल्डहाइम र ज्याभियर पेरिज डी कुइलरले नेपाल भ्रमण गरेका थिए । महासचिव गुटेरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया टुंगिसकेको र त्यसका लागि संसद्मा विचराधीन रहेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिमा पास गराउने कोसिस गरिएको छ । त्यसका लागि प्रधानमन्त्री दाहालले विधेयकलाई अघि बढाउन खोजेका छन् । यसका लागि उनले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ खोजिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार दाहाल र ओलीबीच यसै विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

प्रकाशित: १२ कार्तिक २०८० ००:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App