नेपालगन्ज- माओवादी लडाकुको डिभिजन कमान्डर हुँदै राजनीतिमा होमिएका कालिकोटका महेन्द्रबहादुर शाही पछिल्लो समय कर्णाली क्षेत्रकै प्रभावशाली माओवादी नेता मानिन्छन् । तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर चर्चामा आएका उनी बहालवाला मन्त्रीसमेत हुन् ।
संघीय संसद् सदस्यका लागि चर्चा भए पनि मनोनयनको दिन अन्तिम समयमा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर उनले ‘मुख्यमन्त्री’ पदलाई निसाना बनाएका छन् । तर, उनको निसानामा कांग्रेसका प्रभावशाली नेता कालीबहादुर सहकारी तगारो बनेका छन् । स्थानीय तह निर्वाचन र यसअघिका निर्वाचनलाई हेर्दा वाम गठबन्धनको अवस्था मजबुत देखिन्छ । शाही र सहकारी भिड्ने कालिकोट ‘ख’ का पाँचमध्ये चार स्थानीय तहमा माओवादी केन्द्र र एकमा एमाले विजयी भएको छ । अहिले एमालेको समेत समर्थन थपिएपछि शाही थप उत्साहित भएका छन् । यद्यपि, कांग्रेसको एकता र सहकारीको व्यक्तित्वले जित हात पार्न कठिन नहुने समर्थकको दाबी छ । लामो समय कांग्रेस जिल्ला सभापति भएका सहकारी स्थानीय स्तरमा भिजेका नेता मानिन्छन् ।
शाहीको मुख्यमन्त्री बन्ने आकांक्षा त मनोनयनको दिनमात्र खुल्यो । कर्णालीमा माओवादी केन्द्रका ‘टाइगर’ मानिने जुम्लाका नरेश भण्डारीले सुरुदेखि नै उक्त आकांक्षा प्रकट गरिसकेका थिए । उनी पहिलो संविधानसभामा जुम्लाबाट निर्वाचित सभासद् हुन् । माओवादी नेतृत्वसँगको सहमतिपछि आपूm प्रदेशसभामा तयार भएको उनको भनाइ छ । जुम्ला (क) बाट उम्मेदवार बनेका भण्डारीको मुख्यमन्त्री दौडमा कांग्रेसका राजुसिंह कठायत तगारो बनेका छन् । खलंगाबजार निवासी कठायतको चन्दननाथ नगरपालिकालाई प्रभावक्षेत्र मानिन्छ । उक्त क्षेत्रमा चार स्थानीय तह छन् । स्थानीय तह निर्वाचनमा चन्दननाथ नगरपालिकासहित दुई कांग्रेसले र दुई गाउँपालिका माओवादी केन्द्रले जितेका थिए । ‘बढी मतदाता भएको नगरपालिका र गाउँपालिकामा कांग्रेसको पहिल्यैदेखि राम्रो पकड छ, त्यसमाथि अहिले कांग्रेस एकढिक्का छ,’ कांग्रेसबाट चन्दननाथ नगरपालिकामा मेयर निर्वाचित कान्तिका सेजुवाल भन्छिन्, ‘त्यसैले यहाँ वाम गठबन्धनले आस नगरे हुन्छ ।’
कर्णाली क्षेत्रमा कांग्रेसका ‘एक्का’ मानिने हुम्लाका जीवनबहादुर शाहीलाई त पार्टीले मुख्यमन्त्रीका रुपमा अघि सारिसकेको छ । त्यसैले पूर्वमन्त्रीसमेत रहेका उनी प्रदेशसभामा झर्न तयार भएका हुन् । ६ नम्बर प्रदेशमा कांग्रेसका तर्पmबाट प्रदेशसभामा उम्मेदवार रहेकामध्ये शाही सबैभन्दा वरिष्ठ पनि हुन् । हुम्लाको प्रदेश (ख) मा उम्मेदवार रहेका शाहीका लागि माओवादीका विजय भण्डारी प्रमुख चुनौती हुन् । उक्त क्षेत्रमा सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिका छन् । स्थानीय तह निर्वाचनमा नाम्खामा माओवादी केन्द्र र सिमकोट तथा खार्पुनाथमा कांग्रेस विजयी भएका थिए । यद्यपि, वाम गठबन्धन बनेको अवस्थामा भण्डारी मजबुत बनेको माओवादी भनाइ छ ।
प्रदेश केन्द्रित अजेन्डा
प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका कर्णालीका यी तीनै नेताले समग्र ६ नम्बर प्रदेशको समृद्धिलाई अजेन्डा बनाएका छन् । दुई दशकअघि हुम्ला जिविस सभापति हुँदा हिल्सा–सिमकोट सडकको परिकल्पना गरेका कांग्रेसका शाही सडकमार्पmत प्रदेशलाई चीनसँग जोडेर समृद्धि भिœयाउन सकिने बताउँछन् । उनले ‘६ ब’ (बाटो, वन, विद्युत्, बजार र विचार) लाई चुनावी मुद्दा बनाएका छन् । ‘उहाँका मुद्दा जिल्लाको मात्र नभई समग्र प्रदेशको विकास कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित छन्,’ खार्पुनाथकी स्थानीय केशु भण्डारीले भनिन्, ‘त्यसैले हामीले उहाँलाई भाबी मुख्यमन्त्रीकै रूपमा हेरेका छौं ।’
जुम्लाका भण्डारीले पनि समृद्ध ६ नम्बर प्रदेशको अवधारणा अघि सारेका छन् । उनी कृषि, जडिबुटी, जलविद्युत् र पर्यटनमार्पmत समृद्धिको खोजी गर्नुपर्ने मान्यता राख्छन् । ‘यसका साथै ६ नम्बर प्रदेशलाई उत्तरी नाकामार्पmत चीनसँग जोडेर व्यापार विस्तार गर्न सकिन्छ,’ उनी भन्छन्, ‘हाम्रो ध्यान जुम्लाका साथै समग्र प्रदेशको सन्तुलित विकास कसरी गर्न सकिन्छ भन्नेमै केन्द्रित छ ।’
छोटो समय ऊर्जामन्त्री भएका कालिकोटका शाही जलविद्युत्मार्पmत ६ नम्बर प्रदेशलाई झिलिमिली बनाउने र विद्युत् निर्यात गरेर आर्थिक समृद्धि ल्याउने सपना मतदातालाई सुनाइरहेका छन् । उनी भौगोलिक रूपमा पछाडि परेको प्रदेशमा सडक, स्वास्थ्य, शिक्षालाई प्राथमिकतासाथ अघि सारेर जनताको जीवनस्तर सुधार्ने बताउँछन् ।
६ नम्बर प्रदेशअन्तर्गत पर्ने कर्णाली क्षेत्रको प्रदेशसभा निर्वाचनमा यी तीनलाई ‘चुनावी टाइगर’ का रूपमा हेरिएको छ । विश्लेषकहरु भन्छन्, ‘चुनाव अंकगणितमात्र होइन, बीजगणितको खेल पनि हो । सम्बद्ध राजनीतिक दल, निर्वाचनमा बनेका गठबन्धन र चुनावका अन्य पक्षबीच सही रुपमा सूत्र मिलाउन सकिएन भने परिणाम अप्रत्यासित पनि आउन सक्छ ।’ अर्कोतिर, सशक्त प्रतिस्पर्धीका कारण निसाना दाग्न नपाउँदै ‘मिस फायर’ हुने सम्भावना पनि उत्तिकै छ ।
प्रकाशित: २८ कार्तिक २०७४ ०६:१८ मंगलबार