८ वैशाख २०८१ शनिबार
राजनीति

मतदाताको मन बदल्न रवीन्द्र मिश्रको प्रयास (भिडियो)

काठमाडौं— शुक्रबार बिहान नयाँ वानेश्वर खरिबाेटमा विवेकशील साझा पार्टीको चुनाबी कार्यक्रम तय थियो। काठमाडौं १ का प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्र एक हुल युवासहित नयाँ वानेश्वरबाट खरिबोटतर्फ लागे। 

खरिबाेट नपुग्दै खबर आयो, ‘त्यो ठाउँमा त काँग्रेसको कार्यक्रम सुरु भइसकेछ।’ साउन्ड सिस्टम र बाद्यवादन लिएर खरीबाेट हिँडेको टोली बाटोमै रोकियो।

अब के गर्ने?

टोलीका युवा अनुहारमा अन्याेल देखियो। तत्कालै मिश्रले चुनाबी अभियानका प्रबन्धक राज हुमागाइँसँग सल्लाह गरे।
छिन भरमै नयाँ गन्तव्य चयन भयो—मिलनचोकमा कार्यक्रम र आसपासमा घरदैलो। 

हातमा प्लेकार्ड बोकेका युवाको हुल अगाडि बढ्यो। बाटो हिँडिरहँदा मिश्रलाई नमस्ते भन्दै कोही अंकमाल गर्न आउँथे। कोही मोटरसाइकल घ्याच्च रोकेर सेल्फी खिचाउँथे।

कसैको भनाइ हुन्थ्यो बीबीसीमा तपाइँले लिने अन्तर्वार्ताको म प्रशंसक हुँ। मर्निङ वाकबाट फर्किरहेजस्ता स्थानीय बासिन्दा उनीसँग झुम्मिन आइपुग्थे। उनीहरु समक्ष मिश्रको एउटै भनाइ हुन्थ्यो, ‘यो देश बदल्न तपाइँहरुको साथ चाहिएको छ। तपाइँहरुको मत चाहिएको छ।’

नजिक पुगेका व्यक्तिहरुको जवाफ पनि लगभग उस्तै हुन्थ्यो, ‘ठिकै छ। भैहाल्छ नि।’ कोही कोही आफ्नो आस्था फरक भएको निर्धक्क सुनाउथेँ।
संगमचोकको लुम्बिनी कफी सपमा एक हुल मान्छे बिहानैको चिया पिएर गफ चुटिरहेका देखिए। मिश्र सिधै कफीसप छिरे। हँसिलो अनुहारमा विनम्रपूर्वक सबैलाई अभिभादन गरे। विवेकशील साझाका काठमाडौं—१ प्रदेश सभा सदस्य उम्मेदवार समीक्षा बाँस्कोटासहित पनि त्यहाँ आइपुगिन्। 

'तपाइँहरुले राजनीतिक आस्था परिवर्तन गर्ने बेलाआएको छ। पहिला विकल्प थिएन। अब तपााइँ सामु विकल्प छ। साथ र समर्थनले मात्र भएर पुग्दैन यो पटक मन र मत परिवर्तनका लागि मेरो आग्रह छ।’

‘नमस्ते म रवीन्द्र मिश्र, तपाइँको क्षेत्रमा विवेकशील साझा पार्टीको उम्मेदवार भएको छु। तपाइँहरुले साथ, सहयोग र भोट दिनुहुनेछ भन्ने आशा गरेको छु’, आफ्नो कुरा सिधै राखे। कफी सपभित्र एक छिन सबैले उनको कुरा सुने। उनका सहयोगीले प्रचार सामग्री हात हातमा थमाइ दिए।
‘हाम्रो आस्था त फरक पार्टीमा छ तर यस पटक हाम्रो समर्थन तपाइँलाई हुनेछ’, खैरो ज्याकेट लगाएका एक युवाले आफ्नो साथीसहितको समर्थन रहने कुरामा आश्वस्त पार्न खोजे। 

उनको ध्यान खिच्दै मिश्रले प्रस्ट्याए, ‘मलाई थाहा छ, तपाइँहरु राजनीतिक रुपमा अरु कुनै पार्टीमा आवद्ध हुनुहुन्छ। तपाइँ जुन राजनीतिक दलमा आस्था राख्नुहुन्छ त्यो आस्थाले देश अब अघि जान सक्दैन भन्ने देखिइसक्यो। तपाइँहरुले राजनीतिक आस्था परिवर्तन गर्ने बेलाआएको छ। पहिला विकल्प थिएन। अब तपााइँ सामु विकल्प छ। साथ र समर्थनले मात्र भएर पुग्दैन यो पटक मन र मत परिवर्तनका लागि मेरो आग्रह छ।’ उनको कुरा सुनेर उपस्थितले टाउको हल्लाए। एक जनाले आफू काठमाडौंको मतदाता नभएको प्रष्टीकरण दिए।

मिश्र कफी सपबाट ओर्लिंदै थिए एक हुल मान्छेको घेराबन्दीमा परिहाले। समूहमा रहेका मध्ये एक जना विभोर झा त्यहीँका स्थानीय रहेछन्। ‘पुराना पार्टीले देश बेहाल बनाए। मेरो घरमा ८ भोट छन्। बुवा पुरानो मान्छे भएकाले आफ्नै अडानमा रहनु होला बाँकी सबै तपाइँलाई आउनेछ’, उनको कुराले मिश्र उत्साही देखिए। उनले नाम र फोन नम्बर टिप्न आग्रह गरे। सानिमा बैंकका हेड ट्रेजरर उनले सामाजिक सञ्जालमा प्रयोगका लागि भिडियो र फोटो राख्ने अनुमती दिए।

उनलाई केही परको मिलन चोक पुग्नु थियो। टोली त्यतै लाग्यो।

‘नमस्ते... रवीन्द्रजी’, भन्दै छेउमै आइपुगे काँग्रेस नेता स्व.कृष्णप्रसाद भट्टराईका आफ्नै भतिज एवं पूर्व केन्द्रीय सदस्य विनोदकुमार। उनी खरिबोटमा भइरहेको काँग्रेसको कार्यक्रममा जान हिँडेका रहेछन्।

‘त्यो फोटोका कारण तपाइँलाई पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छु’, मिश्रले विनम्रतापूर्वक भने।

भएको के रहेछ भने यसअघि विनोदबाबु भट्टराईको घरमा मिश्र घरदैलोका लागि पुगेका रहेछन्। त्यतिबेला अनुमती लिएरै उनको फोटो फेसबुकमा राखेका रहेछन्। फेसबुकबाट धेरैले विनोदकुमारलाई गाली गरेपछि मिश्रलाई नराम्रो लागेछ। त्यही भएर उनी क्षमाभावमा पेश भएका रहेछन्। ‘केही छैन। मैले त्यस्तो केही ठानेको छैन’, काँग्रेसको नीति तथा तालिम प्रतिष्ठानमा काम गरिसकेका उनले स्थितिलाई सहज पारे। उनी काँग्रेस उम्मेदवार प्रकाशमान सिंहको कार्यक्रमका लागि खरिबोटतिर सोझिए। रवीन्द्रको टोली मिलन चोकतर्फ बढ्यो।

संगमचोकदेखि मिलनचोक करिब पाँच मिनेटको बाटो हुँदो हो। बाटोमा भेटिनेलाई नमस्तै गरेर भोट माग्दै र सेल्फी खिच्दै मिलन चोक पुग्दा झन्डै ३० मिनेट लाग्यो। चोकमा अंकितबाबु अधिकारीको सांगीतिक प्रस्तुति चलिरहेको रहेछ। गाडी गुड्न बाँधा नपर्ने गरी चौबाटाका किनारमा मान्छे जम्मा भइसकेका रहेछन्। मिलन चोक वरपर मिश्रको टोलीले भोट माग्यो।

‘विचार नबदल्दा दुःख कसलाई भएको छ? निरन्तर भोट दिने जनताले दुःख पाइरहने भोट हाल्ने नेता विलासी जीवन बाँचिरहने?’, मिश्रले अन्तिममा भाषण गर्दै पुराना पार्टीहरुप्रति गम्भीर प्रश्न तेर्साए, ‘नेताहरुले आन्दोलनलाई लगानीको रुपमा लिँदा देश पछि पर्‍यो। माथिल्लो तहका नेताहरु मात्र अघि बढे। अहिले आमा दिदी बहिनीहरु पानी थाप्न चार बजे उठ्नु पर्ने अवस्था छ। धुँवाधुलो सामान्य जस्तो भइसक्यो। यो अवस्थाको अन्त्यका लागि हामी आएका हौं। मन बदल्न र मत बदल्न मेरो आग्रह छ।’

चुनाबका दृष्टिले रवीन्द्र मिश्रका सवल र दुर्वल पक्षहरु:

फोटो/भिडियो: प्रबीन कोइराला

प्रकाशित: २६ कार्तिक २०७४ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App