२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बाम गबन्धनले ठूला आमसभा नगर्ने

काठमाडौं- नेकपा एमालेले सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई अजेन्डा बनाई जनतासँग भोट माग्ने भएको छ । नेकपा माओवादी केन्द्रसँग गठबन्धनमात्रै नभएर पार्टी एकीकरणका लागि समेत चुनावी अभियानलाई प्रयोग गर्ने तयारीमा एमाले छ । ‘सुशासन र सामाजिक न्यायसहितको आर्थिक समृद्धिका लागि वामपन्थी सरकार आवश्यक रहेको विषयलाई प्रमुख रुपमा उठाउनेछौं,’ एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालले भने, ‘पहिला जस्तो केन्द्रका नेताहरु तोकेर ठूला आमसभा हुने छैनन् । अहिलेको गठबन्धन चुनावका लागि मात्रै होइन, पार्टी एकतासम्मका लागि हो भन्ने स्पष्ट सन्देश जारी गर्नेगरी कार्यक्रम हुनेछ ।’ त्यसका लागि एमाले र माओवादी केन्द्रका नेताहरुले सम्बोधन गर्नेगरी खासखास स्थानमा संयुक्त चुनावीसभा गर्ने योजनामा एमाले छ ।
एमाले र माओवादीले मसिर १० गते हुने पहिलो चरणको चुनावलाई लक्षित गर्दै आइतबारदेखि ताप्लेजुङ–दार्चुला अभियान सुरु गरेका छन् । संयुक्त स्वरुपका थप कार्यक्रमबारे भने अझै निश्चित भएको छैन । पार्टीका अधिकांश पदाधिकारी तथा केन्द्रीय नेता प्रतिनिधिसभा तथा प्रदेशसभाका चुनावी प्रतिस्पर्धामा रहेकाले पनि ठूलो आमसभाभन्दा निर्वाचन क्षेत्र स्तरीय कार्यक्रममा जोड दिने एमालेको योजना छ । वामपन्थी गठबन्धनले प्रतिनिधिसभामा एक सय स्थानभन्दा माथि आउने अनुमान गरेको छ । ‘६० प्रतिशत जित सुनिश्चित छ । दुईतिहाइ पु¥याउने अहिलेको जोड हो,’ रिमालले भने, ‘अहिलेको जोड भनेको प्रत्यक्षतर्फ सात प्रतिशत स्थान थप्नका लागि हो ।’
एमालेले मूल्यांकनमा वापमन्थी गठबन्धनले छ प्रदेशमा स्पष्ट बहुमत ल्याउने र प्रदेश नम्बर २ को प्रदेशसभामा ‘हङ पार्लियामेन्ट’ बन्ने अनुमान गरेको छ । ‘प्रदेश नम्बर २ मा चारपक्षीय भीडन्त हुने भएकाले कसैको पनि बहुमत आउँदैन,’ रिमालले दावी गरे, ‘त्यस प्रदेशमा हाम्रो गठबन्धनको सहभागिता वा समर्थनबिना सरकार नबन्ने स्थिति हुन्छ ।’ गत असोजमा प्रदेश नम्बर २ मा भएको स्थानीय तह चुनावमा  माओवादी चौथो र एमाले पाँचौं भएका थिए ।
यसैगरी माओवादी केन्द्रले सशस्त्र द्वन्द्व र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई चुनावी प्रचारका प्रमुख रणनीति बनाएको छ । ‘विगतमा माओवादी आन्दोलनका कारण प्राप्त उपलब्धि गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक सहभागिताका साथै आर्थिक समृद्धिको नारा लिएर जान्छ’, माओवादी प्रवक्ता पम्फा भुसालले भनिन् ।

प्रकाशित: २१ कार्तिक २०७४ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App