१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जनताको जीवन सुधार गर्न समाजवादी अभियान: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सबै धर्म जाति सम्प्रदाय मिलेर मुलुकलाई अगाडी बढाउन आफुहरुले समाजवादी अभियान सुरु गरेको बताएका छन्।

कपिलवस्तुको पकडीमा पार्टीको मेची-महाकाली समाजवादी जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन।

उनले गरिबी र बेरोजगारी अहिलेको मुख्य समस्या भएको बताए। रोजगारी, समृद्धि र सुशासन राष्ट्रको मुख्य एजेण्डा बन्नुपर्ने उनको भनाइ थियो। मुलुक बनाउने एजेण्डाबाट दलहरु विचलित हुँदै गएकाले जनतालाई जगाउने गरी जागरण अभियान सुरु गरिएको उनले बताए। 

उनले देशव्यापी रूपमा जागरण पैदा गरेको समेत दाबी गरे। जनताको जीवन सुधार गर्ने संकल्प बोकेर अभियानमा निस्केकाले देशभरबाट जनताले साथ दिइरहेको उनको भनाइ थियो।

जनताको जीवनस्तर सुधार गर्न आवश्यक रहेकाले जनताकै बिचमा जनताका मुद्दा लिएर अगाडि आएको प्रष्ट पारे। 

उनले बेरोजगारी समस्या समाधान गर्ने गरी कृषिबाटै आत्मनिर्भर हुने सकिने जिकिर गरे। अध्यक्ष नेपालले अझै पनि किसानहरूले समस्या झेलिरहेकाले त्यसका लागि समाधान गर्न सरकारसँग कुरा गर्ने बताए।

६२–६३ को आन्दोलनपछि देशमा चरम संकट देखा पर्‍यो: नेता खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०६२–६३ सालको जन-आन्दोलनपछि देशमा चरम संकट देखा परेको बताएका छन्। सोही कार्यक्रममा बेल्दै उनले यस्तो बताएका हुन्।

उनले परिवर्तनको १८ वर्षको अवधिमा पुँजीवादी नेतृत्वका कारण पुँजीवादी शोषण बढ्दै गएको जिकिर गरे। पुँजीवादी शोषणका कारण गाउँ गाउँमा वित्तीय र व्यापारिक शोषण बढेको उनको टिप्पणी थियो।

‘हिजो सामन्ती शोषण कायम थियो, त्यो भन्दा खतरनाक दलाल पुँजीवादको शोषण हुन्छ’ नेता खनालले भने।

नेता खनालले ०६२/६३ पछि बनेको राजनीतिक शक्तिमा आएको दक्षिणपन्थी अवसरवादका कारण मुलुकमा आर्थिक, राजनैतिक संकट गहिरिन थालेको बताए।

उनले नेकपा र त्यसबाट बनेको शक्तिले काम गर्न सक्ने अवस्थामा त्यसबाट राजनीति नै विचलित हुँदा यो परिणाम आएको सुनाए। उनले देशमा भ्रष्टाचार व्यापक रुपमा बढेको बताउँदै यसका लागि समेत अब समाजवादी व्यवस्थाको अपरिहार्य रहेको बताए।

प्रकाशित: २२ आश्विन २०८० १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App