भर्खरै सम्पन्न नेकपा (एमाले)को कोशी प्रदेश अधिवेशनमा उदयपुरबाट १४ जना सदस्य समेटिएका छन्। खुल्ला र समावेशी गरी प्रतिस्पर्धामा उत्रिएका ३८ मध्ये ४ महिला र १ अपाङ्ग (महिला) र बाँकी पुरुष सदस्यको प्रतिनिधित्व भएको पार्टीले जनाएको छ।
खुल्लातर्फ १३ जनाको प्रतिस्पर्धा भएकोमा ६ जना र ५ महिला प्रतिस्पर्धीमध्ये ४ जना विजयी हुँदा अपाङ्ग, आदिवासी जनजाति, युवा र दलिततर्फ १/१ जनाको प्रतिनिधित्व भएको छ। पुरुष खुल्लातर्फ उदयपुरबाट १३ को प्रतिस्पर्धामा ६ जना विजयी भएका छन्।सबभन्दा बढी मत ४ सय ३६ मत प्राप्त गर्दै देवराज राई विजयी भएका छन् भने दोस्रो र तेस्रो अधिक मतका साथ इश्वरमणि राउत र अम्मर रायमाझीले बाजी मारेका छन्।
राउतलाई ४ सय १५ मत पर्दा रायमाझीले ४ सय १ मत पाएका छन्। त्यस्तै अन्य विजेताहरूमा प्रकाश बस्नेतले ३ सय ७०, डा. भेषराज थापा र ज्ञानेन्द्र श्रेष्ठले क्रमशः ३ सय ६८ र ३ सय ४८ मत पाएर विजयी भएका छन्।
महिलातर्फ गीता रेग्मी, कान्ता राई, कला घले र सृजना तामाङ प्रदेश कमिटी सदस्य समेटिएका छन् भने आदिवासी जनजातितर्फ पदम राई, युवातर्फ जीवन कार्की, अपाङ्गतर्फ सीता पौडेल चयन भएका छन्। उदयपुरबाट खुल्ला र समावेशी गरी ३८ जना आकाङ्क्षी प्रदेश कमिटी सदस्यमा प्रतिस्पर्धामा उत्रिएको पार्टीले जनाएको छ।
सदस्य निर्वाचित हुनेहरू रायमाझी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का बहालवाला सांसद हुन् भने राउत पार्टी पूर्व जिल्ला अध्यक्ष, श्रेष्ठ निवर्तमान कटारी नगरप्रमुख हुन्। त्यस्तै राई पार्टी निकट जनजाति संघ उपमहासचिव, बस्नेत पार्टी पूर्व जिल्ला सचिव हुन्। थापा भने जिल्लाको राजनीतिमा ‘डेब्यु’कर्ता हुन्। रौतामाई गाउँपालिका ७ मुर्कुची स्थायी घर भएका थापा विद्यावारिधि प्राप्त युवा हुन्। यसअघि विदेशमा अध्ययनरत थापा गत स्थानीय तह चुनावमा एमालेबाट रौतामाई गाउँपालिकामा पराजित अध्यक्ष भरत थापाका छोरा हुन्।
अधिवेशनमा जिल्लाका अगुवा नेता मानिएका निवर्तमान प्रदेशसभा सदस्य विमल कार्की र निवर्तमान बेलका नगरप्रमुख दुर्गाकुमार थापा अनपेक्षित पराजित भएका छन्। अध्यक्षका प्रतिस्पर्धी घनश्याम खतिवडा र विनोद ढकालको प्यानलमै विभाजित भएर उत्रिदा ढकाल पक्षकाले स्थान पाउन नसकेको हो। ढकाल पक्षबाटै प्रत्याशी शैलेस लामा सचिवमा पराजित भए भने कार्की र थापा चाहि दुवै प्यानलमा नसमेटिएकाले हार बेहोर्नु परेको पार्टी कार्यकर्ताहरूको निष्कर्ष छ। सदस्यका आकाङ्क्षीहरू पनि ढकाल प्यानलमै परेका कारण पराजित हुन पुगेका हुन्।
प्रकाशित: १७ आश्विन २०८० ०७:५६ बुधबार