नेपाली कांग्रेस रूपान्तरण अभियानले आइतबार काठमाडौंमा गर्ने तय गरेको कार्यक्रममा शेखर कोइराला सहभागी नहुने कुरा आएपछि उक्त समूहभित्र हलचल मच्चिएको छ। इतर समूहका केही नेताहरूले झण्डै एक वर्षदेखि रूपान्तरण अभियान चलाइरहेका छन्। आफ्नै समूहनिकट नेताहरूले आह्वान गरेको कार्यक्रममा कोइराला नजाने भएपछि समूहभित्र हलचल मच्चिएको हो।
अभियानले बिपी जयन्तीको अवसर पारेर भदौ २४ गतेबाट १६५ वटै संघीय निर्वाचन क्षेत्रमा पुग्नेगरी दोस्रो चरणको रूपान्तरण अभियान थालेको थियो। पहिलो दिन काभ्रेमा कार्यक्रम गरिसकेपछि त्यसपछिको कार्यक्रम आइतबार काठमाडौंमा हुने तय भएको थियो। जसअनुसार राष्ट्रिय सभागृहमा ‘१४औं महाधिवेशनको म्यान्डेट र पार्टी रूपान्तरणका जल्दाबल्दा सवाल’ विषयमा विचार गोष्ठीको आह्वान गरिएको छ।
गोष्ठीमा कोइरालासहित पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, युवा नेता प्रदीप पौडेल, अर्जुनरसिंह केसी, बलबहादुर केसीलगायतका नेताहरूको सम्बोधन रहने बताइएको छ। तर मंसिरमा महासमिति बैठक(नीति महाधिवेश) आह्वान गरिसकेको अवस्थामा पार्टीमा विवाद निम्त्याउने किसिमका गतिबिधि गर्न नहुने भन्दै कोइरालाले उक्त कार्यक्रममा उपस्थित नहुने संकेत गरेको स्रोतले बतायो।
यसरी समूहका नेता नै कार्यक्रममा सहभागि नहुने भएपछि कार्यक्रमको औचित्यमाथि नै धेरैले प्रश्न उठाइरहेका छन्। अभियान सञ्चालन गर्ने समूहभित्रकै केही नेताले तत्काल रूपान्तरण अभियानका नाममा कार्यक्रम सञ्चालन नगर्न सल्लाह समेत गरेको स्रोत बताउँछ। तर अभियानको नेतृत्व गरिरहेका जगदीश्वरनरसिंह केसीले भने कार्यक्रम स्थगित गर्ने र नाम परिवर्तन गर्ने दुवै प्रस्तावमा अस्वीकार गरेर अघि बढेको बताइएको छ।
उता केसीले भने कार्यक्रम उत्कृष्ट बन्ने देखिएपछि बिथोल्न खोज्नेले अनावश्यक हल्ला चलाएको दाबी गरे। ‘कार्यक्रम बिथोल्न खोज्ने खै कसले शेखर आउनुहुन्न, गगन आउँछ भनेर हल्ला फैलाएछ,’ उनले भने, ‘शेखर दाइ आउनुहुन्छ भन्ने विश्वास छ, मैले उहाँको सहयोगीसँग भर्खरै कुरा गरेको छु। कुरा सकारात्मक नै छ।’
रूपान्तरण अभियान पार्टी सुधारका लागि भएकाले समूहभित्र कसैको विमती नरहेको उनले दाबी गरे। ‘हामीले कुनै गुटको भन्दा पनि सबैको कार्यक्रम बनाउन खोजेका छौं। सभापति ज्युसहितका पदाधिकारी पनि बोलाउन खोजेका छौं। तर उहाँहरूको यसपटक समय मिलेन,’ केसीले भने। कार्यक्रम सफल बनाउन जिल्लाजिल्लाबाट नेताकार्यकर्ता आइसकेको उनले दाबी गरे।
प्रकाशित: १४ आश्विन २०८० ०२:२४ आइतबार