२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

कम्युनिस्ट प्रधानमन्त्रीको ‘प्रचण्ड धार्मिक अवतार’

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मानसरोवर अवलोकन गर्दै। तस्बिर: रासस

जेठमा दक्षिणी छिमेक भारत भ्रमणमा रहँदा गेरु वस्त्रसहित ‘प्रचण्ड धार्मिक अवतार’मा झुल्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल उत्तरी छिमेक चीन पुग्दा पनि धार्मिक स्थलको भ्रमणलाई निरन्तरता दिएका छन्। चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले बिहीबार तिब्बतमा रहेको कैलाश पर्वत र मानसरोवरको दर्शन भ्रमण गरेका हुन्। कैलाश पर्वत र मानसरोवरलाई हिन्दु धर्मावलम्बीहरूले ठुलो धाम मान्छन्। विशेषगरी कैलाश पर्वतलाई भगवान् शिवको बासस्थान ठानेर हिन्दु धर्मावलम्बीहरू जीवनमा एकपटक पुग्न चाहन्छन्।

प्रधानमन्त्री दाहाल विदेश भ्रमणमा रहँदा यसरी धार्मिक स्थलको भ्रमण, पूजाअर्चना र दर्शन गर्दा नेपालमा भने चर्को आलोचना हुने गर्छ। भारत भ्रमणका बेला उज्जैनको महाकालेश्वर मन्दिरको दर्शन गर्दा गेरु वस्त्रमा पूजाअर्चना गरेको विषय सर्वाधिक आलोचित बनेको थियो। यसरी आलोचना गर्नेमा अग्रमोर्चामा उनकै द्वन्द्वकालीन सहयोद्धा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई थिए। भट्टराईले दाहालका धार्मिक गतिविधिका तस्बिर राखेर ‘नयाँ सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’ भनेर व्यंग्य गरेका थिए।

‘एक्लै कोही कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन। त्यो उसको निजी आस्थाको कुरा हो,’ भट्टराईले त्यतिबेला टिप्पणी गरेका व्यहोरामा भनिएको थियो, ‘तर जब पुरै मन्त्रीमण्डल एकैसाथ जान्छ तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ !’ सांस्कृतिक नक्सा भनेर व्यंग्य भने भारतले त्यतिबेला आफ्नो नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ नक्सालाई भनेका थिए। नेपालको केही भूभाग समेत समेटेर राखिएको उक्त नक्साबारे चर्को आलोचना भइरहँदा प्रधानमन्त्री दाहालको भ्रमणका बेला कुरा उठ्न सक्ने अपेक्षा थियो। तर अपेक्षाकृत कुरा नउठेपछि आलोचना भएको थियो।

द्वन्द्वात्मक भौतिकवादको वकालत गर्दै धर्मलाई अफिमको संज्ञा दिने स्कुलिङमा रहेका र देशलाई धर्मनिरपेक्ष बनाउन भूमिका खेलेका व्यक्ति गेरु अवतारमा पुग्ने अवस्था अवसरवादले सिर्जना गरेको हो।

-मुमाराम खनाल,राजनीतिक विश्लेषक

अन्य प्रधानमन्त्रीहरू विदेश भ्रमणमा रहँदा धार्मिक स्थलको भ्रमण र दर्शन एवं पूजाअर्चना हुँदा खासै आलोचना हुँदैन। तर प्रधानमन्त्री दाहालको धेरै आलोचना हुनुपछाडिको कारण उनले लिएको दर्शन र विगतको व्यवहार मुख्य कारण रहेको जानकारहरू बताउँछन्। आफ्नै भूमिगतकाल, उनले नेतृत्व गरेको माओवादी सशस्त्र विद्रोहकाल र शान्तिप्रक्रियामा आइसकेपछि धर्मविरुद्ध चलाएका अभियान एवं व्यवहारका कारण अहिले दाहालले आलोचित हुनुपरेको हो।

पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली कूटनीतिक स्तरमा हुने राजकीय भ्रमणमा आतिथ्य दिने मुलुकले अतिथिसँग आफ्नो देशका सांस्कृतिक सम्पदाको भ्रमणको अपेक्षा राख्नु स्वाभाविक ठान्छन्। ‘भ्रमण तालिका आतिथ्य दिनेले नै बनाउँछ। कतिपय अवस्थामा उसले आफ्नो देशको संस्कृति, परम्परा झल्कने ठाउँको प्रचारका लागि भ्रमणको आग्रह गर्छ,’ उनले भने, ‘यस्तो अवस्थामा अतिथिले नाइँ भन्न नसकिने अवस्था हुन्छ, यो सामान्य विषय हो।’

तर प्रधानमन्त्री दाहालका हकमा उनले विगतमा लिएका दर्शन र गरेका व्यवहारका कारण अस्वाभाविक देखिएको ज्ञवालीले बताए। उनले भने, ‘उहाँ विगतमा धर्मको विरोध गर्दै हिँड्नुभयो, धर्म मान्नेहरूविरुद्ध धुमधामसँग लाग्नुभयो, धार्मिक, सांस्कृतिक ग्रन्थहरू नष्ट गर्दै हिँड्नुभयो। त्यसैले अहिले उहाँप्रति टीकाटिप्पणी भएको हो,’ ज्ञवालीले भने।

प्रधानमन्त्री दाहालमा विचार र सिद्धान्तप्रति विचलन आउँदा यस्ता दृश्यहरू देखिएको राजनीतिक विश्लेषक मुमाराम खनालले बताए। उनले भने, ‘आफूले बोकेका, अरूलाई पनि स्कुलिङ गर्दै हिँडेका विचार, सिद्धान्त, दर्शनबाट स्खलित हुँदा यस्ता दृश्य देखिन्छन्।’

प्रधानमन्त्री दाहाल आफैंले भने विदेश भ्रमणमा रहँदा गरेका आफ्ना धार्मिक अभ्यास र भ्रमणलाई कूटनीतिक अभ्यास मात्रै भएको टिप्पणी गर्ने गरेका छन्।

महाकालेश्वरको पूजाअर्चनापछि आफ्नो चर्को आलोचना हुँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुझाव र निजी चाहनाले भ्रमण गरिएको प्रतिक्रिया दिएका थिए। आफू क्रिस्चियनको गिर्जाघर जाँदा मन्त्र जपेको, लुम्बिनी जाँदा बौद्ध धर्मावलम्बीको कार्यक्रममा सहभागी भएको भन्दै हिन्दु मन्दिरमा गएर गेरु वस्त्र लगाएर पूजाअर्चना गर्दा त्यसलाई नयाँ ठान्न नहुने प्रतिक्रिया दिएका थिए।

महाकालेश्वरको भ्रमणलाई सांस्कृतिक कूटनीतिका रूपमा बुझ्नुपर्ने बताउँदै उनले भनेका थिए, ‘प्रोटोकल मिचेर मलाई लाउन नदिनुस् भन्दा भारतका करोडौं जनताको मनमा चिसो पस्ने भयो नेपाल र नेपालका प्रधानमन्त्रीप्रति। त्यो हाम्रो देशका लागि फाइदा हुन्थ्यो त?’ यद्यपि आफू धर्मनिरपेक्षताप्रति प्रतिबद्ध रहेको दाबी उनले गरेका थिए। भारत भ्रमणमा सिर्जना भएको आलोचनालाई मत्थर पार्ने कोसिसस्वरूप दाहालले नेपाल फर्किएपछि दलबलसहित पशुपतिनाथको पनि दर्शन गरेका थिए।

अवसरवादले बदलेको रूप

विदेश भ्रमणमा प्रधानमन्त्री दाहालको देखिने धार्मिक अवतारप्रति विपक्षीले मात्रै होइन, माओवादीनिकट रहेर प्रशिक्षित व्यक्तिहरू पनि आलोचना गर्छन्। यता विज्ञहरू भने प्रधानमन्त्री दाहालमा देखिने यस्तो धार्मिक अवतार अवसरवादले बदलेको रूप भएको टिप्पणी गर्छन्।

विगतमा ‘द्वन्द्वात्मक भौतिकवाद’को वकालत गर्दै धर्मलाई अफिमको संज्ञा दिने स्कुलिङमा रहेका र देशलाई धर्मनिरपेक्ष बनाउन भूमिका खेलेका व्यक्ति गेरु वस्त्रको अवतार पुग्ने अवस्था अवसरवादले सिर्जना गरेको राजनीतिक विश्लेषक खनालको तर्क छ। ‘उहाँमा सत्ताका लागि जे पनि गरिदिने, जे पनि भइदिने, जोसँग पनि सहकार्य गरिदिने स्वाभाव छ,’ उनी भन्छन्, ‘यस्तोमा नेपालको सत्ता बनाउन र भत्काउन छिमेकीहरूको भूमिका खेल्ने पक्ष खुला सत्य हो। त्यसैले छिमेकीलाई खुसी पार्न विदेश जाँदा छिमेकीकै चाहनाअनुसार चल्नु पनि उनको एक खुबी नै हो।’ सत्ताका लागि दाहालको पाखण्डता छताछुल्ल भइसकेको पनि उनी टिप्पणी गर्छन्। ‘अब पनि उनलाई कम्युनिस्ट पार्टीको भनिरहनुपर्छ भन्ने मलाई लाग्दैन। भैंसी पूजा पनि गर्ने व्यक्ति उहाँ नै भनेपछि कसरी कम्युनिस्ट भन्ने?’ उनले भने।

पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीको बुझाइमा सत्ताको खेलमा दाहालले माक्र्सवाद छाडेर आफैंले भनेको दलाल पुँजीवाद अँगालेको टिप्पणी गर्छन्। ‘उहाँ आंशिक बदलिनुभयो पनि होला। केही आफूमा करेक्सन गर्न पनि खोज्नुभयो होला। त्यसलाई म इन्कार गर्दिनँ,’ उनले भने, ‘मूल कुरा उहाँ सत्ताको खेलमा जे गर्दा रोटी पाक्छ, त्यहीँ गर्ने कुशल खेलाडी भइसक्नुभयो। भारत जाँदा पहेंलो भइदिनुहुन्छ, अर्कातिर जाँदा रातो भइदिनुहुन्छ।’ कैलाश पर्वत र मानसरोवरको भ्रमण पनि चीनकै स्वार्थअनुसार भएको उनको शंका छ।

प्रधानमन्त्री दाहाललमा धार्मिक कूटनीति मात्र नभई धार्मिक व्यवहारमा पनि परिवर्तन आउनुमा सत्तास्वार्थ जोडिएको पूर्वपरराष्ट्रमन्त्री लोहनी बताउँछन्।

‘पछिल्लो समय देशमा हिन्दु अधिराज्यका पक्षमा जनता आवाज उठाइरहेका छन्। त्यो जनमतलाई चिढ्याए आफ्नो रहेको जनमत पनि सकिन्छ भन्ने डर उहाँमा पलाएको हुन सक्छ। त्यहीँ डरले पनि हिन्दुत्वको रङ देखाउन खोजेको,’ उनले भने। माओवादी केन्द्रकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री पम्फा भुसाल भने कूटनीतिक सम्बन्धलाई मजबुत पार्न प्रधानमन्त्री दाहालबाट धार्मिक केन्द्रहरूको भ्रमण हुने गरेको बताउँछिन्।

‘कूटनीतिक सम्बन्ध स्थापित गर्दा, बलियो बनाउँदा जुन देश गयो त्यहीँ देशको वेशभूषा र चालचलनअनुसार व्यवहार गर्ने हो,’ उनले भनिन्, ‘उताबाट पर्यटकीय महŒवका क्षेत्रको प्रवद्र्धनका लागि भ्रमणको आग्रह आउँदा इन्कार गरिन्न, गइन्छ। त्यसले सम्बन्ध मजबुत पार्छ।’ प्रधानमन्त्री दाहालले देशहितमा कूटनीतिक बलियो बनाउन खोज्दा विरोधीहरूले अनेक प्रचारबाजी र टीकाटिप्पणी गरिरहेको उनी बताउँछिन्।  

प्रकाशित: १२ आश्विन २०८० ००:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App