१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चिनियाँ चिन्ता ‘साझा स्वार्थ सुरक्षा’

साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र चीन एकअर्कालाई बुझ्ने र साथ दिने भरपर्दा मित्र र साझेदार भएको बताएका छन्।चीनको हांगचौमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको द्विपक्षीय भेटवार्तामा दाहालले त्यस्तो धारणा राख्दै चीनले अघि सारेका बिआरआईलगायत कनेक्टिभिटी विकासका पहलहरूलाई नेपालले समर्थन गर्ने पनि बताए।झेजियाङको राजधानी हांगचौमा शनिवार प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली टोली र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो ।

१९औं एसियन खेलकुदको उद्घाटनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री दाहालले राष्ट्रपति सीसँग भेटघाटका क्रममा नेपाल सधैं ‘एक चीन नीति’मा दृढ रहेको स्पष्ट पारे।दाहालले आर्थिक मामिला, गरिबी निवारण र महामारीमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिए।उनले ताइवान र तिब्बत चीनको अभिन्न हिस्सा भएको पनि स्पष्ट पारे।त्यस्तै प्रधानमन्त्री दाहालले नेपालमा चीनको सार्वभौमसत्ता र सुरक्षामा आँच आउने कुनै गतिविधि हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे।उनले बिआरआईमा संयुक्त पहलमा नेपाल सक्रिय रूपमा सहभागी हुने पनि बताएका थिए।सीसँगको भेटवार्तामा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद पनि सहभागी थिए ।

सोही भेटवार्ताका क्रममा राष्ट्रपति सीले चीनले नेपालसँगको सम्बन्धलाई ठुलो महत्त्व दिएको बताए।उनले विकास रणनीति बनाउने सन्दर्भमा चीन नेपालसँग मिलेर काम गर्न तयार रहेको पनि स्पष्ट पारे।‘चीन र नेपालले सधैं एकअर्काका प्रमुख हित र चासोसँग जोडिएका मुद्दाहरूलाई बुझ्नुपर्छ र समर्थन गर्नुपर्छ,’ सीले भने।उनले अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा चीन र नेपालको धेरै साझा स्वार्थ रहेको बताउँदै चीन नेपालसँग बहुपक्षीय सहकार्य गर्न तथा साझा स्वार्थहरूको सुरक्षा गर्न इच्छुक रहेको पनि बताए ।

उनले ‘ट्रान्स हिमालयन थ्री डाइमेन्सनल इन्टरकनेक्सन नेटवर्क’ले आकार लिन थालेको बताउँदै दुई मुलुकले पूर्वाधार कनेक्टिभिटीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए।‘दुई पक्षले पूर्वाधार कनेक्टिभिटी प्रवर्द्धन, यातायात सहकार्य विस्तारका साथै नेपाललाई सकेसम्म चाँडो भूपरिवेष्टित मुलुकबाट भूजडित बनाउन ध्यान केन्द्रित गर्नुपर्छ,’ सीले भने, ‘चिनियाँ उद्यमीहरूलाई नेपालमा लगानी तथा व्यवसाय सुरु गर्न तथा नेपाली उत्पादनहरू चीनमा निर्यात गर्न चीन प्रेरित गर्छ ।’

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर सिधै चीन पुगेका हुन्।हांगचौमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए।प्रधानमन्त्री दाहाल एसियन खेलकुदको समुद्घाटन समारोहमा सहभागी भएपछि चीनको राजधानी बेइजिङ पुग्नेछन्।

बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।सो भेटवार्तापछि प्रधानमन्त्री दाहालले चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन्।सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे उनले जानकारी पनि लिनेछन्।भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री दाहालले चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्नेछन् ।

यसैगरी उनले चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन्।सम्मेलनमा नेपाल र चीनका उद्योगी–व्यवसायीहरूको सहभागिता रहनेछ।सम्मेलनमा सहभागिता जनाउन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरू पनि चीन पुगेका छन्।सो सम्मेलनपछि प्रधानमन्त्री दाहाल नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन्।तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्किने कार्यक्रम छ।

प्रकाशित: ७ आश्विन २०८० ००:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App