उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयले मातहतका निकायमा योगा र ध्यान अनिवार्य गराउने बताएका छन्। ध्यान विज्ञानलाई आत्मसात् गर्न सकियो भने जीवनोपयोगी हुने उनको भनाइ थियो।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज आयोजना गरिएको एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्यशालाको समापन गर्दै उनले ध्यान र योगाभ्यासले मानिसमा तनाव कम गराउन मद्दत गर्ने बताएका हुन्।
कार्यशाला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनेप्रति आभार प्रकट गर्दै उनले भने, ‘ध्यान सजगता हो, होसको स्थिति हो, विधि र प्रक्रियाअनुसार ध्यानको स्थानमा पुग्न सकियो भने यसले जीवन चिन्न र सार्थक तुल्याउन महत्त्वपूर्ण भूमिका खेल्छ।’
उनले गृह मन्त्रालयले अब मातहतका निकायमा योगाभ्यास तथा ध्यान अनिवार्य गराउने पनि उल्लेख गरे।
उनले कार्यालय सुरु भएपछि बिहान १५ मिनेट योग, ध्यान गराउने पनि बताए। यसअघि आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले सो कार्यशालाको उद्घाटन गरेका थिए। बिहान ७ः३० देखि सुरु भएको कार्यशाला साँझ मात्रै सकिएको थियो।
नेपाल सरकार गृह मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले योग र ध्यानलाई तन, मन र वचनका साथ गर्न सक्यौँ भने हामीले गर्ने प्रत्येक कार्यहरूमा खुसी प्राप्त हुने बताएका थिए।
प्रकाशित: ६ आश्विन २०८० २२:०६ शनिबार