२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेम्बाङको गृह जिल्लावासीले संविधान दिवसमा भने: ‘देश बनाउन चरित्र सुध्रिनुपर्छ’

संविधान दिवस अवसरमा इलाममा आयोजित कार्यक्रम। तस्बिर: भीम/नागरिक

२०७२ सालको संविधान निर्माणको नेतृत्व गरेका संविधानसभा अध्यक्ष दिवंगत नेता सुवासचन्द्र नेम्बाङको गृहजिल्ला इलामका बासिन्दाले देशमा नेतृत्वको कार्यशैलीकै कारण संविधान कार्यान्वयन जटिल भइरहेको गुनासो गरेका छन्। राजनीतिक नेतृत्वमा चरित्र सच्चिए मात्रै नयाँ संविधान अक्षरशः कार्यान्वयन हुनसक्ने उनीहरूले बताएका हुन्।

नेम्बाङको निधन भएको नवौं दिन नवौं संविधान दिवस मनाइरहँदा संविधान निर्माणका लागि नेम्बाङले निर्वाह गरेको भूमिका इतिहासमा अविस्मरणीय रहने इलामवासीको भनाइ छ। आन्तरिक र बाह्य हस्तक्षेपका कारण संविधान घोषणा नगर्न दबाब बढे पनि नेम्बाङ लगायत केही शीर्ष नेताको अडानकै कारण मात्र नयाँ संविधान घोषणा सम्भव भएको पनि सहभागीले स्मरण गरे।

प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) इलामका अध्यक्ष महेश बस्नेतले निकै चुनौतीपूर्ण अवस्थामा सारा अवरोध पन्साएर घोषणा भएको संविधान पालनामा सबै एक ढिक्का हुनुपर्ने बताए।

‘७० वर्षभन्दा बढीको राजनीतिक आन्दोलनपछि अहिलेको संविधान बनेको हो,’ उनले भने, ‘अहिलेको राजनीतिक नेतृत्वले जनताको सात दशकभन्दा बढीको योगदानले निर्मित संविधानप्रतिको कर्तव्य बिर्सिनुहुँदैन।’

बस्नेतले संविधान कार्यान्वयन भाषणमा नभई व्यवहारमा देखिए मात्र आम नागरिकको भावना प्रतिबिम्बित हुने भन्दै संविधान कार्यान्वयन नगरे ठुलो बलिदानको अपमान हुने बताए।

‘अहिले खोट संविधानमा होइन, हाम्रो व्यवहारमा भइरहेको कमजोरीमा छ,’ उनले भने, ‘हाम्रो चरित्र रूपान्तरण भएन, व्यवहार सुध्रिएन भने संविधानले गरेको कल्पना पूरा हुँदैन।’ बस्नेतले संविधान निर्माणको नेतृत्व गरेका नेम्बाङको संविधान जारी नगर्न ‘बाहिरी शक्ति’ ले दिएको दबाब र त्यस विरुद्धको उनको दृढताबारे चर्चा गरे। ‘मलाई त नेम्बाङ हाम्रो एमालेको मात्रै नेता भन्ने लागेको थियो,’ बस्नेतले भने, ‘म प्रतिनिधिसभा सदस्य भएर काठमाडौं गएपछि पो थाहा भो–नेम्बाङसँग अन्य दलका नेताको पनि उत्तिकै सहकार्य समन्वय रहेछ।’

जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले अगाडि गुड्नुपर्ने संविधानको ‘गाडी’ नेताहरूको कार्यशैली र व्यवहारकै कारण पछाडि धकेलिएको बताए। ‘कतिपय नेताहरूकै कारण अहिले संविधान कार्यान्वयनमा बाधा पुगिरहेको छ, देशमा अराजकता बढेको छ,’ उनले भने, ‘बहुदलीय व्यवस्थामा दलहरू माथिबाट सुध्रिनुपर्छ, नभए तलकाले उनीहरूलाई सुधार्न सक्नुपर्छ, अहिलेको मुख्य आवश्यकता नै यही हो।’

उनले उच्च तहका नेताले भुईँ (तल) का नेता–कार्यकर्ताको भावना र अवधारणाको कदर नगरे पनि माथिकै आदेश मानिदिनुपर्ने बाध्यताले लोकतन्त्र धरापमा पर्ने गरेको बताए।

‘संविधान निर्माणताका धेरै खाले मत नभएका होइनन् तर जारी गर्ने बेलामा सबै एक भएर यो संविधान सहमतिको दस्ताबेजका रूपमा आएको हो,’ उनले भने, ‘संविधान अपरिवर्तनीय हुँदैन तर अहिले संविधान संशोधनको आवश्यकता होइन, इमानदार हिसाबले कार्यान्वयनको चाहिँ आवश्यकता हो।’

जिससका निवर्तमान प्रमुख गणेशप्रसाद बरालले नयाँ संविधान सहमतिको साझा दस्ताबेज भएको भन्दै यसको कार्यान्वयन अहिलेको आवश्यकता भएको बताए। उनले नेम्बाङले संविधान निर्माणमा नेतृत्व र महत्त्वपूर्ण योगदान गरेको भन्दै नेम्बाङ आफैँमा पनि उदाहरणीय नेता भएको स्मरण गरे।

नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति हिमालय कर्माचार्यले नेतृत्वको आलोचना गर्न नसक्दा लोकतन्त्र कमजोर हुँदै गएको बताए।

‘म मेरा सभापति शेरबहादुर देउवाका अगाडि उहाँका गलत कार्यको आलोचना गर्नसक्छु, सबै दलका सबै नेता–कार्यकर्ताले त्यो क्षमता र तत्परता राख्नुपर्छ,’ कर्माचार्यले भने, ‘जनताको भावना र संविधानको मर्म नबुझ्ने नेतृत्वले जता लग्यो त्यतै जाने होइन, तल्लो तहले पनि आफ्नो विवेक प्रयोग गर्नुपर्छ।’

उनले संविधान संरक्षण, कार्यान्वयन गर्ने र मतदाताका भावना नेतृत्वले सम्बोधन गर्ने हो भने मात्रै संघीयता, लोकतन्त्र र मानव अधिकारको अर्थ रहने पनि बताए। उनले पछिल्लो समय कतिपय शीर्ष नेताहरूकै कारण राजनीति निकम्मा र विकृत भएकोसमेत बताए। उनले इलामबाट प्रतिनिधित्व गरी संविधान निर्माणको नेतृत्व गरेका नेम्बाङमा राजनेतामा हुनुपर्ने गुण पहिलेदेखि नै आफूले देखेको पनि स्मरण गरे।

नेकपा (माओवादी केन्द्र) का सह-इन्चार्ज कान्छा लावतीले समावेशी प्रजातन्त्र र पहिचानको विषयमा वर्तमान संविधान राम्रो रहेपनि कार्यान्वयन फितलो भएको बताए। ‘यो पहिचानको संविधान पनि हो तर संविधानको सफल कार्यान्वयन भन्दा सरकार बनाउने र ढाल्ने खेलमा राजनीति रुमल्लिएको छ,’ उनले भने, ‘संविधानले तोकेका कानुन निर्माण हुन सकेका छैनन्, अधिकारको बाँडफाँट तल्लो तहसम्म हुन सकेको छैन।’

नेकपा (एकीकृत समाजवादी) जिल्ला अध्यक्ष भक्त केसीले संविधानले आम नागरिकलाई नियम–कानुनको बाटोमा हिँडाउन प्रयत्न गरेको बताए।

‘हिजोका संविधानमा जनताले माथिको आदेश पालना गर्नुपथ्र्याे,’ उनले भने, ‘यो संविधानले अब नियम–कानुन अनुसार देश चल्नुपर्छ, जनताले आदेशपालक मात्रै बन्नुपर्दैन भन्ने देखाएको छ।’ केसीले नेम्बाङले संविधान निर्माणका गहन भूमिका निर्वाह गरेको जगजाहेर भएपनि त्यो संविधान कत्तिको पालना भइरहेको छ भन्ने चाहिँ अहिलेको मुख्य एजेन्डा हुनुपर्ने बताए।

‘नयाँ संविधान कार्यान्वयनका लागि दल, दलका नेता–कार्यकर्ता लगायत सबै सुध्रिनुपर्छ,’ उनले भने, ‘व्यवहारमा परिवर्तन र सुधार ल्याए मात्रै असली लोकतन्त्र प्राप्त हुन्छ।’

संविधान दिवस अवसरमा मानव अधिकार मञ्चले संयोजन गरेको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सिडिओ, विद्यार्थी लगायतले संविधान कार्यान्वयनका लागि सबैले संस्कार परिवर्तन गर्नुपर्ने धारणा राखे। सर्वसाधारणदेखि सर्वोच्च तहका नेता र सबै क्षेत्रका नागरिकले व्यवहार सुधारको संकल्प गरे मात्रै संघीयता, लोकतन्त्र र समावेशी व्यवस्थासहितको संविधान कार्यान्वयन हुने उनीहरूको साझा धारणा छ।

२०६४ र ०७० सालको संविधानसभा निर्वाचनपछि संविधानसभा गठन हुँदा नेम्बाङले दुवै सभाको अध्यक्षता गरेका थिए। दुवै संविधानसभा निर्वाचनमा इलाम निर्वाचन क्षेत्र २ बाट विजयी नेम्बाङ दुवै पटक सर्वसम्मत रूपमा संविधानसभा अध्यक्ष चुनिएका थिए। उनी अध्यक्ष भएकै बेला २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको हो। नेम्बाङको गत भदौ २६ मा हृदयाघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित: ३ आश्विन २०८० १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App