४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

भक्तपुरको कटुन्जेमा गणेशमान सिंहको प्रतिमा अनावरण

राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको कटुन्जेस्थित गणेशमान सिंह स्मृति वाटीका तथा प्रतिमा स्थापना समिति परिसरमा निर्माण गरिएको गणेशमान सिंहको एक हजार दुई सय किलोग्रामको १२ फिट अग्लो ढलोटको प्रतिमा मंगलबार एक कार्यक्रमबिच अनावरण गरेका छन्।

गणेशमान सिंह स्मृति वाटीका कटुन्जे भक्तपुरको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति पौडेलले प्रतिमाको अनावरण गरेका हुन्।

साढे दुई दशकभन्दा बढीको अथक प्रयासपछि गणेशमान सिंह स्मृति वाटिकाको औपचारिक रूपमा उद्घाटन भएको हो।

२०४६ सालका जनआन्दोलन कमाण्डर लौहपुरुष गणेशमान सिंहको प्रतिमा र प्रतिमा निर्माणमा करिब सवा करोड खर्च लागेको कार्यक्रममा जनाइयो। यो रकम संघ सरकार, संसद् विकास कोष, बागमती प्रदेश सरकार र स्थानीय नगरपालिकाका अतिरिक्त जनताको पनि योगदान रहेको कार्यक्रममा बताइयो।

स्वर्गीय गणेशमान सिंहको २६ औ स्मृतिमा गणेशमान सिंहको प्रतिमा अनावरण गरिएको हो। यसका लागि गणेशमान सिंह स्मृति बाटिका प्रतिमा अनावरण संरक्षण समिति २०५४ सालमै बनेको थियो। माओवादी द्वन्द्व र अन्य विभिन्न कारणले अहिलेसम्म (२६ वर्षपछि) प्रतिमा बनेको हो।

गणेशमान सिंह स्मृति बाटीकालाई नेपाल सरकारबाट प्राप्त कुल १७४  रोपनी १५ आना जग्गाभित्र यो प्रतिमा बनेको हो। प्रतिमा बने पनि बाटीकाको व्यवस्थित विकासका लागि चाहिने गुरुयोजनाको काम भइरहेको कार्यक्रममा बताइयो। त्यस अनुसार गुरुयोजना र त्यसका आधारमा विस्तृत परियोजना प्रतिवेदन, नेपाल सरकार, बागमती प्रदेश सरकार सूर्य विनायक नगरपालिकाको सहकार्यमा डीपीआर तयार पार्ने र त्यसलाई कार्यान्वयनमा लैजाने काम पनि सुरु भइसकेको कार्यक्रममा बताइयो।

वाटिका निर्माण परियोजनाको सम्पूर्ण कार्य पूरा गर्नका लागि करिब ३३ करोड रुपियाँ खर्च हुने अनुमान समितिले गरेको छ। सिंहको प्रतिमा अनावरणपश्चात बाटिका क्षेत्रलाई प्रजातान्त्रिक आन्दोलनका शहीदहरुको जीवनीमा आधारित सामाग्री संग्रह गर्ने, संग्रहालय, पुस्तकालय, योग पार्क, चिल्ड्रन पार्क, भ्यु टावर, पिकनिक स्थल निर्माणलाई जोड दिने बाटिकाका योजना छन्। प्रतिमास्थल र वाटिकाको झन्डै २३ वर्षअघि पूर्व प्रधानमन्त्री एवं सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईले प्रतिमाको शिलान्याससँगै गरेका थिए।

यो ठाउँ हालको सूर्य विनायक नगरपालिकाको वडा नं–५ र ६ मा पर्ने ऐतिहासिक र धार्मिक महत्त्व बोकेको सुवर्णेश्वर डाँडामा नजिकै रहेको छ। वाटिका अरनिको राजमार्गको कोटेश्वर सूर्य विनायक खण्डमा पर्ने चुनदेवी वा पाण्डुबजारबाट करिब डेढ किलोमिटर दक्षिणमा पर्छ। यो वाटिकाबाट उपत्यकाका कान्तिपुर, कीर्तिपुर, ललितपुर, मध्यपुर, भक्तपुर र शङ्करापुरसम्मको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।

वाटिकामा लालीगुराँसलगायत विभिन्न प्रजातिका फूल, काफल, कटुस, ऐँसेलु, चुत्रो जस्ता जङ्गली फल र विभिन्न प्रजातिका बोटबिरुवा, करिब ९९ प्रकारका चराचुरुङ्गीको अध्ययन गर्न सकिने भएको जनाइएको छ। यसले खोज तथा अनुसन्धान गर्नेहरूका लागि महत्त्वपूर्ण स्थल हुनसक्ने बताइएको छ।

बाटिकालाई गणेशमान सिंहका संघर्ष र त्यागका कथाका अतिरिक्त प्रजातन्त्रका शहीदहरुका जीवन र संघर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने, गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ र अनुभवीहरूबाट प्रवचन गराउने, छलफल चलाउने र त्यसका निष्कर्षलाई प्रकाशित गराएर भविष्यका पुस्तालाई प्रजातन्त्रप्रति जागरूक तुल्याउने बाटिकाको लक्ष्य रहेको जनाइएको छ।

प्रकाशित: २ आश्विन २०८० १५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App