१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

देशको राजनीति दिशाहीन भयोः झलनाथ खनाल

तस्बिर सौजन्य: बालकोट।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुकेको बताएका छन्।

मंगलबार नेकपा एमालेले आयोजना गरेको सुवास र संविधान विषयक कार्यक्रमलाई एमाले पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले संविधान बनाउँदा नेतृत्व वर्ग सचेत भएजस्तो कार्यान्वयको बेलामा भने हुन नसकेको जिकिर गरे। उनले बहुलजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक देशको रुपमा संविधानमा उल्लेख भए अनुसारको मर्म र भावनालाई जनतासमक्ष बुझाउन नसकिएको स्पष्ट पारे। उनले संविधानको मर्म र भावनालाई जनतामा बुझाउन नसक्दा अहिले कोशी प्रदेशमा पहिचानको नाममा आन्दोलन भइरहेको उल्लेख गरे।

संविधान बनाएर पनि आम जनताको बीचमा राम्रोसँग शिक्षित, प्रशिक्षित गर्न नसक्नु नेतृत्वको कमजोरी भएकाले अब सबैले संविधानको कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ थियो। 

उनले भने, ‘संविधान बनेको ७ वर्ष हुनलाग्यो, बिस्तारै एक दशक हुन्छ। तर संविधान जुन ढंगको हामीले बनाएका छाैँ। त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया छ त्यसमा भने हामी संविधान बनाउँदा जति सचेत थियौ । यसलाई कार्यान्वयन गर्न त्यति सचेत गर्न सकेका छैनौँ। संविधानको धारा ३ पढ्नुस्, नेपालको विशेषताको बारेमा हामीले राम्रो ढंगले परिभाषित गरेका छौँ। नेपाल एउटा बहुलजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक देश हो। तर त्यसको मर्म र भावनाको बारेमा देशका सबै जातिका जनतालाई राम्रोसँग बुझाउन सकेका छैनौँ। त्यसले गर्दा अहिले पनि विविध खालका सेन्टीमेण्टहरु उम्लिन खोजिरहेका छन्। पूर्वाञ्चल त्यसकै प्रभाव हो। धरानमा भएको निषेधाज्ञा त्यसकै प्रभाव हो। यसैले हामीले संविधान बनाएर पनि आम जनताको बीचमा राम्रोसँग शिक्षित, प्रशिक्षित गर्न सकेका छैनौँ। यो देशको नेतृत्व पछि छ। यी कमजोरीलाई समाधान गर्नुपर्छ। ३१ वटा मौलिक हक पारित गरेका छौँ। त्यसलाई ३ वर्षभित्रमा कानून बनाएर लागू गर्नुपर्छ, त्यही संविधानले घोषणा गरेको हो, अहिले ७ वर्ष भयो ? खै कानून बनेको ? यो नेतृत्वको पहलमा कमी हो। संविधान राम्रो बनाएर मात्रै हुँदैन, यसलाई कार्यान्वयन गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्छ।’

पूर्वप्रधानमन्त्री खनालले देशको राजनीति दिशाहीन भएको बताए। उनले राजनीतिक, आर्थिक, सांस्कृतिक रुपमा संकटहरु बढ्दै गएको जिकिर गरे। उनले देशका वामपन्थीहरु मेलमिलाप भएमात्रै स्व.सुवासचन्द्र नेम्वाङप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए।

प्रकाशित: २ आश्विन २०८० १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App