१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मधेस प्रदेशको अधिवेशन अनिश्चित

गत असार ३१ गते अन्त्य भएको मधेस प्रदेशसभा अधिवेशन अझै सुरु भएको छैन। अधिवेशन सुरु नहुँदा महत्त्वपूर्ण विधेयक पारित हुन सकेका छैनन्।

२०७९ मंसिरको चुनावपछि गठन भएको प्रदेशसभाको पहिलो अधिवेशनमा ३६ वटा बैठक भएका थिए। त्यसबेला सातवटा विधेयक दर्ता गरिएका थिए। जसमध्ये बजेटसँग सम्बन्धित दुईसहित जम्मा तीनवटा विधेयक मात्रै पारित भए।

मधेस प्रदेशका केही ऐनलाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक २०७९, आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० गरेर तीनवटा विधेयक पारित भएको सभामुख रामचन्द्र मण्डलले बताए।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार, प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन सम्बन्धमा र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक र मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयकलाई विषयगत समितिमा छलफलका लागि पठाइएको छ।

दोस्रो कार्यकालको मधेस प्रदेशसभाको पहिलो अधिवेशनका क्रममा प्रदेश सांसदहरूको तलबभत्तामा मात्र सात करोड ६५ लाख चार हजार रूपैयाँ खर्च भएको छ। दोस्रो कार्यकालको आठ महिनामा सभामुख, उपसभामुख, मुख्यमन्त्री र मन्त्रीबाहेक सांसदको तलब सुविधामा उक्त रूपैयाँ प्रदेश सभाले खर्च गरेको प्रदेश सभा सचिवालयले जनाएको छ।

सचिवालयका सचिव रञ्जित यादवका अनुसार, नयाँ प्रदेश सांसद चुनिएर आएदेखि (पुस १५ गतेदेखि साउन मसान्तसम्म) साढे सात महिनामा सात करोड ६५ लाख चार हजार रूपैयाँ खर्च भएको छ। सांसदहरूको तलबमा सात करोड ३३ लाख ७९ हजार बैठक भत्तामा ३१ लाख २५ हजार खर्च भएको सचिव यादवले बताए।

प्रकाशित: ३१ भाद्र २०८० ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App