२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय तहका २१ पदमा उपनिर्वाचन हुँदै

नेपाली कांग्रेसबाट स्थानीय तह निर्वाचनमा विजयी भएका काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको भदौ १९ मा डेंगीबाट निधन भयो। उनको निधनपछि काठमाडौं महानगरपालिका–१६ जनप्रतिनिधिविहीन भएको छ।

गत असार ५ मा सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भयो। गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेशसभामा निर्वाचित सांसद सिंहको निधनसँग बझाङ–१ को (क) जनप्रतिनिधिविहीन भएको छ।

निर्वाचन आयोगले काठमाडौं महानगरपालिका–१६ र बझाङ–१ (क)सहित देशभर जनप्रतिनिधिविहीन रहेको २१ स्थानमा सरकारसँग परामर्श गरेर निर्वाचन गराउने तयारी गरिरहेको जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिए।

‘आयोगले देशभर जनप्रतिनिधिविहीन रहेको स्थानबारे प्रधानमन्त्रीलाई जानकारी दिइसकेको छ,’ उनले भने, ‘आयोगसँग परामर्श गरेर सरकारले निर्वाचनको मिति घोषणा गरेपछि आयोग उपनिर्वाचनको तयार गर्नेछ।

प्रतिनिधिसभा सदस्यको रिक्त पदमा गत वैशाखका उपनिर्वाचन भएको हुँदा प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनपछि आगामी वैशाखमा गर्ने सरकारको तयारी रहेको छ।’

आयोगका अनुसार देशभरको २१ स्थानमा जनप्रतिनिधि मृत्यु वा छाडेका कारण पद रिक्त भएका छन्। प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति (जिसस) प्रमुख, गाउँपालिका अध्यक्ष र गाउँपालिका उपाध्यक्ष १–१ र वडाध्यक्ष १७ गरी २१ स्थान जनप्रतिनिधिविहीन भएका छन्।

जनप्रतिनिधिविहीन भएको २१ मध्ये नेपाली कांग्रेसको १२, नेकपा एमालेको र नेकपा माओवादी केन्द्रको ४–४ तथा स्वतन्त्र १ स्थान रहेको छ। आयोगका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशका ५ स्थान जनप्रतिनिधिविहीन भएको छ।

त्यस्तै वाग्मती प्रदेशमा ४, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा ३–३, कोसी र मधेस प्रदेशमा २–२ तथा गण्डकी प्रदेश १ स्थान जनप्रतिनिधिविहीन भएका छन्।

बझाङ–१ (क) प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंह, कैलाली जिसस प्रमुख पदमबहादुर कलेल, दैलेखकाे महाबु गाउँपालिका अध्यक्ष लक्षुमन गुरुङ, गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङ, गढी गाउँपालिका–६ का वडाध्यक्ष सदानन्द उराँव झागर, त्रियुगा नगरपालिका–१२ का चुडाराज काफ्ले, इशानाथ नगरपालिका–७ का शेख खली उल्लाह, राजपुर नगरपालिका–६ का शेख मोजरे आलम, कीर्तिपुर नगरपालिका–४ का श्यामकुमार अधिकारी, ककनी गाउँपालिका–२ का तिलकबहादुर लामा, हेटौंडा उपमहानगरपालिका–१२ का ललितबहादुर घलान, गोरखा नगरपालिका–५ का खिलबहादुर राना, मुसिकोट गाउँपालिका–१ का मोहन घिमिरे, रुन्टीगढी गाउँपालिका–४ का टंकबहादुर पुन, ठाकुरबाबा नगरपालिका–४का सूर्यबहादुर विष्ट, तिलागुफा नगरपालिका–४ का परबहादुर शाही, कुशे गाउँपालिका–७ का मनबहादुर घर्ती, दुहुँ गाउँपालिका– ५का मनोरथ भट्ट, सुर्मा गाउँपालिका–४ का सर्जन बोहरा, पूर्वाचौकी गाउँपालिका–६ का पुष्पराज जोशी र काठमाडौं महानगरपालिका– १६ मुकुन्द रिजालसहित वडाध्यक्षविहीन रहेको छ।

आयोगले काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष पदका लागि स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ को २ बमोजिम उपनिर्वाचन गर्नुपर्ने कानुनी प्रावधान रहेको छ।

‘जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ,’ सो दफामा भनिएको छ। सो प्रावधानअनुसार एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन हुँदैन।

संविधानको धारा १७६ को ८ बमोजिम बझाङ–१ (क) जस्तो प्रदेशसभा सदस्य रिक्त रहेका अवस्थामा उपनिर्वाचन गर्नुपर्ने कानुनी प्रावधान रहेको छ। ‘प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी हुँदै कुनै सदस्यको स्थान रिक्त भएमा सो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ,’ सो धारामा उल्लेख गरिएको छ।

प्रकाशित: २५ भाद्र २०८० ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App