२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

‘सरकार भ्रष्टाचार विरोधी होइन, भ्रष्टाचार मैत्री बन्यो’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले नै भन्सारमा सुन तस्करीको तमासा गरिरहेको आरोप लगाएका छन्।

एमाले लुम्बिनी प्रदेश अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै ओलीले सरकारले एमाले विरुद्ध आरोप लगाएर गलत प्रचार गर्ने तर भ्रष्टाचारमा संलग्न सत्तारुढ दलका नेता र आफ्ना आसेपासेलाई गुपचुप बनाउने काम गरिरहेको आरोप लगाएका हुन्।

सुन तस्करीमा संलग्न सत्तारुढ दलका नेताको बयान समेत नलिएको भन्दै ओलीले भने ‘भ्रष्टाचारतीरको मेरो अभियान रोकिन्न भने हुन्छ, विरुद्ध हटाए हुन्छ। साढे ९ किलो सुन आयो र हरायो रे, फेरी भेटियो, जसले एउटा आइटममा क्विन्टलका क्विन्टल सुन ल्याउँछ, तर सरकारले अनुसन्धान गर्न सक्दैन, कति घिनलाग्दो तमासा’ उनले भने। अहिलेको सरकार भ्रष्टाचार विरोधी नभई भ्रष्टाचार मैत्री रहेको उनले बताए।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले देशमा भएका ठुला भ्रष्टाचारमा आफ्नो पार्टीको कुनै संलग्नता नभएको दाबी गर्दै सके छानबिन गरेर देखाउन सरकारलाई चुनौती समेत दिए।

यती, वाइडबढी, ललिता निवास जस्ता प्रकरणमा एमालेको नाम जोडेर बदनाम गर्न खोजिएको भन्दै उनले बरु त्यसमा काँग्रेस माओवादीको संलग्नता भएको जिकिर गरे। यति प्रकरणलाई दरबारको पालादेखि खोजेर ल्याउनु पर्ने उनको भनाइ थियो।

‘दरबारले विदेशीलाई भाडामा दिइएको गोकर्णको जंगल नेपालीले पाउनु पर्छ भन्ने लडाइमा ठुला घरानाको लडाइ पर्दा सोझो शेर्पाले बढी पैसा तिरेर आफ्नो नाममा ल्याएको हो’ उनले भने।

यति होल्डिङ्गलाइ क–कसका पालामा दिइयो भनेर खोजी गर्न चुनौती दिँदै  ओलीले भने ‘सुशील कोइराला प्रधानमन्त्री हुँदा विदेशीबाट यति होल्डिङ्गसले लिन पाउने निर्णय भयो, दरबार मार्गको भवन पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला लिजमा दिइयो, सोल्टी होटल छेउको जग्गा दिने शेरबहादुर देउवा हुन।’

एमालेलाई सतही आरोप नलगाउन चेतावनी दिँदै ओलीले वाइडबडी काण्ड खोजेर जेल जान पनि सुझाव दिए। ललिता निवास प्रकरणमा पनि आफ्नो पार्टीको संलग्नता नभएको भन्दै कोही संलग्न पाइए एमालेमा नरहने बताए। उनले ललिता निवास प्रकरणमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई चोख्याउन खोजेको आरोप लगाए।

एमाले बाहेक कसैले पनि देशको नेतृत्व गर्न नसक्ने भन्दै उनले गठबन्धन सरकारसँग देश र जनताका लागि कुनै खालको भिजन नभएको दाबी गरे। एमालेका पालामा भएको विकास निर्माणका कामहरु सबै ठप्प भएको भन्दै उनले वर्तमान सरकारले बबुलको रुख रोपेर स्याउ खोज्ने गरेको बताए।

ओलीले लुम्बिनीको नृतत्व सर्वसम्मत बनाउन प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरुलाइ निर्देशन समेत दिए। पार्टीको नेतृत्वमा धेरै नेताहरु लुम्बिनीबाटै रहेको भन्दै उनले आपसी समझदारीमा नेतृत्व टुंगो लगाउन मञ्चबाटै आग्रह गरेका थिए।

थुप्रै नेताहरु रहेको प्रदेशमा हल्ला चलाइए जस्तो विवाद बाहिर आउन नहुने भन्दै सहमतिको निर्देशन दिए।

‘तपाईँहरू आज बसेर सहमति गर्नुस्, म भोली घोषणा गरेर जान्छु’ ओलीले भने ‘लुम्बिनीबाट सिंगो देशवासीलाई ,पार्टी कमिटीलाई सन्देश दिनु पर्नेछ यो पार्टीको क्लियरक कुरा हो।’

प्रकाशित: १६ भाद्र २०८० १४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App