आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट दश लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् ।
कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेसहितलाई जोडेर कुल मतदाता संख्या दश लाख ३७ हजार दुई सय ५० पुगेको हो। जुन २०७९ को निर्वाचनको तुलनामा एक लाख २८ हजार आठ सय १७ ले बढी हो । जसमा पुरुष पाँच लाख २७ हजार आठ सय ८६ र महिला पाँच लाख नौ हजार तीन सय ६१ मतदाता छ। अघिल्लो निर्वाचनमा कर्णालीमा ९ लाख ८ हजार ४ सय ३३ मतदाता थिए।
यो निर्वाचनमा सबैभन्दा बढी मतदाता सुर्खेतमा दुई लाख ४८ हजार नौ सय ४३ छन् । जसमध्ये पुरुष १ लाख २१ हजार ८ सय ८९, महिला १ लाख २७ हजार ५४ जना छन् । सबैभन्दा कम डोल्पामा २४ हजार एक सय १५ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
सल्यानमा एक लाख ६२ हजार ४४९, दैलेखमा एक लाख ६१ हजार २०४, जाजरकोटमा एक लाख सात हजार ९१, रुकुम पश्चिममा एक लाख छ हजार ६६०, कालीकोटमा ८४ हजार ६४६ मतदाता छन् । यस्तै जुम्लामा ७१ हजार ७३९, मुगुमा ३६ हजार ३१ र हुम्लामा ३४ हजार ३७२ मतदाता रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
प्रदेशमा रहेका १० जिल्लाका लागि नौ सय ४१ मतदानस्थल र एक हजार ४३७ मतदान केन्द्र रहेको सूचना अधिकारी चौलागाईंले जनाए।

प्रकाशित: २१ पुस २०८२ १८:०९ सोमबार





