१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बैठक सञ्चालनका लागि सङ्ख्या नपुगेपछि भदौ १८ गतेसम्मका लागि संसद स्थगित

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक अर्को सातासम्मका लागि स्थगित भएको छ।  

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’माथिको सैद्धान्तिक छलफल गर्ने क्रममा सांसदहरू बैठकबाट हिँडेसँगै बैठकका लागि आवश्यक पर्ने एक चौथाइ सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको हो।

सभामुख देवराज घिमिरेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई निर्णयार्थ प्रस्तुत गर्न लागेपछि रास्वपा सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाउँदै गणपूरक सङ्ख्या नपुग्ने भन्दै सांसदहरूको गणना गर्न माग गरेकी थिइन्। यस्तै एमाले सांसद दामोदर पौडेल वैरागीले पनि गणपूरक सङ्ख्यामाथि प्रश्न उठाउँदै सो विधेयकको विषयलाई अघि नबढाउन आग्रह गरेका थिए।  

सभामुखले ३ मिनेट घण्टी बजाएर सांसद सङ्ख्या गणना गर्न लगाउँदा बैठक सञ्चालनका लागि कम्तीमा ६९ जना सांसद हुनुपर्नेमा ५९ जना मात्र रहेका थिए।  

त्यसपछि सभामुख घिमिरेले गणपूरक सङ्ख्या नपुगेकोले सदनको बाँकी कार्यसूची स्थगित गर्दै बैठक एक सातापछि अर्थात भदौ १८ गते दिनको १ बजे बस्ने गरी स्थगित गरेका छन्।

मङ्गलवार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सांसदहरूको राम्रै उपस्थिति रहेपनि विधेयक पेश गर्ने समयमा सांसदहरू निस्केका थिए।  

प्रकाशित: १२ भाद्र २०८० ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App