८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

तालिमका लागि ४० प्रतिशत कमिसन: मेयर सिंह

वीरगन्ज महानगरको सामाजिक शाखाबाट ४० प्रतिशत कमिसन लिई तालिम हुने गरेको महानगरका मेयर राजेशमान सिंहले खुलासा गरेका छन्। शुक्रबार विमेन्स स्किल सेन्टर वीरगन्जले आयोजना गरेको १०औं वार्षिकोत्सव कार्यक्रममा मेयर सिंहले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि सिंहले स्किल डेभलपमेन्टको सवालमा महानगरको सामाजिक शाखाबाट नाम मात्रको तालिम भइरहेको र शाखाका कर्मचारीले ४० प्रतिशत कमिसनमा विभिन्न तालिमको आयोजना गरिरहेकाले त्यस्तो कार्यक्रम प्रभावकारी नहुने बताए।

महिलाको क्षमता विकासका लागि १५ दिने र १ महिने तालिमभन्दा पनि लामो समय प्रभाकारी रूपले सिपमूलक तालिम आयोजना गरे मात्र महिला सक्षम हुने मेयर सिंहको। ‘जसको कसैले बराबरी गर्न सक्दैन उसैको बदनामी सुरु हुने गरेको छ’ भन्दै मेयर सिंहले वीरगन्जमा भइरहेका राम्रा काम नपचेकाहरूले महानगरलाई विवादित बनाएर काम गर्न नदिने षड्यन्त्रमा लागेको बताए।

अहिले महानगरले सहजा बाटो निर्माण गरिरहँदा स्थानीय तहहरूले विरोध गरिरहेको तर यसबाट आउँदा दिनमा जमिनको सतहमा पानी रिचार्ज हुने भएकाले यो विधिको सडक प्रभावकारी हुने उनले बताए।

‘सिप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ विमेन्स स्किल सेन्टरले आयोजना गरेको कार्यक्रममा उद्यमी महिला तथा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी तथा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुबोध गुप्ताको सहभागिता रहेको थियो।

कार्यक्रममा स्किल सेन्टरले शारीरिक रूपमा अशक्त तीनजनालाई ह्विल चेयर प्रदान गरेको थियो। सेन्टरले महिलाका विषयमा विगत १० वर्षदेखि सिपमूलक तालिम आयोजना गर्दै आएको सेन्टरकी अध्यक्ष चन्चला दासले बताइन्।

प्रकाशित: १० भाद्र २०८० ०१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App