१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीश श्रेष्ठले सम्हाले कार्यभार

सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार कार्यभार सम्हालेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग मंगलबार  पद तथा गोपनीयताको शपथ लिएपछि श्रेष्ठले कार्यभार सम्हालेका हुन्। संसदीय सुनुवाई समितिले श्रेष्ठको नाम अनुमोदन गरेपछि संविधानको धारा १२९ को उपधारा २ अनुसार राष्ट्रपति पौडेलले सोमबार उनलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए। प्रधानन्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुन्छ।  

अस्थायी अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका श्रेष्ठ सर्वोच्च अदालतका ३१औं प्रधानन्यायाधीश बनेका छन्। १५ दिनयता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका श्रेष्ठ न्याय सेवामा प्रवेश गरेको ४१ वर्षपछि न्यायपालिका प्रमुख बनेका हुन्।

२०१६ साल असोज २० गते डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ २०३८ चैतमा अस्थायी शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका हुन्। उनले कानुन मन्त्रालयबाट जागिर सुरु गरेका थिए। श्रेष्ठ २०५० चैतमा उदयपुर जिल्ला न्यायाधीशमा नियुक्त भए। उनी उदयपुरसँगै विभिन्न जिल्ला अदालतको न्यायाधीश हुँदै उच्च अदालत हेटौंडामा मुख्य न्यायाधीश भए। २०७० सालमा उच्च अदालतमा प्रवेश गरेका श्रेष्ठ २०७३ साउनमा सर्वोच्च अदालतको न्यायाधीश भए।  

संवैधानिक परिषद्ले गत साउन १८ मा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशका रूपमा श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि उनी सो पदमा नियुक्त भएका हुन्। श्रेष्ठले संविधान र कानुनमा परिधिमा रही सेवाग्राहीको हितमा काम गर्ने बताएका छन्। २०८१ असोजसम्म न्यायालयको शाख बढाउने जिम्मेवारी श्रेष्ठको काँधमा आएको छ।

प्रकाशित: ६ भाद्र २०८० ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App