१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

किचलोको पर्याय कोसी

कोसी प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत कानुनसम्मत नभएको भन्दै विरोधमा उत्रिएका एमाले सांसद । तस्बिरः नागरिक

कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत विवादमा परेको छ। थापाले सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मत लिन राखेको प्रस्तावको पक्षमा ४७ र विपक्षमा ३० मत परेको सभामुखको भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका सांसद इस्रायल मन्सुरीले घोषणा गरेका थिए। बैठकको अध्यक्षता गरेका मन्सुरीले समेतले पक्षमा विश्वासको मत दिएका थिए। मन्सुरीलाई समेत मतदान गर्न लगाइएपछि विपक्षी दलका सांसदहरूले बैठकमै नाराबाजी गरेका थिए। विपक्षी सांसदहरूको नाराबाजीकै बीचमा सभामुख मन्सुरीले मत परिणाम सार्वजनिक गरेका थिए।

उपसभामुख सिर्जना दनुवार प्रदेशसभामा उपस्थित नभई काठमाडौं लागेपछि नेपाली कांग्रेसका सांसद तथा अध्यक्ष मण्डलका सदस्य मन्सुरीले प्रदेशसभा सञ्चालन गरेका थिए। बिरामीको बहानामा उपसभामुख दनुवारलाई काठमाडौं पठाएको आरोप प्रतिपक्षी दल एमालेलाई लगाइएको छ। सत्तारूढ गठबन्धनलाई ४७ मत मात्रै रहेका कारण सो संख्या पुर्याउन सभाध्यक्ष मन्सुरीलाई समेत मतदान गर्न लगाइएको थियो। सभामुखको भूमिकामा रहेका मन्सुरीले अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई सभाध्यक्ष बस्न लगाएर मतदान गरेका थिए। सभामुखको भूमिका निर्वाह गरिरहेका मन्सुरीले मुख्यमन्त्रीको पक्षमा मतदान गरेपछि प्रदेशसभा केहीबेर अशान्त बनेको थियो। एमालेका सांसदहरूले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए। मन्सुरीले मतदान गरेको विषयले कोसी प्रदेशमा पुनः विवाद सिर्जना गरेको छ।

सभामुखको जिम्मेवारी सम्हालेका मन्सुरीलाई मतदान गर्न लगाएको विषय कानुनविपरीत नभएको कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले बताए। आफैंले बोलाएको प्रदेशसभा बैठक छलेर उपसभामुख भागेका कारण यस्तो परिस्थिति आएको थापाको भनाइ छ। उनले मन्सुरी सभामुख, उपसभामुख केही पनि नभएका कारण जबर्जस्ती सभामुखको जिम्मेवारीमा पुर्याउने उपसभामुखले नै उत्पन्न परिस्थितिको जिम्मेवारी लिनुपर्ने स्पष्ट पारे। ‘सभामुखको हैसियतले नभई सांसदको हैसियतले मतदान गरेका कारण मन्सुरीले गरेको मतदान विधिसम्मत छ,’ थापाले भने। सभाध्यक्षलाई प्रयोग गरेर विश्वासको मत लिएपछि मुख्यमन्त्रीले लिएको विश्वासको मत विवादमा परेको हो। प्रतिपक्षी एमालेले संविधान र कानुनविपरीतको गतिविधि सत्तापक्षबाट भएका कारण राजनीति र कानुनी दुवै खालको उपचार खोज्ने जनाएको छ।  

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले एमालेले राजनीतिक र कानुनी दुवै खालको उपचार खोज्ने बताए। कार्कीले भने, ‘संविधान, कानुन र विधि मिच्ने काम सत्तापक्षबाट बारम्बार भएको छ। आज पनि भएका कारण राजनीतिक र कानुनी दुवै खालको उपचार खोज्छौं।’

कोसी प्रदेशसभामा सत्तारूढ गठबन्धनमा ४७ सांसद छन्। जसमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक सदस्य छन्। यस्तै विपक्षी गठबन्धनमा नेकपा एमालेका ४० र राप्रपाका ६ सांसद छन्। ९३ जना सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते नै विश्वासको मत लिन चाहेका थिए। तर उपसभामुख सिर्जना दनुवारले भदौ ४ गतेलाई समय दिएकी थिइन्।

आफैंले दिएको समयमा समेत उपस्थित नभई विपक्षी ९ जना ज्येष्ठ सदस्यहरूलाई समेत बिदामा राखेर दनुवार सोमबार बिहान ८ बजेलाई तोकिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत उपस्थित नभई बिरामी भएको बहाना बनाई प्लेन चढेर काठमाडौं लागेको आरोप सत्ता गठबन्धनले लगाएके छ। दनुवार काठमाडौं लागेपछि कोसी प्रदेशसभामा बिदाको जानकारी गराएकी थिइन्। साथै उनले कोसी प्रदेशसभाका अध्यक्ष मण्डलका सदस्य कांग्रेसका इस्रायल मन्सुरीलाई सभामुखको जिम्मेवारी तोकेकी थिइन्।

प्रकाशित: ५ भाद्र २०८० ०१:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App