५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

शर्मा आफैंले पुष्टि गरे अवैध छपाइ

वसन्त खड्का/विष्णुप्रसाद अर्याल 

काठमाडौं- साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले चलाखी गर्न खोज्दा कक्षा ११ को अनिवार्य नेपाली पाठ्यपुस्तक 'सबैको नेपाली' अवैध रूपमा प्रकाशन भइरहेको पुष्टि भएको छ। शर्माको स्वामित्वमा रहेको अल्पाइन अफसेट प्रेसमार्फत अवैध रूपमा छापेको 'सबैको नेपाली' पुस्तक आइतबार मध्याह्न साझा प्रकाशनको केन्द्रीय कार्यालयमा ल्याएपछि अवैध रूपमा छापिएको पुष्टि भएको हो।

अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको स्वामित्वमा रहेको अल्पाइन अफसेट प्रेसमार्फत अवैध रूपमा छापेको 'सबैको नेपाली' पुस्तक आइतबार मध्याह्न साझा प्रकाशनको केन्द्रीय कार्यालयमा ल्याएपछि उनले अवैध रूपमा पुस्तक छापेको स्पष्ट भएको हो।

साझाको लोगोमा अवैध पुस्तक प्रकाशित भइरहेको समाचार नागरिक र रिपब्लिकामा प्रकाशन भएपछि शिक्षा मन्त्रालय तथा संसद्को सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ।

शर्माले साझाको लोगोमा अल्पाइनबाट प्रकाशित पुस्तक साझामा ल्याएका थिए। नियमित प्रकाशन गरिरहेको प्रेसबाट पुस्तक ल्याउँदा शंका नहुने ठानेर शर्माले अवैध रूपमा छापेका पुस्तक अल्पाइनबाट साझामा ल्याएका थिए। तर कर्मचारीले पुस्तक अवैध भएको थाहा पाएपछि पुस्तकसहितको गाडी नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। शर्माले साझामा नेतृत्व सम्हालेयता साझाका पुस्तक अल्पाइनमा छाप्दै आएका छन्।

शर्माले अल्पाइनबाट साझामा ल्याएका झन्डै पाँच हजार पुस्तक २०७२ मा प्रकाशित छैटौं  संस्करणका छन्। ती पुस्तकको मूल्य २९९ रुपैयाँ राखिएको छ। साझाले २०७२ मा छापेका पुस्तकको मूल्य २४५ रुपैयाँ मात्र छ। 

साझाले ०७३ साउन १० देखि लागू हुने गरी उक्त पुस्तकको मूल्य २९९ राख्ने निर्णय गरेको थियो। साझामा ल्याइएका कतिपय पुस्तक विद्यार्थीबाट फिर्ता आएका समेत छन्। त्यस्ता पुस्तकमा विद्यार्थीको नाम तथा सेक्सनसमेत छ। २०७२ कै संस्करणका २९९ मूल्य निर्धारित पुस्तक जिल्लामा पठाइए पनि वर्ण विन्यास परिवर्तन भएका कारण पुराना पुस्तक अहिले प्रयोग नहुने भएपछि त्यस्ता पुस्तक विद्यार्थीबाट फिर्ता भइरहेको साझा स्रोतले जानकारी दिएको छ।

'शर्माले पुस्तकको मूल्य २४५ रुपैयाँ राखेको भए वा प्रकाशन मिति ०७३ राखेको भए हामीलाई पत्तै हुने थिएन, तर उनले अवैध कारोबार गर्दा पनि बुद्धि पुर्‍याएनछन्,' नागरिकसँग साझाका एक कर्मचारीले भने। पुस्तकको मूल्य बढाउने निर्णय नै नगरेको वर्षमा फरक/फरक मूल्यका पुस्तक प्रकाशित भएको पाइएपछि उनले अवैध रूपमा पुस्तक प्रकाशित गर्ने गरेको तथ्य खुलेको हो।

साझाको छानबिनका लागि गठित समिति तथा लेखा समितिले अनुगमन गर्दा साझाबाहिरका प्रकाशनमा अवैध पुस्तक फेला पर्ने डरले  शर्माले त्यस्ता हजारौं पुस्तक साझामा ल्याएका थिए।

यस विषयमा जिज्ञासा राख्दा महाप्रबन्धक शर्माले भने, 'यस्तो कसरी भयो म पनि अचम्ममा परेको छु, प्रेसले कसरी गल्ती गर्‍यो बुझ्नका लागि बोलाइरहेको छु।'

अवैध रूपमा प्रकाशित पुस्तक साझामा ल्याएपछि पुराना कर्मचारीले त्यसको विरोध गरेका थिए। साझाका पुराना कर्मचारीले अवैध पुस्तक प्रकाशित गरेको भन्दै विरोध गरिरहँदा शर्माले विनियमविपरीत करारमा भर्ना गरेका कर्मचारीले त्यसको प्रतिवाद गरेका थिए। शर्माको समर्थनमा उत्रिएका नयाँ कर्मचारी र विरोधमा रहेका पुराना कर्मचारीबीच विवाद हुँदा हात हालाहालको अवस्था उत्पन्न भएको थियो।

साझाको प्रांगणमा कर्मचारीबीच झडप भइरहँदा शर्माले आफ्नो कार्यालयको कौसीबाट रमिता हेरिरहेका थिए। पुराना कर्मचारीलाई लक्षित गर्दै उनी भन्दै थिए, 'यिनीहरूले साझा डुबाउने भए।'

लेखकले गरे प्रहरीमा उजुरी

साझाका पुस्तक अवैध रूपमा प्रकाशित भएको फेला परेपछि 'सबैको नेपाली' पुस्तकका लेखकहरूले अनधिकृत रूपमा प्रकाशित पुस्तकबारे छानबिन गर्न माग गरी महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएका छन्। लेखक महेश्वर न्यौपाने र रमेशप्रसाद भट्टराईले हस्ताक्षर गरेको उजुरीमा आठ जना लेखको नाम छ। उजुरीमा सबैको नेपाली अनधिकृत रूपमा फरक मूल्य राखी बिक्रीवितरण गर्ने उद्देश्यले अल्पाइन अफसेट प्रेसबाट साझा प्रकाशनमा ल्याएको उल्लेख गरिएको छ। उक्त पुस्तक साझाको नियमित प्रकाशनबाहिर रहेको हुँदा प्रतिलिपि कानुन तथा नियम उल्लंघन भएको भन्दै छानबिन गरेर मात्र प्रहरी नियन्त्रणमा रहेको पुस्तक साझामा बुझाउन आग्रह गरिएको छ।

प्रकाशित: २३ श्रावण २०७४ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App