९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

कोशी प्रदेश: विश्वासको मत रोक्ने विपक्षीको रणनीति

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिनबाट रोक्ने विपक्षी दलहरूले रणनीति बनाएका छन्।

विपक्षीदलहरू नेकपा एमाले र राप्रपाले आफ्ना ज्येष्ठ सदस्यहरूलाई अघिल्लो लिन नै बिदा लिन लगाएर मुख्यमन्त्री थापालाई विश्वासको मत लिन रोक्ने रणनीति बनाएका हुन्।

आइतबार ५ बजेसम्ममा प्रदेशसभा सचिवालयमा ७ जना सांसदले सोमबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। तर, कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले भने आइतबार साँझ सम्ममा बिदा लिने बारे जानकारी नदिएको कोशी प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए।

उनका अनुसार सभामुखको जिम्मेवारी निर्वाह गरिरहेकी उपसभामुख सृजना दनुवारले बिदा नलिए पनि प्रदेशसभा सदस्यहरू रोहितबहादुर कार्की, अम्बरबहादुर विष्ट, मालतिकुमारी लिम्बु, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत र ज्ञानेन्द्र सुवेदीले सोमबारको प्रदेशसभामा बैठकमा उपस्थित हुन नसक्ने प्रदेशसभा सचिवालयलाई जानकारी गराएका छन्।

सत्तारुढ नेपाली कांग्रेसले भने सोमबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउने दाबी गरेको छ। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले भने ‘सोमबारको प्रदेशसभा उपसभामुखले सञ्चालन गर्नुहुने भएकाले मुख्यमन्त्री थापाले विश्वासको मत पाउनुहुनेछ।’ राईले सत्तारुढ गठबन्धनसँग बहुमतका लागि आवश्यक ४७ जना सांसद रहेका कारण विश्वासको मतका लागि कुनै समस्या नरहेको स्पष्ट पारे।

यता नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मत लिनलाई विपक्षी दलले अवरोध नगर्ने बताए। उनले संविधान र कानुनको परिधि भित्र रहेर विश्वासको मत लिन एमालेले कुनै अवरोध नगर्ने स्पष्ट पारे। तर, सत्तारुढ गठबन्धनले विपक्षी दलहरूलाई समेत रिझाएर विश्वासको मत माग्नुपर्नेमा उपसभामुख उपस्थित नहुने, विपक्षीले रोक्ने जस्ता हल्लाहरू चलाएर वातावरण बिगार्दै लगेको बताए।

भण्डारीले भने ‘विपक्षी दलहरूलाईसमेत विश्वासमा लिने कोसिस सत्तारुढ दलहरूको हुनुपर्नेमा अनेक खालका हल्ला फिँजाएर विश्वासको वातावरण बिगार्दै लगिएको छ।’ कोशी प्रदेशसभामा सत्तारुढ गठबन्धनमा ४७ जना सांसदहरू छन्। जसमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सदस्य छन्।

यस्तै विपक्षी गठबन्धनमा नेकपा एमालेका ४० र राप्रपाका ६ जना सांसद छन्। मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकार गठनका लागि हस्ताक्षर गरेका तत्कालीन सभामुख बाबुराम गौतम हाल आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन्।

सभामुखले सरकार गठनमा पक्षधरता संविधान विपरीत रहेको सर्वोच्च अदालतको ठहर पछि सभामुख पदबाट राजीनामा दिएर सरकार गठनमा गौतमले सहयोग गरेका थिए। गौतमले सभामुख पदबाट राजीनामा दिएपछि कोशी प्रदेशसभामा सभामुखको पद खाली भएको छ।

सभामुखको जिम्मेवारी हाल उपसभामुख सृजना दनुवारले गरिरहेकी छन्। एमालेबाट निर्वाचित उपसभामुख भएका कारण उनलाई सोमबारको प्रदेशसभा बैठक सञ्चालनमा पार्टीले रोकेको खण्डमा उनी पनि अनुपस्थित हुने सम्भावना बलियो देखिएको छ।

प्रकाशित: ३ भाद्र २०८० १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App