१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

धरानमा डेंगी नियन्त्रण गर्न ६ राजनीतिक दलको माग

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै धरानका राजनीतिक दलका नेताहरु।

धरानका राजनीतिक दलहरुले डेंगु महामारी नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

धरानका विभिन्न ६ राजनीतिक दलका नेताहरु, प्रदेशसभा सदस्य, पुर्व जनप्रतिनिधिहरुसहितको टोलीले शनिबार विराटनगरमा मुख्यमन्त्री उद्धव थापा, स्वास्थ्य मन्त्री निर्मला लिम्बुलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन्।

उनीहरुले डेंगु नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्य समग्रीहरुको लिस्ट बुझाउँदै चाँडो उपलब्ध गराउन पनि माग गरेका छन्। सोही टोलीले प्रदेशसभाका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता हिक्मत कार्कीलाई पनि भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन्।

धरानका प्रमुख ६ राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एस र राप्रपाले प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो। पार्टीका नेताहरुसँगै पूर्व प्रतिनिधिसभा सदस्य जयकुमार राई, पूर्व धरान नगर प्रमुख तिलक राई, प्रदेश सांसदहरु रमेश बस्नेत, विजय राई, यशोदा कायस्थ, ममता तामाङ पनि डेलिगेशन टोलीमा सहभागी थिए।

कांग्रेस धरानका सभापति श्याम पोख्रेलले डेंगु नियन्त्रणमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै स्वास्थ्य सामग्री माग गरिएको बताए।

‘भेट एकदमै सकारात्मक भएको छ। मुख्यमन्त्री ज्युले सामग्रीहरु चाडै पठाइदिन्छौं भन्नुभएको छ,’ उनले भने।

राजनीतिक दलहरुले जिल्ला विपद् व्यवस्थापन समितिले जनस्वास्थ्य संकटकाल घोषणा गर्न सिफारिस गरिसकेको र डेंगुले विकराल अवस्था भएपनि स्थानीय सरकार प्रमुख भने केही नभएजस्तो दम्भ र अहंकारपुर्ण अभिव्यक्ति दिँदै बसेको पनि बताएका छन्।

मुख्यमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘डेंगुका कारण केवल १, २ जना मात्रै मृत्यु भएको अरू दीर्घ रोगी मात्रै मृत्यु भएको भन्ने जस्ता गैर जिम्मेवार अभिव्यक्ति दिइरहेका छन्।’

धरानका राजनीतिक दलहरुले आफ्नै बलबुताले बिरामीको उपचार र डेंगु नियन्त्रणको प्रयास गरिरहको भन्दै दलहरुबाटै निर्वाचित जनप्रतिनिधिहरुले पनि वडामा निःशुल्क उपचार शिविर चलाएको पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ। डेंगु महामारी नियन्त्रणको लागि भइरहेको प्रयासहरु पर्याप्त नभएको भन्दै दलहरुले प्रदेश सरकार र संघीय सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग नहुनु दुःखलाग्दो कुरा भएको पनि उल्लेख छ।

डेंगु नियन्त्रणमा समन्वय अभाव

गत जेठ २३ यता मात्र धरानमा डेंगु संक्रमित ११ जनाको निधन भइसकेको छ । ती मध्ये २ जना बालबालिका छन्। साउन ११ गते १० बर्सिया बालिकाको मृत्यु भएको थियो भने साउन २९ गते ९ बर्षीय डेंगु संक्रमित बालकको मृत्यु भएको छ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार शनिबारसम्म १७ हजार १०३ जनाको डेंगु परीक्षण हुँदा १२ हजार ३९६ जनाको रिपोर्ट पोजेटिभ छ। यो तथ्यांकले धरानमा डेंगु संक्रमणको दर ७२ प्रतिशत रहेको देखाउँछ। धरानको २० वटै वडामा डेंगु महामारी फैलिएको छ। प्रायः प्रत्येक परिवारमा केही न कोही डेंगु संक्रमित बिरामी भएका छन्। एकै परिवारका ९ जनासम्म डेंगुका बिरामी भेटिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता बताउँछन्।

डेंगुले यसरी महामारीकोरुप लिइसक्दा पनि नियन्त्रणको लागि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारबीच आवश्यक समन्वय र सहकार्य हुन सकेको छैन। तीन तहको सरकारबीचमा मात्र होइन, नगरको नेतृत्वले वडाका जनप्रतिनिधि, राजनीतिक दलहरु र टोल विकास संस्था (टिएलओ) हरुबीचमा पनि समन्वय र सहकार्य अभावले डेंगु नियन्त्रणको अभियान प्रभावकारी हुन सकेको छैन, र परिणाम पनि निस्किएको छैन।

स्वतन्त्रबाट निर्वाचित मेयर हर्क साम्पाङ र राजनीतिक दल, वडाका जनप्रतिनिधि, टिएलओका अगुवाहरु सहकार्य गर्न छोडेर आरोप प्रत्यारोपमा सीमित छन्। स्वास्थ्य महाशाखा प्रमुख मेहता सहकार्य र समन्वय अभावकै कारण डेंगु नियन्त्रण प्रभावकारी हुन नसकेको स्वीकार गर्छन्। 

‘राजनीतिक दल र टिएलओहरुलाईहामीलाई समेटेन भन्ने गुनासो छ, तर उहाँहरु आफै पनि परिचालन हुनुपर्ने हो, त्यो देखिएको छैन,’ मेहताले भने,‘सबैले आफ्नो क्षेत्रमा मात्र सर्च एण्ड डिष्ट्रोय गरिदिने हो भने नियन्त्रणमा आउँछ। यस्तो बेला मेयर, स्वास्थ्य महाशाखाले केही गरेन भन्दा पनि आफैले नेतृत्व लिए राम्रो हुन्थ्यो।’

मेयर साम्पाङ दैनिक बेलुकी ४ बजे विभिन्न चोकहरुमा लामखुट्टेको लार्भा मार्न भन्दै सर्च एण्ड डिष्ट्रोय अभियान लिएर पुग्छन्। उनको साथमा स्वास्थ्य महाशाखाका केही कर्मचारी पनि हिँड्छन् । तर, उनको अभियानमा एकाध बाहेक सम्बन्धित वडाका जनप्रतिनिधिहरूको पनि उपस्थिति देखिँदैन। यद्यपि, केही वडा कार्यालयहरुले पनि आफ्नो तहबाट डेंगु नियन्त्रण र बिरामीको निःशुल्क उपचारको व्यवस्था पनि गरेका छन्।

राजनीतिक दलबाट निर्वाचित वडा अध्यक्ष र राजनीतिक दलहरुसँग पनि मेयरमा निर्वाचित भएदेखि नैसाम्पाङको सम्बन्ध राम्रो छैन। डेंगु नियन्त्रणबारे एक पटक ठोस योजना विना सामान्य संवाद मात्र भएको एमाले धरानका अध्यक्ष हर्क एभेङ बताउँछन्।

‘उहाँले सबै दलहरूलाई बोलाउनुभयो, र आफ्नो कुरा राख्नुभयो। सर्च एण्ड डिष्ट्रोय अभियान चलाउने हो, सहयोग गर्नुपर्‍यो भन्नुभयो,’ उनले भने,‘त्यसपछि के योजना बन्यो, अभियानलाई कसरी अघि बढाउने हो भनेर समन्वय, सहकार्य केही भएको छैन। उहाँ एक्लै अघि बढी रहनुभएको छ, र राजनीतिक दल, टिएलओहरुलाई गाली मात्र गरिरहनुहुन्छ।’

सुनसरी प्रदेशसभा १ (क) का सांसद रमेशकुमार बस्नेतले प्रदेशसभा बैठकमा डेंगु महामारीमा तीन तहको सरकार के गर्दैछ भनेर थाह पाउन नसकिएको भन्दै ध्यानाकर्षण गराएका थिए। उनले पनि एकीकृत र समन्वयात्मक प्रयत्नको अभाव रहेको औँल्याएका थिए । ‘धरानमा डेंगुको अवस्था भयावह भएपनि तीन सहको सरकार कहाँ के गर्देछ भन्ने थाह छैन। जनता सरकार विहीन अवस्थाबाट प्रताडित बनेका छन्,’उनले भने,‘त्यस कारण एकीकृत र समन्वयात्मक प्रयत्नको अभावमा थप जनता मरेर वंगलादेशको अवस्था आउन नदिनको लागि जनस्वास्थ्य आपतकालिन अवस्था घोषणा गर्नुपर्छ।’

प्रकाशित: २ भाद्र २०८० १५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App