२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न पद्धति नै बदल्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसको इलाम नगर सम्मेलनमा कांग्रेस महामन्त्री गगन थापा।

नेपाली कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नै नसकिने अवस्था रहेको बताएका छन्। तर, उनले गुटबन्दी रोग नभई लक्षण भएको बताए। 

कांग्रेस इलाम नगर समितिको सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले पार्टीको आउँदो महाधिवेशनले उम्मेदवार छनोटको प्रक्रिया बदल्ने र त्यसपछि गुटबन्दी अन्त्य भएर जाने विश्वास व्यक्त गरे। स्थानीय तहदेखि संसदीय निर्वाचनमा उम्मेदवार बन्ने÷बनाउने प्रणाली परिवर्तन गरेपछि मात्रै गुटबन्दी अन्त्य भएर जाने उनको भनाइ छ। ‘गुटबन्दीको उपचार गरौँ, यो हटाऔँ भनेर सबैले भन्छन् तर त्यो हामी गर्न सक्दैनौँ,’ उनले भने, ‘किनभने, हाम्रो पार्टीको डिजाइन नै कसरी बनेको छ भने गुट नबनीकन पार्टी नचल्ने डिजाइन छ।’

उनले गुटबन्दीलाई ‘बदल्ने तरिका’ पनि बताए। त्यसका लागि पार्टीको क्रियाशील सदस्यता वितरण र चुनावमा उम्मेदवार छनोट प्रक्रिया परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। ‘महाधिवेशनको वर्ष क्रियाशील सदस्यता बाँड्ने गरिएको छ, त्यो पाइँदैन। यो पटक आउँदो २०८२ मंसिर–पुसतिर पार्टी अधिवेशन हुन्छ, कसैले सार्न सक्दैन,’ उनले भने, ‘अब २०८२ वैशाखपछि कसैले क्रियाशील सदस्यता बाँड्न पाउँदैन। क्रियाशील सदस्यता मेरो यति जना–उसको उति जना भनेर हिसाब–किताब गरेर बाँड्न पनि पाइने छैन।’  

थापाले पार्टीभित्रको गुटबन्दी अन्त्यका लागि अबको महाधिवेशनपछि चुनावमा उम्मेदवार केन्द्रले होइन, पार्टीको सम्बन्धित इकाईले नै छान्ने व्यवस्था गर्ने पनि बताए। ‘हामी चुनावमा उम्मेदवार बन्न चाहन्छौँ, गुटबन्दी गरियो भने पार्टी सत्तामा पुग्न सकिन्छ भन्ने हाम्रो चाहना हुन्छ, यो स्वभाविक पनि हो,’ उनले भने, ‘तर, किन यी सबै गडबडी भइरहेका छन् ? किन गलत भइरहेको छ भने हाम्रो जुन प्रक्रिया र पद्धति छ, यसलाई बदल्नुपर्छ।’ 

उनले आफूहरूले काँग्रेसलाई विधानसम्मत उभ्याउने प्रयास गरिरहेको बताए। ‘लामो समयदेखि कांग्रेस विधानसम्मत हिँड्ने कुरामा अल्मलिएको थियो,’ थापाले भने, ‘हामीले बिस्तारै सुधारले ल्याइरहेका छौँ। यो प्रयासमा तपाईँहरूको पनि साथ चाहिन्छ।’ 

प्रकाशित: २ भाद्र २०८० १०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App