१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालले सम्पादकहरूसँग भने, ‘बालुवाटारमा गरेको सहमति बानेश्वरमा पुग्दा तोडिन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले बालुवाटारमा गरेको सहमति बानेश्वरमा पुगेर तोड्ने गरेको आरोप लगाएका छन्।

उनले मङ्गलवार सम्पादकहरूसँगको भेटघाटमा यस्तो आरोप लगाएका हुन। ‘उहाँले बालुवाटारमा बसेर एउटा सहमति गर्नुहुन्छ अनि बानेश्वर पुग्दा नपुग्दै तोड्नु हुन्छ’, प्रधानमन्त्री दाहालले भने।

अध्यक्ष ओलीकै आग्रहमा एमालेलाई तीन÷तीन वटा संसदीय समितिको सभापति दिइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘संसद्मा ३र३ वटा सभापति दिइसक्दा पनि हुदैन्। बालुवाटारमा हुन्छ भन्नुहुन्छ तर बानेश्वरमा पुग्दा कुरा मिल्दैन।’  

उनले सुन प्रकरणमा प्रहरी प्रशासन र राजनीतिका ठुला मान्छेहरू समेत संलग्न रहेको उल्लेख गर्दै भने, ‘त्यसैले यी मुद्दालाई गम्भीर रूपमा लिएका छौँ। र, यसको छानबिन हाम्रो लागि अवसर पनि हो।’

प्रधानमन्त्री दाहालले  ललिता निवासको जग्गा मात्र नभई देशभर सरकारी जग्गा हडप्ने काम भइरहेको पाइएको र त्यसलाई पूर्ण रूपले बन्द गर्ने गरी कारबाहीको काम भइरहेको पनि उल्लेख गरे। ‘ललिता निवासको मात्र होइन। देशभर सरकारी जग्गा हडप्ने भइरहेको छ। त्यसलाई सधैँका लागि रोक्ने गरी कारबाही प्रक्रिया अघि बढाएका छौँ’, उनले भने।

दाहालले सरकारको ‘भ्रष्टाचार विरुद्धको अभियान’ बिथोल्ने प्रयास भइरहेको पनि बताए। ‘हामीले भ्रष्टाचारको विरुद्धमा काम गरिरहेका छौँ। तर यो काम हुन नदिने र कुनै कुनै हिसाबले रोक्न खोजिएको छ’, प्रधानमन्त्री दाहालले मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरूसँग भएको छलफलमा भने।

उनले हिजो जसले पटक–पटक संसद् विघटन गरेको थियो त्यसैको निरन्तरता स्वरूप अहिले संसद् अवरुद्ध गर्ने काम भइरहेको समेत उल्लेख गरेका छन्। ‘हिजो जसरी पटक पटक संसद् विघटन गरिएको थियो। अहिलेको संसद् अवरुद्धलाई पनि हामीले त्यसैको निरन्तरता हुनसक्ने रूपमा बुझेका छौँ’, प्रधानमन्त्री दाहालले सम्पादकहरूसँग भने।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विगत २० दिनदेखि सुन प्रकरण छानबिनका लागि ‘उच्च स्तरीय छानबिन समिति’ गठनको माग राख्दै संसद् अवरुद्ध गर्दै आएको हो।

यसैगरी प्रधानमन्त्री दाहालले आम नागरिक तथा उपभोक्ताहरूका गोप्य सूचना कुनैपनि हालतमा दुरुपयोग हुन नदिने प्रतिवद्घता पनि जनाएका छन्। ‘जुनसुकै प्रविधि आएको भएपनि हामीले नागरिकका गोप्य सूचना दुरुपयोग हुन दिने छैनौँ’, उनले भने।

प्रकाशित: ३० श्रावण २०८० १२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App