८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

सत्ता टिकाउनकै लागि सरकारले अनुचित सम्झौता गर्दैन: सांसद दाहाल

प्रेस सेन्टर सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सांसद लेखनाथ दाहाल । तस्बिर :अनिल भण्डारी/नागरिक

संघिय सांसद लेखनाथ दाहाल(राजन)ले नेपाली काँग्रेसबाट निर्वाचित सांसद डाक्टर सुनिल शर्मा पक्राउमा सरकारको कुनै हात नभएको बताएका छन् । सुनिल शर्मा पक्राउ  गर्न सरकारको निर्देशन होइन उनले भने, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको नियमित प्रक्रिया अन्तर्गत पक्राउ परेका हुन् । सांसद शर्माको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्ने प्रमाणका आधारमा सिआइवीले पक्राउ गरेको उनले बताए । 

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाटमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज समेत रहेका दाहालले सांसद शर्मा निर्दोष नभएकाले सिआइवीले गिरफ्तार गरेको स्पष्ट पारे । सरकारले नेपाल प्रहरी सहित संवैधानिक निकायलाई स्वतन्त्र रुपमा आफ्नो काम गर्न निर्देशन दिएको छ, उनले भने, काम गर्ने क्रममा विभिन्न भ्रष्टाचारका फाइल खोल्ने काम सहित विगतमा उम्किएका दोषीलाई पक्राउ गरेर कारबाही  गर्न सुरु भएको बताए । लामो समयदेखि अड्किँदै आएको भ्रष्टाचारका फाइल सरकारले खोल्दै गएको उनको भनाई छ । सांसद दाहालले पछिल्लो समय सुन प्रकरणलाई लिएर प्रतिपक्षी दलले संसद अवरुद्ध गर्दै आएको बताउँदै उच्चस्तरीय छानबिन समिति भन्दै तस्करहरूलाई बचाउन एमाले नै लागेको आरोप लगाए । विगतका छानबिन समितिलाई हेर्दा पनि काम प्रभावकारी देखिएको छैन, अनुसन्धान गर्ने र अभियोजन गर्न अधिकार सिआइवीसँग छ, हामीले सिआइवीलाई छानबिन गर्न भनेका छौ उनले भने, दोषी देखिए कोहिपनि उम्कन सक्दैन । गृहमन्त्री र अर्थमन्त्रीकै संलग्नता देखिए पनि कारबाही हुने उनले बताए । अनुसन्धानले जो दोषी देखिन्छ, त्यो कारबाहीमा पर्छ उनले भने यो वा त्यो वहानामा उम्कन अब सक्दैन । 

उनले सुन काण्डले सरकार टिक्छ वा टिक्दैन भन्नेमा भन्दा पनि निष्पक्ष छानबिनमा सरकार लागि परेको बताए । उनले यो अनुसन्धान पछि सुन तस्करहरू मौलाउन नसक्ने गरि अनुसन्धान हुने बताए । सत्ता टिकाउनकै लागि सरकारले अनुचित सम्झौता गर्दैन, उनले भने, सुन तस्करीमा जोडिएर माओवादी पार्टीका नेताहरुको नाम सञ्चारमाध्यममा आए पनि छानबिन गर्नुपर्ने आधिकारिक प्रमाणहरू हालसम्म नपाइएकाले प्रहरीले छानबिनको दायरामा नल्याएको बताए । हामी आफैले सिआइवीलाई सोधेका छौ, नाम जोडिएपछि छानबिन गर्नपर्छ भनेका हौ, तर उचित प्रमाण बिना छानिबिन गर्ने कुरा हुँदैन उनले भने । भ्रष्टाचारका फाइल खोल्दा माओवादीका नेताहरुको नाम कम पर्नुमा माओवादी राजकीय सत्ता र सामाजिक सत्तामा बसेर काम गरेको धेरै समय नै नभएकाले पनि कम मुछिएको स्पष्ट पारे । राजकीय सत्ता र सामाजिक सत्तामा बस्दा गलत नियत राखेर काम गर्ने सबै जेल जानुपर्ने उनको भनाई छ । 

प्रकाशित: २७ श्रावण २०८० १४:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App