१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको बैठक: सांसद शर्मालाई प्रतिशोधको भावनाले पक्राउ गरियो

फाइल तस्बिर

नेपाली कांग्रेस संसदीय दलले आफ्नो पार्टीका सांसद सुनील शर्मा पक्राउ अनुचित र आपत्तिजनक रहेको ठहर गरेको छ।

नयाँ बानेश्वरमा शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसद शर्मा पक्राउ अप्रत्यासित र आपत्तिजनक रहेको र यदि मन्त्रीको राजीनामा माग गरेकै आधारमा पक्राउ गरेको भए प्रतिशोधको भावना भएको ठहर गरेको हो।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद श्याम घिमिरेले पार्टीका सांसद डा. सुनिल शर्मालाई प्रतिशोधको भावनाले पक्राउ गरिएको बताएका छन्।

उनले सुन तस्करी प्रकरणमा मन्त्रीहरुको राजीनामा मागेको प्रतिशोधमा डा. शर्मालाई पक्राउ गरिएको र यसबारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिनुपर्ने बताए। उनले संसद चलिरहेको बेलामा सांसदलाई पक्राउ गर्न नमिल्ने भन्दै अनुसन्धानका लागि बयान लिने बाटो रोज्न सक्नेमा त्यसो नगरी गिरफ्तार गर्नुले प्रतिशोध साँधेको स्पष्ट हुने बताए।

उनले भने, ‘डा. सुनिल शर्माको गिरफ्तारीको विषय उठेको छ। सबै सांसदहरुले उक्त विषय गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो। सामान्य केसमा यसरी संसद चलिरहेको बेलामा यसरी सांसदलाई पक्राउ गर्नु एक प्रकारको गैरकानूनी काम हो। गैरसंसदीय अभ्यास पनि हो। उहाँले यसभन्दा अघि केही मन्त्रीको राजीनामा माग्नुभयो, त्यही अभिव्यक्तिलाई लिएर पक्राउ गरिएको हो भन्ने यो प्रतिशोध प्रधानमन्त्री, गृहमन्त्री हुनुहुन्छ, उहाँले संसदमा यो जवाफ दिनुपर्ने थियो। कसले गरेको हो, किन गरियो? यो भन्दाअघि पनि अप्रेशन चलाइएको थियो, केही मानिसलाई धरौटीमा छोडियो, सबै छुटे पछि। संसद चलिरहेको बेलामा सांसदलाई यसरी गिरफ्तार गर्नुपर्ने बाध्यता किन भयो? यसका लागि कानूनी अन्य बाटो हुनसक्थे, बयान हुनसक्थ्यो। अरु बाटो हुनसक्थे तर उहाँलाई प्रतिशोधको भावनाले पक्राउ गरियो। यसको जवाफ गृहमन्त्रीले दिनुपर्छ।’

सांसद घिमिरेले सांसदलाई संसद चलिरहेको बेलामा पक्राउ गर्नु गैरसंसदीय अभ्यास भएको बताए। 

प्रकाशित: २६ श्रावण २०८० ११:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App