१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद्मा तिक्तता बढ्दै

प्रतिनिधिसभाको बैठक केही दिनदेखि लगातार अवरुद्ध हुँदा दैनिक कार्यसूचीमा प्रवेश हुन सकेको छैन। प्रतिनिधिसभाको बुधबारको बैठक प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गरेको छ। एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गरेपछि सत्तापक्षले विस्तारै प्रतिवाद गर्दै गएको छ। जसबाट संसद््मा सत्तापक्ष र एमालेबीच मुठभेड हुनसक्ने सम्भावित खतरा देखिएको छ।  

प्रमुख तीन दल प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्षबीच पटकपटक सदन खुलाउने विषयमा छलफल भए पनि निष्कर्ष आउन सकेको छैन। पछिल्लोपटक एमालेले सुनकाण्डमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ। यसअघि क्विन्टल सुनकाण्डमा एमालेले गृहमन्त्रीको राजीनामा माग गरे पनि अहिले सो माग गरेको छैन। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले एक पुस्तक विमोचन कार्यक्रममा सरदार प्रितम सिंहको प्रशंसा गर्दै आफूलाई एकपटक प्रधानमन्त्री बनाउन सिंहले पहल गर्ने क्रममा दिल्लीसमेत पुगेको बताएका थिए। यस विषयमा सदनमा स्पष्टीकरणको समय नदिइकनै प्रधानमन्त्रीको राजीनामा माग गरेको थियो। प्रधानमन्त्रीले सदनमा आएर स्पष्टिकरण दिएपछि राजिनामा माग गर्न एमालेले छाडेको थियो।

प्रमुख प्रतिपक्षी दल एमाले किन अप्ठेरो कुरा मात्र गरेर सदन अवरुद्ध गरेको छ भन्नेबारे एक विष्लेषकले भने, ‘यो सरकारले भ्रष्टाचार छानबिन गर्ने क्रममा हामीलाई सिध्याउन सक्छ भन्ने भय एमालेमा प्रमुख छ।’ तर एमालेका एक नेताले भने, ‘एमाले प्रमुख प्रतिपक्ष दल भएका कारण सरकारलाई खबरदारी गर्ने प्रभुख भूमिका निभाउनु पर्दछ। अनियमितता, बेथिति, भ्रष्टाचारविरोधी अभियानमा एमालेले सधंै सहयोग गर्छ। अहिले पनि सुन काण्डामा सहयोग गर्न खोजेको हो बिगार्न होइन।’ कांग्रेसका एक नेताले भने एमालेको भूमिका शंकास्पद रहेको बताए। उनले एमालेले सदनमा नकारात्मक रूपमा प्रस्तुत भइरहेको भन्ने कुराबारे सत्तापक्षले सुक्ष्म अनुसन्धान गरिरहेको बताए। सरकार फेर्न खोजेको हो भने पनि कांग्रेस र माओवादी केन्द मध्ये एक नभई कठिनाइ छ। ‘अहिले कांग्रेस एमालेसँग मिल्ने वातावरण छैन,’ उनले भने, ‘अब सदनमा एमालेले बन्धक बनाउने हो भने मुठभेड हुन पनि सक्छ।’

बुधबारको बैठकमा सभामुख देवारज घिमिरे संसद् अवरुद्ध गर्ने भए शून्य र विशेष समय दिएपछि मात्र गर्न एमालेलाई आग्रह गरेका थिए। तर बैठक सुरु हुनासाथ एमाले संसद्् अवरुद्ध गर्ने नीति लिएको थियो। बैठकको सुरुमा सांसद सूर्य थापाले सुन प्रकरण छानबिनबारे गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएकोले संसद् बैठक चल्न नसक्ने बताएका थिए उनले भनाइ राख्ने क्रममा सत्तापक्ष कांग्रेस र माओवादी केन्द्रका सांसदहरू उठेर एमालेको प्रतिवाद गरेका थिए। सत्तापक्षका सांसदले सबैलाई बोल्न दिनुपर्ने माग गरेका थिए। सत्तापक्षले होहल्ला गर्न थालेपछि सभामुखले सूर्य थापालाई भनाइ सुनिएन सक्नुस् भन्नासाथ एमाले सांसदहरूले सभामुख अघिको बेल घेराउ गर्न पुगेका थिए। केहीबेर नाराबाजी जारी राखेका थिए। उच्चस्तरीय छानबिन समिति गठन गर, तस्करलाई कारबाही गर, सुशासन कायम गर भन्दै नारावाजी गरेका थिए। त्यसपछि सभामुख घिमिरेले साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए। मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको जवाफबाट एमाले झन् आशंकित भएको जनाएको छ।  

बुधबारको बैठक स्थगित भएपछि ६ पटक प्रतिनिधिसभा अवरुद्ध भएको छ। अर्को बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ। प्रत्येक पटक एमाले सांसदहरूले निरन्तर सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरिरहेका छन्। सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न मानेको छैन। एमालेले उच्चस्तरीय छानिबिन समिति बनाउनु पर्ने माग गरिरहेका बेला सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) लाई अनुसन्धान गर्न अनुमति दिएको छ।  

यता, बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरूले समसामियक विषयमा भने बोले पछि कार्यसुचीम प्रवेश गर्ने बेलामा संसद् अवरुद्ध भएको थियो। समसामयिक विषयमा सासदहरूले बोल्ने क्रममा राष्ट्रियसभाका सदस्य वामदेव गौतमले सुन तस्करीमा उच्चस्तरीय समिति गठन गरेमा सुन तस्करीको छानबिन ओझेलमा पर्ने बताए। उनले उच्चस्तरीय समिति गठन गरिएपछि प्रधानमन्त्रीलाई समेत छानबिनमा तान्नुपर्ने माग उठ्ने बताए। उनले छानबिन गर्दागर्दै नयाँ सरकार गठनतर्फ ध्यान केन्द्रित हुनेर छानबिन नै ओझेलमा पर्ने बताए।  

उनले अनुसन्धान गर्ने समयसम्म निलम्बनको व्यवस्था नभएकाले प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्रीले केही समयका लागि राजीनामा गर्नुपर्ने अवस्था आउने उनको भनाइको आशय थियो। जसले यो छानबिनलाई ओझेलमा पारिदिन्छ। त्यसले कामै गर्नसक्ने स्थिति उत्पन्न हुन्न उनले भने।  

समसामयिक विषयमा सांसदले धारणा राखेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेका थिए। तर एमाले सांसदहरू उठेर विरोध गरेपछि शुक्रबारसम्मका लागि बैठक स्थगित भएको थियो। धारणा राख्ने क्रममा एमाले सांसद विमलाकुमारी घिमिरेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन गर्न सरकार तयार नभएसम्म संसद् चल्न नदिने बताइन्। एमालेले साउन १० गते संसद् अवरुद्ध गर्दै आएको छ।  

संसद्मा नपाएपछि रास्वपा बाहिरै बोल्यो  

प्रतिनिधिसभा बैठक अवरोध हुँदा संसद् भवन भित्र जनताका कुरा राख्न नपाइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार संसद् भवन बाहिर मिडियालाई अघि राखेर धारणा राखेको छ।  

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको मुलगेटमा रास्वपाका २० जना सांसदहरूले समसामयिक विषयमा धारणा राखेका हुन्।  

रास्वपा सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सुन प्रकरणम दोषीलाई कारबाही गर्नुपर्ने बताए। सांसद स्वर्णिम वाग्लेले निर्माण व्यवसायीहरूले भुक्तानी नपाएर आन्दोलन गरेकाले यसबारे ध्यानाकर्षण गराएका थिए। सांसद तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रलाई सुधार गर्नुपर्ने धारणा राखिन्। सांसद शिशिर खनालले आफ्नो निर्वाचन क्षेत्र सामाखुसीको ढल व्यवस्थापन नभएकाले यसबारे ध्यानाकर्षण गराए। सांसद सुमना श्रेष्ठले तामाङ समुदायमाथिका अभिव्यक्तिलाई लिएर त्यसमा राजनीति गर्न खोजिएको बताइन् । 

प्रकाशित: २५ श्रावण २०८० ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App