२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चितवन प्रशासनले भन्योः नारायणगढ–मुग्लिन सडक खाेल्न रास्वपाबाट सहयोग लिइएको छैन

वाकीटकी राखेको विषयमा अनुसन्धान गर्न प्रहरीलाइ निर्देशन

मुग्लिङ-नारायणगढ सडक खण्डमा जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टिका कालीखोला लगायतका ठाउँहरुमा खटिएका लगाएका कार्यकर्ता र दाया चितवन प्रशासनकाे पत्र। तस्बीर स्राेतः मुग्लिन बजार फेसबुक पेज।

नारायणगढ–मुग्लिन सडक खण्डमा यात्रुहरूलाइ सहयोग गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीेले परिचालन गरेको तत्काल प्रतिकार्य समूह (आरएटी) को बारेमा जिल्ला प्रशासन कार्यालय चितवनले चासो देखाएको छ।  

जिप्रका चितवनले आज एक विज्ञप्ति जारी गर्दै राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको बताएको छ। मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो। सोक्रममा जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खटाएको आर.ए.टी. नाम दिइएको एउटा समूह परिचालन भएको थियो। समूहका प्रदेश संयोजक विजय गुप्ताको नेतृत्वमा ५० स्वयंसेवक परिचालन गरिएको थियो।

तर प्रजिकाले भने उक्त कार्यमा अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको बताएको छ। साथै जाम खुलाउन सुन्तला रंगको ज्याकेटमा आर.ए.टी. लेखेर वाकीटकी संचारसहितका युवाहरू देखिएको भन्दै प्रजिकाले उक्त  वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन पनि दिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'जाम खुलाउन सुन्तला रंगको ज्याकेटमा आर।ए।टी लेखेर वाकीटकी संचारसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटो सहितका पोष्ट आएको भन्दै प्रशासन कार्यालयले ध्यानाकर्षण भएको छ।'

उक्त पहिरो सुरक्षा निकाय, सडक डिभिजन कार्यालयसहितका राज्यका अंगबाट भएका स्रोत, साधन र जनशक्ति प्रयोग गरी पन्छाएको र ट्राफिक व्यवस्थापन गरिएको प्रशासन कार्यालयले स्पष्ट पारेको छ।

‘कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्योहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं,’ प्रशासन कार्यालयले भनेको छ, ‘विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम छन्।’

प्रशासन कार्यालयले रास्वपाका कार्यकर्ताले प्रयोग गरेको संचारको साधन वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन पनि दिएको छ।

रास्वपाका सभापति लामिछाने निर्वाचित भएको सय दिनअन्तर्गत घोषणा गरिएको कार्यक्रमअन्तर्गत यो समूह परिचालन भएको थियो। सो समूहले नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत कालीखोलामा पहिरोमा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापनमा पनि सहजीकरण गरेको थियो ।

प्रकाशित: २४ श्रावण २०८० ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App