७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

नेता खनालको टिप्पणी, ‘पार्टी यति बेला रावणको टाउको जस्तो...’

फाइल।

नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले नेकपा एमालेबाट विद्रोह गर्दा बेलाको उत्साह र उमङ्ग पार्टी पङ्क्तिमा नरहेको टिप्पणी गरेका छन्।

पार्टीको स्थायी कमिटीमा लिखित प्रतिवेदन पेस गर्दै उनले उक्त टिप्पणी गरेका हुन। ‘जति बेला विद्रोह भएको थियो, त्यस वेला पार्टी पङ्क्तिमा निकै ठुलो उत्साह र उमङ्ग थियो, तर आज त्यो छैन’, उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

नेता खनालले विद्रोह बेलाको शक्ति पनि पार्टीले गुमाइसकेको बताए। ‘विद्रोह गरेको बेला युवा र विद्यार्थीहरूमा जुन उत्साह, जाँगर र अठोट थियो, आज यी क्षेत्रमा त्यो देखिँदैन। उनीहरू दिशाहीन जस्तो महसुस गरिरहेका छन्’, उनले भनेका छन्।

नेता खनालले पार्टीले सही नीति ल्याउने विश्वासमा युवा र विद्यार्थीहरू रहेको उल्लेख समेत गरे।

‘विद्रोह गर्दा हामीसँग जस्तो संसदीय दल र शक्ति थियो, सङ्घ र प्रदेश दुवैमा आज त्यस्तो छैन’, उनले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘विद्रोह गर्दा हामी राष्ट्रिय पार्टी मानिएका थियौ, आज यो पनि छैन।’

नेता खनालले आफ्नो पार्टीको जनमत पनि खुम्चिएको विश्लेषण गरेका छन्। ‘विद्रोह गर्दा पार्टी वरिपरि जुन जनमत थियो त्यो पनि खुम्चिँदै गएको छ’, उनले भनेका छन्, ‘स्थानीय चुनावमा मात्र पनि हाम्रो पार्टीले ६ लाख मत पाएको थियो, तर राष्ट्रिय चुनावमा आउँदा ३ लाख मात्र पनि नघाउन सकेन। केही महिना भित्र मै ५० प्रतिशत जनमत खुम्चिनु दुखद कुरा हैन ?’

नेता खनालले तीन वटा क्षेत्रमा संसद्का तीन वटा सिटमा उपचुनाव हुँदा पार्टीले आफ्ना उम्मेदवार सम्म उठाउन नसकेको उल्लेख गरे। ‘यति वेला पार्टी सङ्गठनात्मक ढाँचा कमसेकम जिल्ला तह सम्म देखिन्छ, कतिपय ठाउँमा तल सम्म पनि छ। जन वर्गीय सङ्गठनको ढाँचा विकास गरेको छ युवा विद्यार्थी सङ्गठन पनि छन् तर निष्क्रिय र दिशाहीन छन्’, उनले भनेका छन्, ‘आम कार्यकर्ताहरूमा निराशा, हतासा, पदलोलुपता र पलायनका प्रवृत्तिहरू विकास भइरहेका छन्।’

नेता खनालले ‘पार्टी यति वेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनो भएर उभिन पनि गार्हाे पर्ने अवस्थामा भएको महसुस हुन्छ’ भन्दै टिप्पणी गरे।

‘त्रिपाई जस्तो माथि फुकेको तल सुकेको पार्टी सङ्गठन छ। हुनुपर्ने ठिक उल्टो हो।’, उनी भन्छन्, ‘संसद्मा पनि हाम्रो प्रभावकारी र क्रान्तिकारी ढङ्गले संसदीय सङ्घर्ष भएको महसुस हुँदैन। अधिकांश सांसदले त बोलेकै सुनिँदैन।’

नेता खनालले पार्टीको स्थायी कमिटीमा पेस गरेको लिखित प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित: २१ श्रावण २०८० १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App