१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय तह प्रमुखमा १६ महिला

काठमाडौं – स्थानीय तह दोस्रो चरणको चुनावबाट प्रमुख पदमा चार महिला निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिका प्रमुखमा पहिलो चरणमा विजयी १२ सँगै १६ महिला प्रमुखमा विजयी भएका हुन् । 

चुनावी परिणाम आएका ६१२ स्थानीय तहमा १६ जना महिला प्रमुखमा विजयी हुनु २.६१ प्रतिशत हो । 
पहिलो चरणम ३, ४ र ६ नम्बर प्रदेशमा भएको चुनावबाट गाउँपालिका र नगरपालिकामा गरी १२  महिला प्रमुखमा विजयी भएका थिए । प्रमुखमा महिलाको संख्या कम भए पनि उपप्रमुखमा भने अधिकांश तहमा महिला विजयी भएका छन् । 

दोस्रो चरणको चुनावमा एमालेबाट दुई, कांग्रेस र माओवादी केन्द्रबाट एकएक गरी प्रमुख पदमा ४ महिला निर्वाचित  

दोस्रो चरणमा एमालेबाट एक नगरपालिका र एक गाउँपालिका गरी दुई महिला प्रमुखमा विजयी भए । कांग्रेस र माओवादी केन्द्रबाट एक–एक महिला  गाउँपालिका प्रमुखमा विजयी भए । 

दोस्रो चरणमा एमालेबाट दिपायल सिलगढी नगरपालिकामा मन्जु मलासी विजयी भइन् । माओवादी केन्द्रबाट रुकुमको सिस्ने गाउँपालिका प्रमुखमा कुमारी बराल गौतम विजयी भइन् । यस्त कांग्रेसबाट डडेल्धुराको भागेश्वर गाउँपालिका प्रमुखमा कौशिल्याकुमारी भट्ट विजयी भइन् । झापाको कमल गाउँपालिका प्रमुखमा एमालेकी मेनुका काफ्ले विजयी भइन् । 

पहिलो चरणमा तीन गाउँपालिकासहित पाँच तह प्रमुख एमाले, एक नगरपालिकासहित चार गाउँपालिका प्रमुखमा कांग्रेसका महिला उम्मेदवार विजयी भएका थिए । त्यसैगरी माओवादी केन्द्रबाट दुइटा गाउँपालिका प्रमुखमा महिला विजयी भएका थिए ।  

वैशाख ३१ मा भएको पहिलो चरणको चुनावबाट नवलपरासीको कावासोती नगरपालिकामा चन्द्र गुरुङ, चितवनको राप्ती नगरपालिकामा प्रभा बराल, स्याङजाको पुतलीबजार नगरपालिकामा सीमा क्षेत्री, जुम्लाको चन्दननाथ नगरपालिकामा कान्तिका सेजुवालले मेयरको नेतृत्व लिएका छन् । त्यस्तै पहिलो चरयामै रसुवाको कालिकास्थानमा सीताकुमारी पौडेल, म्याग्दीको धवलागिरीमा थमसरा पुन, तनहुँको म्याग्देमा माया राना, नवलपरासीको हुप्सेकोटमा लक्ष्मी पाण्डे, लमजुङको दूधपोखरीमा छुपीमाया गुरुङ, चितवनको इच्छाकामनामा गीता गुरुङ, सिन्धुलीको सुनकोसीमा दीपा बोहोरा, सल्यानको कुमाखमालिमा दिलमाया बिएम गाउँपालिका प्रमुखमा विजयी भएका थिए । 

३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा भएको दोस्रो चरणको चुनावबाट प्रमुखमा निर्वाचित महिलाको संख्या कम छ । तर, उपप्रमुखमा अधिकांश स्थानमा महिला विजयी भएका छन् ।

संविधानले स्थानीय तहमा ४० प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने व्यवस्था गरेको छ । राजनीतिक दलले भने  अधिकांश स्थानमा महिलालाई उपप्रमुखमा सीमित बनाएका छन् ।
 
झापाको कमल गाउँपालिका अध्यक्षम एमालेकी काफ्ले गोलाप्रथाबाट विजयी भएकी हुन् । काफ्ले र उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हुकुमसिंह राईले बराबर मत पाएका थिए । दुवैजनाले आठ हजार दुई सय ७५ मत पाएका थिए । 

दोस्रो चरणको चुनावमा गाउँ÷नगरपालिका प्रमुख पदमा निकै कम महिलाको उम्मेदवारी परेको थियो । यसपटक नगरपालिका र गाउँपालिका प्रमुखमा २३ महिला उम्मेदवार बनेका थिए । यसले दोस्रो चरणमा महिलाको प्रमुख पदमा उम्मेदवारीको संख्या कम देखिएको हो । 

कांग्रेसबाट सात जना र माओवादी केन्द्रले ८ जना महिलालाई प्रमुखमा उम्मेदवार बनाएका थिए ।  महिलालाई उपप्रमुख पदमा उम्मेदवार बनाएका कारण प्रमुख पदमा उम्मेदवारी कम परेको हो ।

पहिलो चरणमा दुई सय ८३ स्थानीय तहमा एक सय ५३ महिला प्रमुख पदमा उम्मेदवार बनेका थिए । 
पहिलो चरणको चुनावबाट प्रमुख, उपप्रमुख, वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य, दलित महिला सदस्य गरी पाँच हजार चार सय ४५ जना महिला विजयी भएका छन् । दोस्रो चरणमा निर्वाचित हुने कुल महिलाको संख्या भने आउन बाँकी छ ।

प्रकाशित: २५ असार २०७४ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App