२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गाउँ पस्यो कांग्रेस

सत्तारूढ नेपाली कांग्रेस पार्टी संगठन सुदृढीकरण गर्न शनिबारदेखि गाउँ पसेको छ। महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने कांग्रेसले डेढ वर्ष बित्दा पनि त्यो काम गर्न सकेको छैन। सांगठनिक अवस्था लथालिंग रहेको अवस्थामा उसले गाउँगाउँमा कांग्रेस भन्ने १० दिने अभियान सुरु गरेको हो।

पार्टी सभापति शेरबहादुर देउवाको १८ बुँदे निर्देशन बोकेर जिल्लाजिल्ला पुगेका केन्द्रीय प्रतिनिधिहरूले शनिबार १० दिने अभियान सुरु गरेका छन्। आन्तरिक विशेष अभियान नाम दिएर संगठन सुधारका लागि कांग्रेसले प्रतिनिधिसभा प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने भएको हो।

जिल्लामा खटिएका नेताहरूले पार्टी संगठनको अवस्था, विधानअनुसार गठन हुनुपर्ने संरचना गठन भएनभएको, स्थानीय सरकार र पार्टीबीचको सम्बन्धजस्ता विषयमा छलफल गरी संरचना निर्माणसहितका विषयमा सहजीकरण गर्ने जनाइएको छ।

भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूको अवस्थाबारे जानकारी लिने र छलफल गर्ने काम पनि केन्द्रीय प्रतिनिधिहरूले गर्नेछन्। उनीहरूलाई जिल्लाको अवस्थाबारे केन्द्रमा प्रतिवेदन केन्द्रमा बुझाउन भनिएको छ।

कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ गतेसम्म दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। बैठकले संगठन सञ्चालनका लागि एक वर्षे कार्यक्रम पनि तयार पारेको छ।

१० दिने अभियानको शनिबार काठमाडौंमा प्रारम्भ गर्दै सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीमा पुस्तान्तरण र रूपान्तरणका अजेन्डामा तन्नेरी र बाबु पुस्ताबीच लडाइँ चलिरहेको बताए। पार्टीमा एउटा पुस्ता गुमनाम रहेको र आफू त्यही पुस्ताको नेता भएको धारणा राख्दै सहमहामन्त्री आङ्देम्बेले भने, ‘अहिले बाबु पुस्ताले नेतृत्व गरिरहेको छ। अर्को पुस्ता ५५ वर्ष उमेरभन्दा मुनिको छ, जसले आफूलाई युवा भन्छ, ले हस्तक्षेपकारी भूमिका देखाउन खोजिरहेको छ।’

तन्नेरी र बाबु पुस्ताबीच घरीघरी भइरहने लडाइँमा फ्युजन गरेर कांग्रेसमा नयाँ रक्तसञ्चार बीचको पुस्ताले मात्र गर्नसक्ने दाबी उनले गरे। ‘हतारिएर केही पनि प्राप्त हुन सक्दैन,’ उनले भने, ‘हामी सकारात्मक हस्तक्षेपको वातावरण बनाएर क्रमशः अगाडि जानुपर्ने हुन्छ।’

१० दिने अभियान साउन ३० गतेसम्म चल्नेछ।

प्रकाशित: २१ श्रावण २०८० ०१:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App