८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस नेतृत्वमा पुग्न प्रतिस्पर्धा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय समितिको जारी बैठकमा १५औं महाधिवेशन २०८२ सालमा गर्न प्रस्ताव राखेका छन्। पार्टी विधानको व्यवस्थाअनुसार हुने हो भने थापाले भनेअनुसार २०८२ भित्रै कांग्रेसको १५औं महाधिवेशन हुनुपर्छ। तर २०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसका कुनै पनि महाधिवेशन विधानले व्यवस्था गरेको चार वर्षमा भएका छैनन्। पार्टी विधानले एक वर्ष कार्य समितिको म्याद थप गर्न दिएको अतिरिक्त सुविधाको दुरूपयोग गर्दै कांग्रेसले पाँच–पाँच वर्षमा महाधिवेशन गर्दै आएको छ।

२०६२÷६३ को आन्दोलनपछि राजनीतिक दलहरूले बढीमा साढे पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थामा टेक्दै कांग्रेसले पछिल्ला दुई महाधिवेशन गरेको छ। संवैधानिक सीमाभित्र पनि महाधिवेशन सम्पन्न गर्न नसक्ने अवस्थामा पुगेको कांग्रेसको १४औं महाधिवेशन केबल नयाँ नेतृत्व चयनमा सीमित भयो। पार्टी विधानमा व्यवस्था नै नभएको नीति महाधिवेशनलाई अघि देखाएर नेतृत्व चयन गर्दै १४औं महाधिवेशन सकिएको पनि डेढ वर्ष बितेको छ।

विधानले वर्तमान सभापति शेरबहादुर देउवालाई फेरि नेतृत्व प्रतिस्पर्धामा उत्रिने अधिकार दिँदैन। त्यसैले १५औं महाधिवेशबाट मूल नेतृत्वमा पुग्ने रणनीतिमा नेताहरू छन्।  

महाधिवेशन भएको डेढ वर्षमा कांग्रेसले विधानअनुसार गर्नुपर्ने कुनै पनि काम गरेको छैन। पार्टी केन्द्रीय समितिले पनि पूर्णता पाउन सकेको छैन। केन्द्रीय कोषाध्यक्ष मनोनयन प्रक्रिया सुरु भएको छैन भने नौ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ। विभाग र समितिहरू गठन तथा पूर्णताको विषय अझ टाढाको कुरा भएको छ। प्रचारबाहेक अन्य कुनै विभाग गठन नगरेको कांग्रेसका सबै भ्रातृ संगठन लथालिंग छन् भने तल्लो तहसम्मका पार्टीका कार्यसमिति केन्द्रकै जस्तो अवस्थामा छन्।

गुटगत विवाद र विभाजनले कांग्रेसका कुनै पनि विभाग र समितिले पूर्णता पाउन नसकेको अवस्थामा महामन्त्री थापाले १५औं महाधिवेशन २०८२ भित्र गर्न प्रस्ताव राखेका हुन्। १५औं महाधिवेशनबाट कांग्रेस मूल नेतृत्व परिवर्तन हुनेछ।  

विधानले वर्तमान सभापति शेरबहादुर देउवालाई नेतृत्व प्रतिस्पर्धामा उत्रिने अधिकार दिँदैन। विधानले लगातार दुई पटकभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ। त्यसैले देउवापछिका नेताहरू अहिलेदेखि नै १५औं महाधिवेशनबाट नेतृत्वमा पुग्ने रणनीतिमा छन्। उनीहरूले सोहीअनुसार सक्रियता पनि बढाउन थालेका छन्।  

१४औं महाधिवेशनमा सभापति पदका लागि प्रत्यासी बनेका शेखर कोइराला सभापतिका आकांक्षी हुन्। सोहीअनुसार भेटघाट र कार्यक्रममा सहभागी हुँदै आएका कोइरालाले सभापति देउवासँग पनि निकटता बढाएका छन्। देउवा पनि कोइरालालाई विश्वासमा लिएर अघि बढ्ने प्रयासमा रहेको निकटहरूको दाबी छ। कोइरालाले १५औं महाधिवेशनमा मूल नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिने निकटहरूसँग बताउँदै आएका पनि छन्। 

उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले पनि आगामी महाधिवेशनबाट कोइराला सभापति हुने दाबी गरेका छन्। राजधानीमा मंगलबार आयोजित कार्यक्रममा गुरुङले तत्काल देउवालाई सभापतिबाट हटाउन नसकिने बताए। उनले भने, ‘म अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्न चाहन्नँ। तर १५औं महाधिवेशनबाट पार्टी सभापति बदल्ने हो। त्यो बेला शेखर कोइरालालाई उम्मेदवार बनाउने मात्र होइन, सभापतिमा स्थापित गर्ने पनि हो।’

तर कोइराला समूहबाट १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पनि १५औं महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्। कोइरालाले १४औं महाधिवेशनमा ‘एकपटक र यसैपटक’ नारा दिएका थिए। आवश्यकता र समयको मागअनुसार पार्टीलाई अघि बढाउन सक्ने व्यक्ति थापा नै भएको उनी निकट नेताहरूको दाबी छ। महाधिवेशनमा सभापतिका लागि उम्मेदवार बन्ने आशयसहित महामन्त्री थापाले केन्द्रीय समितिको जारी बैठकमा सोमबार पार्टीको नेतृत्व बदल्न आफू लागिरहने बताएका छन्। ‘म नेतृत्व बदल्न लागिरहेको छु, सके बदल्छु, नसके चुप लागेर स्विकार्छु,’ उनले भनेका थिए।

उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले पनि आगामी महाधिवेशनबाट कोइराला सभापति हुने दाबी गरेका छन्। राजधानीमा मंगलबार आयोजित कार्यक्रममा गुरुङले तत्काल देउवालाई सभापतिबाट हटाउन नसकिने बताए। 

संसदीय दलको नेता चयनका लागि गत पुसमा भएको निर्वाचनमा थापाले देउवासँग प्रतिस्पर्धा गरेका थिए। छिटोमा अबको साढे दुई वर्षमा हुने पार्टी महाधिवेशनमा कोइरालालाई संसदीय दलको निर्वाचनमा जस्तै मनाएर आफू सभापतिको उम्मेदवार बन्ने रणनीतिमा थापा रहेको निकटहरूको दाबी छ। तर कोइरालानिकट नेताहरू भने संसदीय दलको निर्वाचनमा आगामी महाधिवेशनमा सभापतिका लागि थापाले कोइराललाई सहयोग गर्ने समझदारी बनेको दाबी गर्छन्।  

संसदीय दलको निर्वाचनमा थापाको पक्षमा उभिएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि आगामी महाधिवेशनमा युवा पुस्तालाई आफ्नो पक्षमा पार्ने रणनीतिमा छन्। महामन्त्री थापाभन्दा शर्मा कम आक्रामक र सन्तुलित सुनिने गरेका छन्। उपसभापति पूर्णबहादुर खड्का देउवापछि संस्थापन पक्षको नेतृत्व गर्ने तयारीमा छन्। उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीमा रहेका खड्काले आफूलाई सभापति देउवापछिको नेताका रूपमा गुटगत बैठकमा मात्र होइन, पार्टी बैठकहरूमा पनि प्रस्तुत गर्दै आएका छन्।

पूर्वमहामन्त्री शशांक कोइराला पनि नेतृत्वका लागि आकांक्षी छन्। सभापति देउवालाईसमेत विश्वासमा लिएर १५औं महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्न सकिने बुझाइमा रहेका शशांकले सोहीअनुसार आफ्ना गतिविधि गर्न थालेका छन्। दसैं र तिहारपछि जिल्ला भ्रमणमा निस्कने तयारी गरेका शशांकले केन्द्रीय सदस्य तथा नेताहरूसँग नजिकिने उद्देश्यले केन्द्रीय सदस्यहरूको सम्मानमा मंगलबार काठमाडौंमा चियापान आयोजना गरेका छन्। १४औं महाधिवेशनमा शेखरको पक्षमा नखुलेका शशांकले केही दिनअघि आमा शुशीलाको स्मृति दिवसमा निकटहरूसँग पारिवारिक एकता आवश्यक रहेको बताएका थिए। शेखर र आफू मिलेर अघि बढ्ने बताएका शंशाकलाई उद्धृत गर्दै एक नेताले भने, ‘अब मिल्नुको विकल्पै छैन, हामी मिलेर अघि बढ्छौं।’

दसैं र तिहारपछि जिल्ला भ्रमणमा निस्कने तयारी गरेका शशांकले केन्द्रीय सदस्य तथा नेताहरूसँग नजिकिने उद्देश्यले केन्द्रीय सदस्यहरूको सम्मानमा मंगलबार काठमाडौंमा चियापान आयोजना गरेका छन्।

पूर्वउपसभापति विमलेन्द्र निधि पनि सभापति देउवासँग चिसिएको सम्बन्धन सुमधुर बनाएर उनको उत्तराधिकारी बन्ने कोशिसमा छन्। तर देउवा–निधि सम्बन्ध पुरानो अवस्थामा फर्कनेमा निकटहरूले आशंका व्यक्त गर्दै आएका छन्। १४औं महाधिवेशनमा देउवाको पक्षमा पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह खुलेका थिए। आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्न देउवाको साथ र समर्थन पाउने आशमा उनीहरू पनि छन्। तर सभापति देउवा पार्टीको आगामी नेतृत्वका विषयमा मौन छन्।

प्रकाशित: १० श्रावण २०८० ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App