२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस भित्र यस्ता छन् गुट र उपगुटहरू

अधिकांश नेताहरूको नेतृत्वमा गुट र उपगुट

गत मङ्गलवार देखी कांग्रेस केन्द्रीय समिति बैठक चलिरहेको छ। यसबिचका छलफलमा कांग्रेसमा मौलाएका विभिन्न पक्षका गुट–उपगुटहरूको आरोप प्रत्यारोप चलिरहेको छ। 

एउटा गुटको नेताले अर्को गुटको नेतालाई के भनेर खुइल्याउने ? अर्को गुटको नेताले लगाएको आरोपको कसरी प्रतिवाद गर्ने ? सबै तयारी गुट–उपगुटहरूमा भएको स्पष्ट बुझ्न सकिन्छ। प्रत्यक्ष प्रसारणमा रहेको केन्द्रीय समिति बैठक नियमित हेर्ने र नेताहरूको तर्क सुन्ने हो भने कांग्रेस भित्र गुट र उप गुट प्रवृत्ति मौलाएका प्रस्ट हुन्छ।  

कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टी सङ्गठनलाई होइन, गुटलाई महत्त्व दिँदै आएको देखिन्छ। त्यसले कांग्रेसमा गुट तथा उपगुटको सङ्ख्या थप मौलाउँदै गएको हो।

कांग्रेसमा मुख्यतया सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला नेतृत्वका आआफ्नै गुट देखिन्छन्। तर देउवा र कोइराला नेतृत्वमा रहेको गुटभित्र पनि उपगुटहरूको संख्या मनग्य छ।

सभापति देउवा नेतृत्वमा रहेको मूल गुटभित्र उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरूको एउटा समूह सक्रिय छ। साथै सभापति देउवा पत्नी समेत रहेकी केन्द्रीय सदस्य आरजु राणा, पार्टी प्रवक्ता प्रकाशरण महतसहित नेताहरू रहेको अर्को समूह त्यहाँ सक्रिय छ। गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता बालकृष्ण खाण पार्टीमा आफ्नो छुट्टै पहिचान र समूह बनाउन सक्रिय थिए। तर उनी अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा छन्।

त्यस्तै नेता शेखर कोइरालाको नेतृत्वमा संस्थापन इतरका नेताहरू पार्टीको १४ औं महाधिवेशनमा गोलबद्ध भएका थिए। शेखर सभापतिमा पराजित भए पनि उनको समूहबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा तथा सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार निर्वाचित भएका छन्। महाधिवेशन र त्यसयता नै महामन्त्री थापा आफ्नो छुट्टै समूह बनाउन सक्रिय छन्। बाहिरबाट हेर्दा संस्थापन इतर समूह शेखर नेतृत्वमा गोलबद्ध रहेजस्तो देखिए पनि थापाले अलग अभ्यास गर्दै आएका छन्।

पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका युवा नेतालाई गोलबद्ध गरेर थापा अघि बढ्ने प्रयासमा छन्। पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा शर्मा र प्रदीप पौडेललाई पनि साथ लिएर संसदीय दलको नेतामा थापाले उम्मेदवारी दिएका थिए। तर शर्मा र पौडेल दुवै थापालाई नेता मान्न तयार नरहेको निकटहरूको दाबी छ।

पार्टीको १४ औं महाधिवेशनमा प्रकाशमान सिंहसँग जोडिएर शर्माले महामन्त्रीको उम्मेदवारी दिएका थिए। तर गुटगत रूपमा सिंहसँग शर्माको निकटता खासै नरहेको निकटहरू बताउँछन्। पार्टी उपसभापति पूर्णबहादुर खड्कासँग शर्माको निकटता बढिरहेको बताइन्छ। पार्टीभित्र शर्मा आफैं अलग समूह र पहिचान स्थापित गर्न सक्रिय छन्। पौडेलले पार्टीको १४औं महाधिवेशनमा थापा र शर्मासँगै महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए।

पार्टीको १३औं महाधिवेशनबाट तेस्रो धारका रूपमा उदाएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट पौडेल महामन्त्रीको उम्मेदवार बनेका थिए। १३औं महाधिवेशनपछि सभापति देउवा नेतृत्वको समूहको उपसमूह जस्तो रहेको सिटौला पक्षलाई १४ औं महाधिवेशनमा महामन्त्रीको भाग परेको थियो। सिटौला समूहबाट स्वास्थ्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थापा सो समूह छाडेर शेखरतिर लागेका थिए। त्यसपछि सिटौलाले पौडेललाई महामन्त्रीका रूपमा अघि सारेका थिए। तर पौडेल महामन्त्रीमा पराजित भए।

पुसमा भएको संसदीय दलको निर्वाचनमा सिटौलाको चाहनाविपरित थापाको पक्षमा पौडेल उभिएसँगै उनको सिटौलासँगको सम्बन्ध चिसिन पुगेको छ। पार्टीको महाधिवेशनमा जस्तै सिटौला संसदी दलको निर्वाचनमा पनि देउवालाई सहयोग गर्न चाहन्थे।

पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका युवा नेतालाई गोलबद्ध गरेर थापा अघि बढ्ने प्रयासमा छन्। पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा शर्मा र प्रदीप पौडेललाई पनि साथ लिएर संसदीय दलको नेतामा थापाले उम्मेदवारी दिएका थिए। तर शर्मा र पौडेल दुवै थापालाई नेता मान्न तयार नरहेको निकटहरूको दाबी छ।

सहमहामन्त्री फरमुल्लाह मन्सुरले भनेजस्तै पार्टीभित्र होस् वा सत्ता र शक्तिमा सिटौला पनि एउटा सेयर होल्डर छन्। उनी मात्र होइन, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह तथा विजयकुमार गच्छदार, पूर्वमहामन्त्री शशांक कोइराला नेतृत्वमा उपसमुहरू सक्रिय छन्। पार्टीको १४औं महाधिवेशनमा निधि र सिंह दुवै सभापतिको प्रतिस्पर्धामा उत्रिएका थिए।

देउवासँगको सम्बन्धन चिसिँदै गएपछि निधि उनको विकल्प खोज्नुपर्ने जनाउँदै नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका थिए। नेता रामचन्द्र पौडेललाई १३औं महाधिवेशनमा सहयोग गरेका सिंह शेखर कोइराला आफूभन्दा कनिष्ठ रहेको भन्दै नेतृत्वको प्रतिस्पर्धामा उत्रिएका थिए। सिंह निर्वाचन प्रतिस्पर्धामा उत्रिछाड्ने अडानपछि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्व प्रतिस्पर्धाबाट अलग भएका थिए।

पार्टी नेतृत्वको प्रतिस्पर्धामा पौडेल मौन बसेका थिए। देउवाकै साथ र सहयोगबाट राष्ट्रपतिको जिम्मेवारीमा पौडेल पुगे पनि कांग्रेसमा उनले अहिले पनि केही हिस्सेदारी लिने र पाउने गरेको नेताहरूको दाबी छ। दोस्रो चरणमा गएको नेतृत्व प्रतिस्पर्धामा निधि र सिंह देउवाकै पक्षमा उभिएका थिए। सभापति देउवासँगको सम्बन्ध निधिको केही सुधार भएको जनाइएको छ।

सिंह र निधि दुवैले आआफ्नो समूह सञ्चालन गर्दै आएका छन्। पूर्वउपसभापति गच्छदार मात्र होइन, पूर्वमहामन्त्री शशांक कोइरालाको पनि समूह सक्रिय छ। दाजु शेखर कोइराला सभापतिको प्रतिस्पर्धामा उत्रिए पनि उनको पक्षमा नखुलेका शशांक १५औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा उत्रिने बताउँदै आएका छन्। सत्ता राजनीतिमा उनको उपस्थिति प्रभावकारी नदेखिए पनि पार्टीभित्रको भागबन्डा भने शशांक अहिले पनि हिस्सेदार छन्।

प्रकाशित: ८ श्रावण २०८० ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App