१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पसल थापेर बसेका कम्युनिष्टहरुलाई एकतावद्ध गर्नुपर्छः माधव नेपाल

फाइल।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन्।

आईतवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले यस्तो बताएका हुन्। उनले कम्यनिष्ट पार्टीहरु आफ्ना आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताए। 

उनले मिल्नसक्ने, सहकार्य गर्नसक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने जिकिर गरे। उनले कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने बताए। अध्यक्ष नेपालले कम्युनिष्टहरु जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्शान हुने बताए।

उनले भने, ‘कमरेड वामदेव गौतमले कम्युनिष्ट पार्टी शक्तिलाई मिलाउँ भनेर जोड दिनुभयो। सबै कम्यनिष्ट पार्टीहरु आफ्ना आफ्ना पसल थापेर बसेका छन्, आफ्ना आफ्नै पाराले चलिरहेका छन्। त्यसका बाबजुत पनि हामीले हरेक खानु हुँदैन। उहाँको संकल्प, उहाँको भावना अत्यन्त राम्रो छ। यस अर्थमा जो जो जति मिल्न सक्छन् मिल्दै जाने हो। सहकार्य गर्दै जान सक्छन्, सहकार्य गर्दै जाने हो, यस अर्थमा हामीले हरेस खान जरुरी छैन, मेहनत गरेर प्रयत्न गर्नुपर्छ। जति शक्तिलाई मिलाउन सकियो, त्यत्ति हामी बढी शक्ति आर्जन गर्नसक्छौँ। त्यत्ति धेरै उर्जा पैदा गर्नसक्छ। जति हामी विभाजित बन्छौँ त्यत्ति धरै नोक्शान हुन्छ, कम्युनिष्ट आन्दोलनको एकता, एकतावद्ध बनाउनको निम्ति हाम्रो तर्फबाट प्रयत्न हुनेछ।’

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउन आफू सकारात्मक रहेको उल्लेख गरे।

प्रकाशित: ७ श्रावण २०८० ०५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App