१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद्को नयाँ भवनको काम ४ वर्षमा ६२ प्रतिशत

क्याप्शन

सिंहदरबारको पुतली बगैचामा निर्माण भइरहेको संघीय संसद्को नयाँ भवनको भौतिक प्रगति ४ वर्षमा ६२ प्रतिशत मात्र पुगेको छ। पटकपटक म्याद थप हुँदै यसको निर्माण पूरा गर्ने अन्तिम मिति २०८० असोज १९ गते सारिएको छ। यो मितिमा भने जसरी भए पनि भवन निर्माणको काम सबै पूरा गर्ने सरकारले प्रतिबद्धता गरेको छ।  

संसद्को हिउँदे अधिवेशन सकेसम्म नयाँ भवनमै बसाउने गरी तयारी अघि बढेको सरकारको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र सहरी विकासमन्त्री सीता गुरुङले सोमबार निर्माण भइरहेको भवनको अवलोकन गरेका छन्। अवलोकनपछि बोल्दै प्रधानमन्त्री दाहालले सकेसम्म संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाट गर्न सकियोस् भन्ने सरकारको मिसन भएको बताए। यसका लागि काम युद्धस्तरमा भइरहेको उनको भनाइ थियो। यसैगरी तोकिएको मितिमा नयाँ भवन निर्माण सक्न सहरी विकासमन्त्री गुरुङले निर्देशन दिएकी छन्।  

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ५ अर्ब ३ करोड रूपैयाँमा २०७६ असोज १६ गते संघीय संसद्का नयाँ भवन निर्माण गर्न औपचारिक सम्झौता गरिएको थियो। त्यसअघि २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ असोज ३ गते नयाँ भवनको शिलान्यास गरेका थिए।  

सहरी विकास मन्त्रालयका अनुसार यस कामका लागि हालसम्म सरकारले ३ अर्ब २५ करोड रूपैयाँ भुक्तानी दिइसकेको छ। मन्त्रालयको अनुसार हालसम्म यसको भौतिक प्रगति ६२ दशमलव १० र वित्तीय प्रगति ६४ प्रतिशत पुगेको छ।  

मन्त्रालयका अनुसार नयाँ निर्माण भइरहेको संघीय भवनमा संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संघीय संसद्का समितिहरूका कार्यालय रहनेछन्। त्यस संरचनामा विभिन्न पार्टीका संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा भवन निर्माण भरहेका छन्। यसैगरी ४ वटा गेट र भवन वरिपरिको क्षेत्रलाई प्राकृतिक सौन्दर्य बनाउने गरी भव्य संरचना निर्माण भइरहेको मन्त्रालयले जनाएको छ।  

यस्तो बन्नेछ नयाँ भवन  

सहरी विकास तथा भवन निर्माण विभागका अनुसार नयाँ बन्ने प्रतिनिधि सभाको हलमा ४ सय व्यक्ति अट्न सक्नेछन्। यसैगरी ३ सय गरी कुल ७ सय व्यक्ति अट्ने गरी संरचना बनाइएको छ। राष्ट्रियसभाको हलमा ९०, बालकोनीमा २ सय गरी २ सय ९० व्यक्ति राष्ट्रियसभामा अट्नेछन्। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त लविमा ३ सय ५० जना व्यक्ति अट्नेछन्। यसैगरी त्यस क्षेत्रमा संसदीय समितिका १७ वटा हल हुनेछन्। प्रत्येक हलमा ६० जना व्यक्ति अट्नेछन्। 

एउटा हलमा १ सय जना व्यक्ति अट्नेछन्। यसैगरी प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष, प्रमुख सचेतकलगायत अति विशिष्ट व्यक्तिका लागि २५ जना व्यक्ति अट्ने क्षमताको ४ वटा छुट्टाछुट्टै कार्यकक्ष हुनेछन्। यसैगरी २ वटा संसद् सचिवालयका भवन निर्माण भइरहेका छन्। यसैगरी भुइँ तलामा २ सय र पहिलो तलामा ३ सय क्षमताको क्यान्टिन निर्माण हुने भएको छ। विभागका अनुसार पार्किङका लागि डबल बेसमेन्ट बनाइएको छ, जसअनुसार नयाँ भवनको इनडोरमा ३ सय गाडी तथा ५ सय मोटरसाइकल अट्नेछन्। यसैगरी आउटडोरमा ४ सय गाडी र ५ सय मोटरसाइकल अट्ने क्षमता हुने विभागले जनाएको छ। विभागका अनुसार नयाँ भवनमा ४ सय ४० जना सुरक्षाकर्मी अट्न सक्नेछन्। नयाँ भवनमा प्रिन्टिङ पे्रेसका लागि एउटा छुट्टै भवन निर्माण भइरहेको छ। विभागका अनुसार संघीय संसद्को नयाँ भवनले ओगट्ने कुल जग्गाको क्षेत्रफल १ सय ५१ रोपनी छ। जसमध्ये ४५ प्रतिशत भूभाग प्रतिनिधिसभा र राष्ट्रियसभाको भवनले ओगट्नेछ।  

संघीय संसद्को आफ्नो भवन नहुँदा २०६४ सालदेखि सरकारले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गर्दै आएको थियो। २०७९ को निर्वाचनपछि बनेको संघीय संसद्को नयाँ अधिवेशन नयाँ भवनमा बसाउने सरकारको तयारी थियो। तर भवन निर्माणको काम कछुवा गतिमा भइरहेकाले सरकारको लक्ष्य पूरा हुन सकेन। विभागका अनुसार अहिले नयाँ भवनको साजसजावटको काम भइरहेको छ। यही गतिले काम भए हिउँदे अविधेशनसम्म नयाँ भवनको निर्माणको सबै काम पूरा हुने निकै कठिन हुने विभागकै एक कर्मचारी बताउँछन्।

प्रकाशित: २६ असार २०८० ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App