४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘खोचे’ थाप्दै ओली

प्रमुख तीन राजनीतिक दल आइतबार बिहान केही दिनदेखि अवरुद्ध संसद् बैठक सञ्चालन गर्न सहमत भए। प्रधानमन्त्री कार्यालय सिंहदबारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद् बैठक सुचारु गर्ने समझदारी गरे। तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री दाहालले आफूले प्रितम सिंह र भारतका विषयमा व्यक्त गरेको अभिव्यक्ति नियतवस नभएको बताएका थिए।

प्रधानमन्त्री दाहालले आफूले व्यक्त गरेको उक्त धारणाप्रति आत्माआलोचना गरेका थिए। प्रतिपक्षी एमालेको मागसमेत सम्बोधन हुनेगरी प्रधानमन्त्री दाहालले प्रितम सिंहर भारतका विषयमा दिएको अभिव्यक्तिको घुमाउरो ढंगबाट आत्मालोचना गर्ने र संसद् बैठक सञ्चालन गर्ने समझदारी तीन दलका शीर्ष नेताहरूबीच भएको थियो।

प्रमुख तीन राजनीतिक दल आइतबार बिहान केही दिनदेखि अवरुद्ध संसद् बैठक सञ्चालन गर्न सहमत भए।

शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा बोल्ने र त्यसको खाका ओलीलाई देखाउने समझदारीसमेत बनेको स्रोतको दाबी छ। सोहीअनुसार संसद्को पूर्वर्निधारित बैठक केही समय सारियो। तर सत्ता राजनीतिमा कसरी पुग्ने भन्नेमा एक प्रकारको छटपटाहटमा रहेका एमाले अध्यक्ष ओली सिंहदबारमा भएको समझदारीबाट पछि हटे।

संसद् भवन नयाँबानेश्वर पुगेपछि ओलीले प्रधानमन्त्री दाहालका तर्फबाट प्रेस सल्लाहकार गोविन्द आचार्यले यही असरा २१ गते निकालेको विज्ञप्तिका विषयमा कुरा उठाए। ओली सो विज्ञप्तिका बारेमा पनि प्रधानमन्त्री दाहालको धारणा आउनुपर्ने अडान राखे। ओलीले प्रधानमन्त्री दाहाललाई फोन गरेर सो विज्ञप्तिका विषयमा धारणा आउनुपर्ने बताए।

संसद् भवनबाट बाहिरिने क्रममा ओलीले सञ्चारकर्मीसँग प्रधानमन्त्री दाहालले एमालेमाथि लगाएको आरोप फिर्ता लिनुपर्ने धारणा राखे। प्रधानमन्त्रीका सल्लाहकार अचार्यले जारी गरेको सो विज्ञप्तिमा मिटरब्याजसम्बन्धी विधेयक एमालेका कारण अगाडि बढ्न नसकेको, भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा सरकारले चालेका कदमको विरोधमा एमाले उभिएको भन्ने आरोप लगाइएको छ।

शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा बोल्ने र त्यसको खाका ओलीलाई देखाउने समझदारीसमेत बनेको स्रोतको दाबी छ।

ओली पूर्वसहमतिबाट पछि हटेपछि प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई टेलिफोन गरी सोमबार दिउँसोसम्मका लागि समय मागेको स्रोतको दाबी छ। प्रतिनिधिसभाको अर्को बैठक सोमबार ३ बजे बोलाइएको छ।

तीन दलबीच आइतबार भएको सहमतिअनुसार प्रधानमन्त्री दाहालले संसद्मा आफ्नो धारणाबारे स्पष्ट पार्ने तयारी थियो। त्यसपछि एमाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागबाट पछि हट्ने र संसद् बैठक सञ्चालन गर्ने समझदारी बनेको थियो। तर ओलीले संसद् भवन पुगेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारद्वारा जारी विज्ञप्तिलाई देखाएर खोचे थापेको सत्तारुढ राजनीतिक दलका नेताहरूको बुझाइ छ। ‘यसले एमाले र त्यसको नेतृत्व कुनै पनि बहानामा जनताको सर्वोच्च थलो संसद्को मानमर्दन गर्ने र त्यसलाई निकम्मा बनाउन उद्यत् भएजस्तो देखिन्छ,’ सत्ता गठबन्धन दलका एक नेताले भने।

यही असार १८ गते प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको छ। एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर सदन अवरुद्ध गरेको हो।  

एमालेले राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गरेको छ। आइतबार बिहान साढे ११ बजे बसेको राष्ट्रियसभा बैठकको सुरुमा एमाले सांसदले प्रधानमन्त्री दाहालका अभिव्यक्तिको विरोधमा उभिएपछि बैठक सञ्चालन हुन नसकेको हो।

तीन दलका शीर्ष नेताहरूको बैठक बस्नुअघि सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसेको थियो। उक्त बैठकले विपक्षी एमालेसँग संवाद गर्ने निर्णय गरेको थियो। त्यसअघि बालुवाटारमा बसेको बैठकले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दैमा दिन जरुरी नभएको निष्कर्ष निकालेको थियो।

तीन दलबीच आइतबार भएको सहमतिअनुसार प्रधानमन्त्री दाहालले संसद्मा आफ्नो धारणाबारे स्पष्ट पार्ने तयारी थियो। त्यसपछि एमाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागबाट पछि हट्ने र संसद् बैठक सञ्चालन गर्ने समझदारी बनेको थियो।

एमाले अहिले सत्ता गठबन्धन टुटाएर नयाँ गठबन्धन निर्माण गर्न सकिन्छ कि भन्ने प्रयासमा छ। उसले सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसका विभिन्न तहका नेताहरूसँग विभिन्न चरणमा छलफल गर्दै आएको छ। तर कांग्रेस सभापति देउवा अहिले एमालेसँग सत्ता गठबन्धनका लागि तयार भइनसकेको उसको निष्कर्ष छ।

माओवादीसहितको गठबन्धनबाट नै देउवा स्वाभाविकरूपमा सरकारको नेतृत्वमा पुग्ने अवस्था रहेकाले उनी एमालेसँग मिल्न इच्छुक छैनन्। यस्तो अवस्थामा एमाले विभिन्न बहानामा संसद् बैठक चल्न नदिने उपायको खोजीमा रहेको एक नेताले बताए।

प्रकाशित: २५ असार २०८० ०१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App