२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा एमाले कायमै छः पदम गिरी

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएको छ।

नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रमुख तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत रहेको प्रष्टयाएका हुन्।

आइतबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री दाहालले मुलुकको स्वाभिमान, स्वाधिनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य हुने पटकपटक दोहो¥याए।

प्रमुख सचेतक गिरीले प्रधानमन्त्री दाहालले आफूले दिएको अभिव्यक्तिप्रति संसदमा उभिएर माफी मागे संसद सुचारु गराउन भने सकिने धारणा राखे। नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुँरिने गरी गम्भिर प्रकृतिको गल्ती भएकाले प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने पार्टीको अडान रहेको उनको भनाइ थियो। प्रमुख सचेतक गिरीले विकसित देशहरुमा त्यहाँका कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएको भए तत्क्षणनै राजीनामा दिई सकेको हुने जिकीर समेत गरे।

उनले भने, ‘प्रधानमन्त्रीले जुन खालको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु भयो। त्यसले हाम्रो राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधिनतालाई उहाँले माटोमा मिलाउने काम गर्नु भएको छ। र, नेपाली जनतामा निहित सार्वभौमसत्तामाथि उहाँले प्रकारले चुनौति दिने काम पनि गर्नु भएको छ। देशका एउटा बहालवाला प्रधानमन्त्रीले यो तहको अभिव्यक्ति दिने कुरा आफैंमा गम्भिर र आपत्तिजनक कुरा हो। यो निन्दनीय छ। यो भत्सर्नायोग्य अभिव्यक्ति दिनु भएको छ। त्यसकारणले गर्दाखेरी यसलाई हामीले सामान्य रुपले लिन सक्दैनौं। हाम्रो राष्ट्रिय स्वाधिनताभन्दा माथि अर्को कुरा हुन सक्दैन। हाम्रो सार्वभौमिकताभन्दा माथि अर्को कुनै पनि चिज हुन सक्दैन। त्यसकारणले सार्वभौमसत्ता सम्पन्न जनप्रतिनिधिबाट निर्वाचित भएको प्रधानमन्त्रीले म संसदले होइन, दिल्लीबाट म प्रधानमन्त्री भएको हुँ भन्ने आशयको अभिव्यक्ति दिनु, दिल्लीको कुनै एउटा व्यापारीले मलाई प्रधानमन्त्री बनाउनका लागि दिल्लीमा लबिङ गर्नु भयो भन्ने जुन अभिव्यक्ति आयो। यो निश्चित रुपमा नेपालको राजनीतिक इतिहासमा साह्रै दुर्भाग्यपूर्ण घटना हो। र, यसले सिंगो ३ करोड नेपाली जनताको शीर निहुरिएको छ। लज्जाबोध भएको छ। र, यस्तो व्यक्ति देशको प्रधानमन्त्रीको रुपमा रहनु भनेको सिंगो राष्ट्रका लागि पनि दूर्भाग्य हो। त्यसकारणले उहाँले तत्काल राजीनामा दिनु पर्छ। र, राजनीतिक निकास दिनुपर्छ भन्ने पक्षमा हामी छौं। हाम्रो माग यथावत छ। हामी विल्कुल यथावत छौं। उहाँले कुनै अक्षम्य खालको एउटा गल्ती गर्नु भएको छ। त्यो खालको अभिव्यक्ति दिनु भएको छ  यसलाई हामीले सामान्य विषयको रुपमा लिएका छैनौं। आज संसारका लोकतान्त्रिक मुलुकहरु, विकसित मुलुकहरुको प्रमुखले कार्यकारी राष्ट्रपतिले वा कार्यकारी प्रधानमन्त्रीले यस्तो प्रकारको अभिव्यक्ति दिनु हुन्थ्यो भने तत्क्षण सत्ताबाट च्यूत हुन्थ्यो।’

प्रकाशित: २४ असार २०८० ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App