८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीद्वारा सदन अवरुद्ध

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै एमाले सांसद। तस्बिर: रासस

प्रधानमन्त्री पुष्पकमल दाहालको एक अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेसहितका दलले बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन्। प्रधानमन्त्री दाहालले एक पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह नयाँदिल्ली गएको र काठमाडौंमा पनि धेरै पार्टीका नेतासँग छलफल गरेको बताएका थिए। प्रधानमन्त्रीको यो अभिव्यक्ति देशको सार्वभौमिकताविरूद्ध भएको र यसले संसद्को मानमर्दनसमेत गरेको भन्दै प्रतिपक्षी दलले विरोधमा संसद् बैठक अवरुद्ध गरेका हुन्।

एमालेले प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ। एमालेले संसदीय दलको बुधबारको निर्णयबमोजिम प्रधानमन्त्रीको राजीनामा मागेको हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूलाई प्रधानमन्त्री दाहालसँग सदनमा जवाफ माग्ने होइन, उनको राजीनामा नआएसम्म सदन चल्न नदिन निर्देशन दिएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालको एक अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेसहितका दलले बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन्।

सोही अनुसार एमाले सांसद सदन प्रस्तुत भएका हुन्। प्रधानमन्त्री दाहालले सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली (द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल)’ को विमोचन गरेका थिए।

प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसदहरू रोस्ट्रम अगाडि उभिएर विरोध जनाउँदै। तस्बिर: रासस 

पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले सरदार सिंह यातायात, सामाजिक सेवा, शिक्षा क्षेत्रमा मात्र नभई राजनीतिमा पनि रुचि देखाउने व्यक्ति भएको बताएका थिए। यसै प्रसंगमा दाहालले भनेका थिए, ‘उहाँले (सरदार प्रितम सिंह) ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो, धेरैपटक दिल्ली जानुभयो, काठमाडौंमा पनि धेरै पार्टीका नेतासँग छलफल गर्नुभयो। राजनीति सफा भयो भने मात्रै देश विकास गर्न सजिलो हुन्छ भन्ने सोच राख्ने व्यक्ति उहाँ हुनुहुन्थ्यो।’ यही अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्री दाहालको राजीनामा माग्दै सदन अवरुद्ध गरेको हो।

संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का बैठक बुधबार बसेका थिए। पहिला बसेको राष्ट्रियसभा बैठक प्रधानमन्त्रीको राजीनामा माग गर्दै अवरुद्ध गरिएको थियो। बैठकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक देवेन्द्र दाहालले नेपालको प्रधानमन्त्री संसद्ले बनाउँछ कि भारतले भन्दै प्रधानमन्त्री दाहालको अभिव्यक्ति आपत्तिजनक भएको बताए। उनले प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म बैठक चल्न नदिने बताएपछि एमाले सांसदहरू आआफ्नो स्थानबाट उठेका थिए। त्यसपछि राष्ट्रियसभा बैठक स्थगित गरियो। राष्ट्रियसभाको अर्को बैठक बिहीबार १ बजे बोलाइएको छ।

संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का बैठक बुधबार बसेका थिए। पहिला बसेको राष्ट्रियसभा बैठक प्रधानमन्त्रीको राजीनामा माग गर्दै अवरुद्ध गरिएको थियो।

राष्ट्रियसभापछि प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिला बसेको थियो। अपराह्न ४ बजे बसेको प्रतिनिधिसभा बैठकको सुरुमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर उनको राजीनामा मागे।

‘प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको स्वाभिमानमाथि आघात पुगेको छ। नेपालको संसद् र नेपाली जनताले प्रधानमन्त्री बनाउने हो तर प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको संसद् र नेपाली जनताको मानमर्दन गरेको छ। यो नेपाली जनतालाई सह्य हुँदैन। त्यसकारण प्रधानमन्त्रीले राजीनमा दिनुपर्छ।’ पन्तको भनाइमा सहमति जनाउँदै एमाले सांसदहरूले आआफ्नो स्थानबाट उठेर विरोध प्रदर्शन गरे।

राष्ट्रियसभापछि प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिला बसेको थियो। अपराह्न ४ बजे बसेको प्रतिनिधिसभा बैठकको सुरुमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर उनको राजीनामा मागे।

सदनमा प्रमुख प्रतिपक्षी एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले पनि साथ दिए। त्यसपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद छिरिङ ल्हामु लामा (तामाङ) लाई बोल्न समय दिए। उनले बोल्दा पनि एमाले, रास्वपा र राप्रपाका सांसद आआफ्नो स्थानमा उठिरहेका थिए।

सभामुखले बस्न आग्रह गर्दा पनि राप्रपाका सांसदहरू नाराबाजी रोष्ट्रम घेर्न पुगे। त्यसपछि सभामुख घिमिरेले आधा घण्टाका लागि प्रतिनिधिसभा बैठक स्थगित गरे। ४ बजेर १५ मिनेटमा स्थगित बैठक पुनः बस्न सकेन। सभामुखले संसद् अवरुद्ध गर्ने दलसँग छलफल गरे पनि सहमति जुट्न सकेन। अर्को बैठक शुक्रबार दिउँसो ३ बजे बोलाइएको छ। राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको नेपाल विश्वविद्यालय विधयेक, २०८० बैठकमा टेबुल गर्ने र मिटर ब्याजसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची प्रतिनिधिसभाको थियो।

सदनमा प्रमुख प्रतिपक्षी एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले पनि साथ दिए। त्यसपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद छिरिङ ल्हामु लामा (तामाङ) लाई बोल्न समय दिए।

यसैबीच प्रधानमन्त्री दाहालले मिटर ब्याजीहरूलाई कारबाही गर्ने विधेयक पारित हुनबाट रोक्न प्रतिपक्षी दलले सदनमा अवरोध खडा गर्न खोजेको आरोप लगाएका छन्। माओवादी केन्द्र सम्बद्ध युवा-महिलाको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले दाहालले भने, ‘मैले एउटा पुस्तक विमोचनमा सन्दर्भवस भनेको कुरालाई बंग्याएर संसद् अवरुद्ध गर्ने कोसिस हुँदैछ। खासमा यसको अर्थ अर्कै छ। मिटर ब्याजीलाई कारबाही गर्ने विधेयक संसद्बाट पास गर्ने कार्यसूची थियो। कतिपय दललाई मिटर ब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छैन, भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा मन परेको छैन। यसलाई रोक्न संसद् अवरुद्ध गरिँदैछ।’

मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक असार २२ गतेभित्र प्रमाणीकरण हुनुपर्छ। नत्र यसम्बन्धी अध्यादेश निष्क्रिय हुन्छ। वैशाख २४ गते मिटर ब्याजसम्बन्धी अध्यादेश सदनमा पेस भएको थियो। अध्यादेश सदनमा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने संवैधानिक र कानुनी व्यवस्था छ।  

प्रकाशित: २१ असार २०८० ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App