बनेपा – काभ्रेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा सदस्यका उम्मेदवारको मृत्यु भएको छ । धुलिखेल नगरपालिका वडा नं १२ को वडा सदस्यका उम्मेदवार सुकुलाल तामाङको मृत्यु भएको हो । उनको मृत्यु पश्चात सो वडामा निर्वाचन नहुने भएको छ।
साविकको शंखुपाटीचौर गाविसमा राप्रपाबाट सदस्यमा उम्मेदवार बनेका ५७ वर्षीय तामाङको कालगतिले घरमै मृत्यु भएको राप्रपाका नेता टुल्कु लामाले जानकारी दिए ।
स्थानीयका अनुसार तामाङ सुगर र प्रेसरका बिरामी थिए । बिहीबार बिहान अबेरसम्म नउठेपछि परिवारले हेर्दा तामाङ मृत अवस्थामा फेला परेका थिए ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिमखडाले घटनाबारेमा निर्वाचना आयोगमा जानकारी गराइएको बताए, ‘राप्रपाबाट मृत्यु भएको आधिकारिक जानकारी आएलगत्तै सो वडामा निर्वाचनको पुनः कार्यक्रम सुरु हुनेछ । यसबाट धुलिखेल नगरपालिकाको नतिजा आउन केही समय ढिलाई हुन्छ’, उनले भने ।
प्रकाशित: २८ वैशाख २०७४ ०६:०६ बिहीबार